गृहपृष्ठ » मुख्य समाचार, साहित्यपरदेश

परदेश

January 9, 2019१६ पटक

-शेखर विकल्प 

उनीहरूको भेट ६ बर्ष पछि भएको थियो । स्कुल मात्रै हैन कलेज पनि संगै पढेका थिए । रिता र सिता एकदम मिल्ने साथी । उस्तै कद उस्तै वर्ण । कतिले दुईबहिनी हो भनेर सोध्थे । कतिले जुम्ल्याहा हो र पनि भन्थे । स्वभावमा अन्तर भए पनि धेरै कुरामा नजिक थिए । कक्षामा संगै बसे पनि परिक्षामा कैले संगै परेनन् ।तर अचम्म के भने उनीहरूको रिजल्ट उस्तै आउँथ्यो । एकले अर्काको सारे जस्तो । दुवै उस्तै दयालु । नाम पनि अनुप्रास मिलेका रिता र सीता । दुःख सुखकाचौतारी थिए । गाउँघरको मेलापात दाउरा घास देखि सहर बजारको काममा सघैसँगै हुन्थे । स्नातक पढ्दै गर्दा बिहे भो रिताको । त्यसपछी उनीहरू छुट्टिए ।

बिहे पछी पनि रिता माईत नगएकी भने हैन तर सीतासँग भेट हुने सञ्जोग मिलेन । एकदिन कसो कसो फेसबुकमा जोडिन पुगे । फोन नम्बर आदान प्रदान गरे ।समयले दुवैलाई परदेशी बनाएको थियो । रिता बिहे गरेर श्रीमानसंग डिपेन्डेन्डमा जापान छिरेकी थिई । उसको लोग्ने कुक भिसामा जापान छिरेको थियो ।स्नातक पढाई सक्दा नसक्दै जापान छिरेकी थिई ३ बर्षको छोरो माइतमा छाडेर । सिता स्नाकोत्तर सकेर जागिर पनि गरेकी थिई । खै के मन गराई देशमा बस्नमन लागेन बिहे गरेर पनि बच्चा भएको थिएन । लोग्ने संग राम्रै सम्बन्ध थियो लोग्नेले ट्राभल एजेन्सिमा काम गथ्र्याे आफू स्कुल पढाउँथी । टन्न पैसा कमाउला देशमैब्यापार व्यवसाय गरौंला भनेर लोग्नेले नै पठाएर विदेश पसेकी थिई । लोग्ने पनि सिता गएको दुई बर्षपछी आफू पनि डिपेन्डेन्डमा जान पाईन्छ भनेर ऋणधन गरेरविदेश पठाएको थियो ।

परदेश सपनाको सहर हो ।

रहरहरू एकातिर हुन्छन् बाध्यता अर्कोतिर । घाँटीमा डिएसएलआर क्यामेरा र हातमा आईफोन र नयाँ नयाँ ठाउँमा मुस्कान सहितका फेसबुकमा देखिनेफोटामा जस्तो खुसी छैन विदेश । विदेश नपसुन्जेल त्यस्तै लाग्छ सबैलाई । अझ स्टुडेन्ट भिसामा जापान छिर्नेको लागि तातो बालुवामा खाली खुट्टा दौडिनु भन्दापनि दुखद हो ।

त्यहि दुःखसंग पैठेजोरी खेल्दै थिई सिता । एकातिर घरको ऋण अर्को तिर कलेजको पढाई दिनरातको मेहनत कलेजको फि र महंगो बसाई सबै समस्या मात्रैथिए । सुरूमा भाषा नबुझिने समस्या । मान्छेमा व्यस्तता यस्तो हुन्छ कि संगै रूममा बस्ने साथी बिरामी हँुदा पनि हेरचार गर्न मिल्दैन । यो महिना काम नगरेअर्को महिना के खाने भन्ने समस्या । उसमाथी न कलेज बिदा लिन मिल्ने न त काममा बिदा पाईने । खैर यस्तै यस्तै समस्या झेल्दै ६ महिना बितीसकेको थियोसिताको । जापान आएको ६ महिना पछि भेट भयो सिताको रिता संग । कैले कसको विदा नमिल्ने कैले कसको यस्तै हुंदा पनि नजिकको साथी संग पनि भेट हुनसंभव थिएन । फोन र फेसबुक नै सम्बन्धमा कसी लाउने सहारा हुन्थे ।

रिता सिता भेट भए कुरा गरे । मन पोखे रोए हाँसे । घर सम्झे देश सम्झे र संगै बालापन । “सिता तं मास्टर्स सकेकी मान्छे किन आईस् जापान । तं जस्तो मान्छे तआउन नहुने हो ।“ रिताले यस्तो भन्दा सिता झण्डै रोईन । किनकी जापानमा न पढाईको कुनै महत्व थियो न त नेपालीले नेपालीलाई गर्ने व्यवहार नै । पढ्नआएका विद्यार्थी भनेर के गर्नु । जापान देश सभ्य भनेर के गर्नु । मान्छे असभ्य भएपछि । मान्छेमा लाज डर थोपो हुन्थेन । ठाउँ कुठाउँमा बोल्ने बोली यतिअसभ्य र छाडा हुन्छ कि तिनी शब्द सायद शब्दकोशमा पनि छैनन् होला ।

अर्को दुःखको कुरा रितालाई के पनि लागेको भने जापानमा भलै तीन महिना पहिला आउने विद्यार्थी किन नहोस् उसले आफूलाई सेन्पाई हँु भन्दै नयाँलाई हेप्नेचलन जहाँ कहि व्याप्त छ ।

आफू भन्दा ५÷६ बर्ष कम उमेरका भाईहरू पनि तिम्लाई काम लाईदिन्छु यो गर उ गर । तिमी वाईन मात्रै खाउली के एक दिन मिलाएर बसम् । आज संगैबसम् न यस्ता प्रस्ताव दैनिक जसो आउँथे । “यस्तै हो हेर मान्छेको मति बिग्रेपछी के गर्नु ।” सिताले अरू केहि भनिन । रिता आएको दुई बर्ष भईसके पनिउसको भाषा खासै राम्रो थिएन । कैले यता कैले उता काम गर्दा गर्दै बोल्न सिकेकी हो । किनभने जापानमा वर्किङ र डिपेन्डेन्ड भिसामा आउनेले दैनिकबोलचाली बाटै भाषा बनाउने हुनाले निर्वाह बाहेक खासै राम्रो हुन्थेन । तर अलि धेरै बर्ष बस्नेहरूको भने दैनिक अभ्यासले गर्दै भाषा राम्रो बोल्नेहरू पनि भेटिन्थे।

“सिता, काम कस्तो छ गाह्रो होला है तर स्टुडेन्टको त भाषा हुनाले जहाँ नि सजिलै काम भेटिन्छ । “ “के सजिलो के गाह्रो रिता, यौटै यामातो गर्छु अर्को वेन्तो हो ।आएको दुई महिना सम्म कहिं काम पाईएन । हेर न हामी बसेको ठाउँमा त हेन्डक्यास काम पनि नपाईने । दुईटै चुचोमा हो डरै छ । भिसा पनि १५ महिना मात्रैहो । आएको ऋण त्यसै छ अब कलेज फि तिर्ने बेला भो । म त त्यसै दिक्क छु ।” सिताले एकै सासमा सबै कुरा सकी । रिताले ढाडस दिदै भनी — “नआत्ते बानीपर्छ । तेरो त मास्टर्स छ भाषा राम्रो बना निहोंगो सकिदैं वर्किङ गर्न पर्छ । अनि आनन्द ।” “अनि तेरो क कस्तो छ काम के मा गर्छेस् ? कमाई के कति छ ?भिनाजुको राम्रै होला नि ।”

“कमाईको कुरा नगर हेर । आएको दुई बर्ष भो घर जान मन लागिराछ । बाबु जैले ममी कैले आउनुहुन्छ भनेर रून्छ । आफू यहिको यहि भासिईयो । साह्रैदिक्क छ । मैले गर्न सके हो भिनाजुको राम्रो छैन । भिनाजुको भर्खर ३ बर्षको भिसा आछ अहिले सम्म आएकै रेस्टुरेन्टमा काम गर्नुभाको छ । तलाई के ढाट्नुहेर १२ मान हो । त्यहि नि वेलामा पैसा दिन्न । रेस्टुरेन्ट नि चलेन अब बन्द हुन्छ होला । भिनाजु नि अब हाकेनलाई भनेर बाहिर काम गर्नि भन्नुभाछ । त्यो भएपछी२०÷२१ मान हुन्छ कि भन्ने हो । मेरो नि त्यस्तै छ दुई दिन एयरपोर्ट हो १२÷१२ घण्टा त्यहाँबाट १२ मान आउँछ अर्को बेड हो ४ दिन कैले ७÷८ घण्टा हुन्छ कैले४÷५ त्यहांबाट ८÷९ मान आउँछ त्यहि त हो । तलाई थाहै त छ । ६ मान रूमकै भाडी छ । मोबाईल भन्यो । टेकि भन्यो । कैले यता कैले उता यो महंगी ।” “त्यहि त रिता, कमाई नबच्ने हेर न मेरो नि कसै गरे पनि ८÷९ मान खर्च हुन्छ महिनाको दुईटा काम गरेर आउने त्यहि २३÷२४ मान हो त्यहि नि त्यस्तै छ ।” यस्तैयस्तै दुःख गनथन गर्दै दिन बिताए बाहिर गएका भिनाजु आएपछी उनी संग भेटिएर । सिता फर्किई निकै हलुका महसुस गर्दै ।

परदेशमा कोहि नेपाली भेटिनु धित मरून्जेल दुख सुख पोख्न पाउनु भनेको घर पुग्नु जस्तै हो । समय वित्दै थियो । उनीहरूको भेट हुन नपाए पनि फोन दैनिकजस्तो हुन्थ्यो । रिताले सितालाई बारम्बार सम्झाउँथी हेर है सिता कुनै पनि बहानामा केटाहरू नजिक होलान् । परदेश त दाइ भाई भनेर पनि नजिक हुन हुन्न ।आज दाइ भाइ बनेर नजिक हुन्छन् भोलि भनेको मान्ने भए मान् गर्लफ्रेन्ड नत्र गर्लफ्रेन्ड हो भन्दै हिन्छु । यो गर्छु त्यो गर्छु भनेर तनाव दिन्छन् खुब ख्याल गर है ।रिताले आफूले पनि भोगेकै कुरा गरेकी थिई किनकी उसका कति साथीहरू पनि काम नआएर अरू अरू केटासंग घुम्न गएको देखेकी सुनेकी थिई । रिताले जेजे भन्थी सितालाई त्यस्तै परेकै हुन्थ्यो । मनमनै झसंग डराउँथी यसले कसरी देखे झैं बोल्छे भनेर । किनकी सिता नजानिदो पाराले कोहि केटा संग नजिक हुदैथिई । वाईन खान सिकेकी पनि थिई । कहिले कसो मौका मिलाएर घुम्न पनि निस्कन्थी । सिमसिम झरी परिरहेथ्यो । जापानको मौसम बुझिनसक्नु हुन्छ । चर्कोघाम लाग्दा लाग्दै झरी पर्दिने । झरी परेपछि जाडो महसुस भैहाल्ने । कैले घाम कैले पानी कैले दिन कैले रात यस्तै यस्तै गरी दिन गईरहेथ्यो । न उज्यालो नअध्यारो सघै एकनास ।

आउने दशैंमा घर जाने भनेर रिताले दिनरात नभनी काम गरेकी थिई । शुक्रबार र शनिबार दिनमा काम गर्थी । आज शुक्रवार भर्खर कोठामा आईपुगेकी थिई ।आठ बजे सम्म काम भए पनि सामान यता त्यता गर्न बजारमा भुलेर रूम आउदा १० बजिसकेको थियो । लोग्ने अझै काम बाट आउने बेला भएको थिएन । कैले११ त कैले १२ पनि बज्थ्यो । रिता खाना बनाउदै थिई । त्यस्तैमा अचानक सिताले रूदै फोन गरी । “रिता म बर्बाद भएं म के गरौं ? नरो न एकैचोटी !” रिताआत्तिई । “मलाई जुम्बी भिसा आयो ।” हँ….. रिता अवाक् भई । के भन्नु कसो गर्नु छटपटी भो । तैपनि मनलाई बाँधेर सोधी— “कैले आयो ? पहिले केहि भनेकीथिईनस् त ?

“हेर न के गरूँ अब । चुचो जुधेको नि थिएन । जिखान बढी पनि भाथेन ।“ चुचो दुईटा बुझाईथिस् र ? अँ गाक्कोले चुचो दुईटै माग्यो । जुन राम्रो छ त्यो मात्रै भिसाकोउसिन हाल्दिन्छु भनेथ्यो । सेन्पाईहरू पनि ४ जनालाई जुम्बी आको थ्यो । मेरो नि एप्लाई गरेको २ महिना बढी भाथ्यो भिसा आउला भनेको आएन । जुम्बीआउला भन्ने त कल्पना पनि थिएन । सुरूमा दुई महिना कामै गरिन । पछि भिसा थप्ने बेलामा पनि यौटा काम यामेते गरेकी थिएं । अरूअरू सुरू देखि लगातारदुईटा काम गर्नेलो नि भिसा आईराछ । मेरो त भाग्य मै यस्तै । टेन्सन नलिग् । भोलि त मेरो काम छ पर्सी दिउसो आईज । भिनाजु नि घरै बस्नुहोला सायद । जेजसो गर्ने हो सल्लाह गरूम्ला नआत्ते बाटो लाग्छ । भिसा एप्लाईमा छ भनेर भिसाको मिति सकिए पनि कम्पनीले काम दिईरहेको थियो । तर सितालाई कामजान मन लागेन ।

न घरमा कल गरेर यस्तो भो भनेर सुनाउन सक्थी । आफूसंग नजिक भएको केटा पनि जुम्बी पाएको थाहा पाएर टाढा भईसकेको थियो । रूममा एक्लैछट्पटाउँदै थिई । स्कुल पढाएको । लोग्नेको साथ घर परिवार देश माया । स्कुलका केटकेटीले गर्ने आदर । समाजले गर्ने माया । लोग्नेका सपना । त्यो संगै १३लाख खर्च गरेर आएकोमा तिर्न बाँकी ५ लाख रिन । यस्तै यस्तै कुराले उ झन ग्रसित भई । अब के गरौं ? रिफ्युजी जाउँ फर्म समेत दर्ता गरेको छैन भन्ने सुनेकीथिई । घर फर्कम रिनै बाँकी छ त्यसमाथी रित्तै फर्किनुपर्ने ? यस्तै सोच्दा सोच्दै रात बित्यो । उज्यालो भयो । रातभरी काम गर्न गएका साथीहरू रूम फर्के ।सिता यसै मन बहलाउन पार्कतिर निस्की । रिताले लोग्ने संग कुरा गरी । उसले मेरा साथी छन् । रिफ्युजी बसेका उनीहरू संगै सल्लाह गरौंला ।

आएको १५ महिनामामै घर फर्केर के गर्ने आको रिनै कति होला । केटी मान्छे कति रो तिरेकी होली र । उसलाई पनि रिफ्युजीमा एप्लाई गर्न लाउन पर्ला । यस्तैसल्लाह गरे रिताका लोग्ने स्वास्नीले । ३० दिनको जुम्बी भिसा पाएपछी कलेज काम सबै त्यत्तिकै सकिए । अब ३० दिन भित्रमा नेपाल फर्कनु भनेर तयारी समयदिएको थियो ।

सिता दोधार मन बोकेर रिताकोमा पुगि । आउजाउ खासै हुन नपाए पनि परदेशमा घर भनेकै रिताको रूम थियो उसको लागि । सबैले बसेर सल्लाह गरे । ३०दिन बाँकी रहदै २६÷२६ दिनमा स्टे भिसालाई एप्लाई गर्ने । ६ महिना सम्म हेन्डक्यास काम खोजेर गर्ने । त्यतिन्जेल रिताहरू संगै मिलेर बस्ने । महिना बित्न बेरथिएन दिन जसरी रात पनि उसैगरी जान्थ्यो । रिताको लोग्नेको साथी मार्फत स्टे भिसा एप्लाई गरि । ईमिग्रेसनमा चिनेका नेपाली हुनाले केहि सहज पनि भो । रसिता रिफ्युजी बस्ने सोच सहित दुई महिनाको स्टे भिसा लिई । स्टे भिसाको अवधिमा कतै काम गर्न पाईन्थेन ईमिग्रेसनलाई थाहा नहुने गरी हेन्डक्यास काम गर्नुपथ्र्याे । बसाइ टोकियो हुनाले काम पनि मिल्यो । सिता रिताकै रूममा मिलेर बस्न थाली ।

रिता प्रायः काममै हुन्थी आइतबार एकदिन फुर्सद हो त्यहि पनि यता उता गर्दै सकिन्थ्यो । तर आज शनिबार थियो । रिता काममा गएकी थिई । सिता र रिताकोलोग्ने घरमै थिए उमेरले बराबर भए पनि बोल्न सजिलोको लागि सुरूबाटै भिनाजु भन्थी । रिताले पनि सिताको लोग्नेलाई भिनाजु नै भन्थी । आज संयोगले दुबैकौविदा छ घुम्न जानु यसले पनि बोर मानेकी छ घुमाउन लैजानु भनेर रिता काममा गएकी थिई । सिता र रिताको लोग्ने बजार तिर निस्के । फोटो खिचे हांसे रमाईलोगरे । साली भेनाले वाईन वियर खाएर आफ्ना दुख सुख साटे । साँझ नपर्दै रूममा फर्किए ।

रिता कामबाट फर्किन अझै २ घण्टा बाँकी थियो । रिताको लोग्ने वियरले झ्याप भैसकेको थियो भने सितालाई रमरम बनाएको थियो । भिनाजु फेरि बाहिर गएरबियर वाईन अरू के के लिएर आए । दुबैले फेरि पिए । नसा चढ्दै गयो । सिताले भिनाजु संग निकै निकट महसुस गरी यति सम्म भई उसको ओंठको चुरोटसम्म खोसेर पिईदिई । उनीहरू विस्तारै नसामा हराउँदै गए । आफैलाई बिर्सन थाले । जिस्किन चल्न थाले । अन्तत आलिंगनमा बाँधिए ।

एकाकार भएर बिस्तारामा ढले । रात बढ्दै थियो । बजारको व्यस्ततालाई चिर्दै । थकान र भोक संगै बोकेर लखतरान भएर रिता घर फर्किई । आज त दुबै जनाघरमा छन् । के के परिकार बनाए होलान् । कहाँ कहाँ घुमे रमाईलो गरे म छुटें । यस्तै यस्तै कुरा खेलाउँदै रिताले रूमको ढोका खोली । जब कोठामा लोग्ने रसितालाई निवस्त्र यौटै बेडमा देखि रिता चेतनाशून्य भई । उसलाई आफैले टेकेको जमिन भासिँदै भासिँदै गएजस्तो भयो ।

जापानी शब्दहरू गाक्को— स्कुल र कलेज

कोउसिन— भिसा प्रक्रिया

मोनदाइ— समस्या र गुनासो

न्युकान— अध्यागगमन बिभाग

जुम्बी भिसा— ३० दिनको घर फर्कने तयारी भिसा

स्टे भिसा— अस्थाई ६० दिनको भिसा

चुचो— बैंक खाता र पासबुक

यामेते— छोड्नु

यामातो— ट्रान्सपोर्ट कम्पनी

बेन्तो— खाना बनाउने कम्पनी

सेंपाइ – अग्रज

१ मान – १० हजार

रिफ्युजी— शरणार्थी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण