हरैया क्याम्पसमा अनेरास्ववियुद्धारा स्वागत कार्यक्रम सम्पन्न
रुद्रपुर, पौष १३ । रुपन्देहीको हरैया बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई अनेरास्ववियुले एक भब्य कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा सोही संगठनका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले नेपालको शिक्षा वेरोजगारी उत्पादन गर्ने शिक्षाको रुपमा रहेको र त्यसप्रकारको शिक्षाबाट समृद्ध राष्ट्र निर्माण गर्न नसकिने बताउनु भएको थियो । वहाँले नेपालका धेरै जसो शैक्षिक संस्थाहरुबाट उत्पादित जनशक्ति जोसुकैसँग पनि प्रतिस्पर्धा गर्न सक्ने खालको अब्बल हुनुपर्ने बताउनुभएको थियो ।
शिक्षालयहरुलाई सर्टिफिकेट बाँड्ने कारखाना मात्र होइन, हातमा सिप र दिमागमा सकरात्मक चेतना दिने उर्जाशिल जनशक्ति तयार पार्ने भट्टीको रुपमा स्थापित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष पाण्डेले जागिर चाँही सरकारी राम्रो तर शिक्षा सबैभन्दा कमजोर ठान्ने मनोविज्ञान नेपाली समाजमा रहेकोले सार्वजनिक शिक्षामा सुधार र गुणस्तर वृद्धि अभियान सञ्चालन गर्नुपर्ने, जसको अगुवाई अनेरास्ववियुले गर्ने वहाँले बताउनुभएको थियो । कार्यक्रममा बोल्दै सोही क्याम्पसका क्याम्पस प्रमुख चुरामणी शर्माले रुपन्देहीको पिछाडिएको ठाउँको क्याम्पस हरैया बहुमुखी क्याम्पस भौतिक पुर्वाधारले सम्पन्न भईसकेको हुँदा अव शैक्षिक सुधारका लागि लाग्न सबैलाई अपिल गर्नुभएको थियो । वहाँले क्याम्पसलाई सवल र समृद्ध बनाउनका निम्ति आवश्यक रचनात्मक सुझाव दिनुहुन आम विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख टिका गिरी, हरैया उच्च माविका प्राचार्य मेघनाथ शर्मा, अनेरास्ववियुका जिल्ला उपाध्यक्ष लेखनाथ खनाल, जिल्ला सदस्य तथा क्षेत्रीय अध्यक्ष तारा पुरी लगायतले बोल्नुभएको थियो भने, अध्यक्षता झरना सापकोटा, सञ्चालन सुवास सापकोटा र स्वागत अनिता घिमिरेले गर्नुभएको थियो ।