केपी ओली संविधाननै सिध्याउने खेलमा थिए : मेटमणी चौधरी
नवलपरासी असोज ३
नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) का लुम्विनी प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान सिध्याउने खेलमा लागेको बताउनुभएको छ । चौधरीले पश्चिम नवलपरासीमा नेकपा एस को जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा एस का अध्यक्ष माधब कुमार नेपाल ओली प्रबृत्तिको विरोधमा उत्रिएर संविधान जोगाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको दावी गर्नुभएको थियो ।
केपी ओली विदेशी शक्तिको ईसारामा चलेको र तिनै शक्तिको योजना अनुसार प्रतिनिधि सभा विघटन गरेर संविधाननै ध्वस्त पार्ने खेलमा लागेको चौधरीको भनाई रहेको थियो । भारतिय रअ का सामन्त गोयल संगको भेट पछि ओलीका गतिविधिहरु संविधान ध्वस्त बनाउने तर्फ केन्द्रित भएको चौधरीको आरोप थियो । माधवकुमार नेपालले तत्कालिन अवस्थामा पार्टी भित्रैबाट ओली प्रबृत्तिको विरोध गरी प्रतिनिधि सभाको पुनस्थापनाको पक्षमा लडेको कारण अहिलेको संविधान जोगिएको अन्तराष्ट्रिय स्तरमा समेत चर्चा हुन सुरु भएको पनि चौधरीले बताउनुभएको थियो ।
उनले देशभर नेकपा एस को पक्षमा राम्रो लहर आएको र नेकपा एस नै देशको सवैभन्दा ठुलो कम्युनिष्ट पार्टीको रुपमा स्थापित हुने बताउनुभएको थियो । अहिले पनि कर्णाली र सुदुर पश्चिममा नेकपा एमाले भन्दा नेकपा एस बलियो भएको र प्रदेश २ र बाग्मती प्रदेशमा पनि राम्रो अवस्था रहेको चौधरीले दावी गर्नुभएको थियो ।
आगामी चुनावमा नेकपा एस नेकपा एमाले भन्दा ठुलो पार्टीको रुपमा उदाउने जिकिर गर्दै चौधरीले सवै नेता कार्यकर्तालाई उतसाही भएर जनताको माझमा जान आग्रह गर्नुभएको थियो ।
जिल्ला भेलाले यज्ञ खनाको अध्यक्षतामा १ सय ५१ सदस्यिय जिल्ला कमिटी समेत घोषणा गरेको छ । उपाध्यक्ष कृपाललाल यादव, टंक खनाल, सचिवमा कुमार आले, सहसचिवमा अर्जुन सुनार र प्रकाश भट्टराई रहनुभएको पार्टीका जिल्ला सचिव कुमार आलेले बताउनुभयो । भेलाले पार्टीको महिला संगठनको जिल्ला संयोजकमा लक्ष्मी भुसाललाई चयन गरेको छ ।
