गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, समचारसबैजातिको पर्व तीज

सबैजातिको पर्व तीज

September 10, 2015३३४ पटक
काठमाडौं- कालिन्चोक उच्च माध्यमिक बिद्यालय चरिकोटकी शिक्षिका सुमन सिंहले मंगलवार मनमिल्दा साथीहरुलाई बोलाएर दर खुवाइन। उनले कर्मचारी दिवसको छुट्टीको अवसर छोपेर दर खुवाएको थिइन्। ‘ मन मिल्ने साथीहरुलाई बोलाएकी थिएँ। खायौं पियौं र रमाईलो गर्यौंं,’ उनले दंङ्ग पर्दै सुनाइन्।

सुमनले महोत्तरीबाटै ल्याएको चामलको पुलाऊ,चना,राज्माको तरकारी,काँक्राको अचार बनाएर साथीहरुलाई खुवाएको उनले सुनाइन्। ‘तिजको दिन साथीसँग नाच–गानमा सरिक हुन्छु,तिज असाध्यै रमाइलो लाग्छ’उनले मंगलावर नागरिकसँगको कुराकानीमा भनिन्।

तर उनले यसरी तिज मनाउन थालेका चरिकोटमा आएर मात्र हो। तराईमा तिज मनाउने तरिका चरिकोटको भन्दा भिन्नै छ। ‘उता तिजको दिन पानी नखाई रातभरि ब्रत बस्छन्,भोलिपल्ट पुजारी बोलाएर छोरी,चेलीलाई दान दिने चलन छ’उनले भनिन्। महोत्तरी स्थायी घर भएकी सिंह २०४३ मा शिक्षक जागिरको सिलसिलामा चरिकोट बस्न थालेकी हुन्। त्यसयता उनले पर्वते महिला झैं तिज मनाउने गरेकी छिन्। पहिला पूजा गरेर,ब्रत बसेर तिज मनाउने गरेकोमा बिरामी परेपछि ब्रत भने बस्न भने छोडेकी छिन्। ‘नुहाएर मन्दिर जान्छु र ब्रतालु महिलासँगै शिवपार्वतीको पूजा गर्छु’उनले भनिन्।

तिज पर्व महिला दिदी बहिनीको लागि दुःख बिसाउने अवसर भएकोले पनि यो पर्व आफुलाई धेरै मन पर्ने सिंहले बताइन्। ‘घरबाट सजिलै विदा नपाउने चेलीबेटीको लागि तिज अवसर हो’उनले भनिन्।

शेर्पा महिला समाजकी उपाध्यक्ष तथा नेपाली काँगे्रस नेतृ पाशी शेपाले विगत ३२ बर्षदेखि काठमाडौमा तिज मनाउँदै आएकी छिन्। बौद्ध परम्परा र संस्कृतिमा हुर्केकी भएपनि उनलाई तिज उत्तिकै मन पर्छ।

काठमाडौं ज्ञानेश्वरकी उमा गुरुङलाई पनि तीज धेरै रमाइलो चाड लाग्छ। तर यो साल भने तीजमा पहिला झैं उल्लास नभएको उनले बताइन्। ‘गत बैसाखमा गएको भूकम्पले दुवै माइतीघर भत्काएको छ। माइत जाँदा पनि आफ्ना पुराना कुरा याद आउँछन्। घर जाँदा स्वर्गीय मातापिताको तृष्णा मेटिए झैं हुन्थ्यो। यस पालि त खै के मनाउनु?’

काठमडौंकै रैथाने बनिकेकी गुरुङ काठमाडौंमा बर्षौंदेखि तिज मनाउँदै आएकी हुन्। साहित्यकार एवं गायिका समेत रहेकी गुरुङ तिजका गीत रच्छिन्,गाउँछिन् र मज्जाले नाच्छिन् पनि। पहिला लोकलयमा चेलीबेटीको मर्र्ममा सीमित रहेर गाइने तीज गीतहरु लथालिंग बन्दै गएको भने उनलाई चित्त बुझेको छैन।

महिला दिदी बहिनीहरुलाई अवसर र सम्मान प्रदान गर्ने पर्व भएकोले तिज पर्व गुरुङलाई मन पर्छ। तिज आफैमा नेपाली चेलीबेटी र नेपालको लागि गौरवको पर्व भएकोले यसलाई जोगाउनु पर्ने गुरुङ बताउँछिन्। नेपाली गौरव तथा पहिचानका आधार चाडपर्व,कला संस्कार नै भएकोले यसको संरक्षण नभएमा देशकै अस्तित्व बिलिन हुने उनी बताउँछिन्।

काठमाडौंको ठमेलमा पर्यटन व्यवसायी हुन् बिमन लिम्बु। लिम्बु परम्परामा तिज मनाउने चलन नभएपनि उनले बिहेपछि तिज मनाउन थालेकी हुन्। म्याग्दीको मगर परिवारमा बिहेभएपछि उनमा तिजको प्रभाव बढेको हो। ‘बिहे गरेको पच्चिस बर्ष भयो,घरमा सासुले यो चाड धुमधामले मनाउनु हुन्थ्यो’उनले भनिन्। परिवारकै संस्कार अनुसार तिज मनाउँदै गएकी उनलाई लिम्बु माइतीले पनि तिज मनाए हुन्थ्यो भन्ने लाग्छ। ‘अरु चेलीहरु माइती गएको देख्दा मलाई पनि जान पाए हुन्थ्यो भन्ने लाग्छ’उनले भनिन्।

माइती जान नपाएपनि आफन्तहरुलाई जम्मा गरेर दर खाने र तिज मनाउने गरेकी छन्। यस पालि तिजमा दिदी बहिनी जम्मा गरेर तिज मनाउने उनको योजना छ। मन्दिर दर्शन गरेपछि पशुपतिमा हुने नाचगानले आफूलाई लोभ्याउने गरेको उनले बताइन्।

आजभोलि धेरै चाडपर्वहरुलाई हिन्दू संस्कृतिसँग जोडेर बिरोध गर्ने प्रचलनको सुरुवात भएको छ। आजभोलि कति जनजातिले दशैं तिहार जस्ता चाड बहिष्कार गरेको समाचार आउन थालेका छन्। तर चाडपर्वलाई संस्कृतिको अंग मान्नुको साटो धर्मसँग जोडेर हेर्दा बृहत्तर अर्थ बोकेका चाडपर्व मासिने सम्भावना रहन्छ। सबैजाति जनजाति मिलेर मनाउने तिज पनि यसको शिकार नबनोस् बेलैमा ध्यान पुर्यानउन जरुरी छ।nagariknews.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण