गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचारसुस्तायो तीजको व्यापार

सुस्तायो तीजको व्यापार

September 10, 2015३०० पटक
सुस्तायो तीजको व्यापार
काठमाडौं- तीज मुखैमा आईसकेपनि बजारमा पोहोर साल जस्तो चहल पहल छैन। किनमेलका लागि कहलिएका ठाउँमा मन्दी छ। गरगहना, कुर्ता, सलवार, सारी र चुराको कारोबार घटेको छ। न्युरोड, खिचापोखरी, असन, कालिमाटी, चावहिल र लगनखेल लगायतका क्षेत्रमा यो साल अपेक्षाकृत व्यापारको हुन नसकेको व्यापारी बताउँछन्। आउँदो ३० गते यो सालको तीज परेको छ।

अश्री ज्वेलरीका सञ्चालक मनिषलाल प्रधानले यो साल गरगहनाको व्यापार सोचे अनुसारको नभएको प्रतिक्रिया दिए। ‘भूकम्पपछि मानिसहरुमा चाडपर्व मनाउने रौनक हराउनु स्वभाविक हो। त्यसमाथि बजारमा ढिक्का सुनको अभावले बाँकी काम चौपट गरेको छ। यो साल खासै व्यापार हुनसकेको छैन,’ उनले थपे ,’हामी नेपालीका लागि सुनचाँदी सेभिङ पनि हो। आर्थिक क्षमतामा वृद्वि हुननसकेको कारण गरगहनाको व्यापार चाडपर्वमा समेत सामान्य छ।’ गरगहना किनमेलको हब मानिने न्यूरोडमा पछिल्लो समय तराई बन्दको प्रभाव समेत देखिएको छ। ‘दाल भात तरकारी किन्न नपाईला जस्तो छ, कहाँको सुन किन्नु?’ प्रधानले भने।

सुनको मात्र होइन अघिल्ला वर्षमा एक महिना अघि देखि रामप्रसाद रौनियारको कालीमाटी स्थित सारी –कुर्ता पसललाई सामान बिक्री गर्न भ्याईनभ्याई हुन्थ्यो। तर यो पाला फाट्टफुट्ट मात्र ग्राहक आउने गरेको उनले बताए। ‘तीज नजिकिँदै गरेपनि व्यापार जिरो छ। भूकम्पपछि बिस्तारै बजारमा चहलपहल र कारोवार राम्रो हुँदै थियो। तराई बन्दले गर्दा अधिकांश सामानहरु बोर्डरमा अडि्कएका छन्। त्यसले गर्दा बजारमा सामान पनि छैनन् र किन्ने ग्राहक पनि,’ रौनियारले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वर्षअघि भडि्कलो तरिकाले तीज पर्व मनाउनेलाई कारबाही गर्ने चेतावनी दिएपछि सुस्ताएको तीज बजार पछिल्लो समयको भूकम्प र तराईबन्दले थप थलिएको रौनियारको बुझाई छ। ‘तीनवर्षअघिदेखि पार्टी प्यालेसमा दर खाने चलनमा अंकुश लागेपछि व्यापारमा समेत असर परेको थियो। यसपटक मूल्य बढाएका छैनौं तर पनि ग्राहक आएनन्,’ रौनियारले दुखेसो पोखे।

महाबौद्धमा कुर्ता सलवारको होलसेल गरिरहेको व्यापारी मोहमद आरिफ समेत यो पाली व्यापार सामान्य भएको प्रतिक्रिया दिन्छन्।उनले भने, ‘बजारमा अलि भीडभाड देखिएको छ तर सोचुअनुरुप ग्राह आएका छैनन्। तीजलाई नै लक्ष्य गरेर भारतबाट मगाईएका सामान रक्सौलमा अडि्कएका छन्। त्यसैले हामीले आएका ग्राहकलाई पनि चित्त बुझ्दो सामान दिन सकेका छैनौं। स्टकका सामान अलि अलि बिक्री भइरहेको छ।’

राजधानीमा व्यापार गर्ने अधिकांश व्यापारीहरु भारतको नयाँ दिल्ली, राजस्थान र फिरोदावाद लगायत शहरबाट चुरा, कर्ता र सारीहरु आयात गर्ने गर्छन्। तराईमा जारी बन्दले गर्दा चुरा, कुर्ता, सलवार र सारीहरु लगायतका सामानहरु नेपाल प्रवेश गर्ने विभिन्न सीमामा अडि्कएका छन्। केही दिनअघि प्रहरी स्कटिङबाट नाकामा अड्किएका मध्ये १० प्रतिशत सामानमात्र राजधानी भित्रिएका थिए।

रातो चुरा र रातो सारीमा रातै सिन्दूर लगाएर मन्दिर जाने र दिनभर नाच गान गरेर उपवास बस्ने तीजको विशेषता हो। यही दिनकै लागि मात्र भनेर पनि महिलाले चुरा पोते किन्ने गरेका हुन्छन्। तर यो बेला खुट्टा टेक्न मुस्किल हुने इन्द्रचोकको चुरा पोते बजारमा पहिले जस्तो चहलपहल छैन। चुरा र पोतेका व्यापारी टिटु शाह व्यापारमा कमी आएको महसुस गर्छन्।

‘सबैले नयाँ नयाँ डिजाइनका चुरा खोज्छन्। तर हामीले दिन सकेका छैनौं। स्टकका सामानले मात्र चित्त बुझाउन गाह्रो भईरहेको छ। त्यसैले पनि व्यापारमा यो साल मन्दी छ,’ शाहले भने।

नक्कली गहना लगाउने प्रचलन बढेका कारणले पनि सक्कली गरगहनाको व्यापार घट्दो क्रममा रहेको छ। गहनासँगै कस्मेटिक सामान पनि नक्कली आउन थालेकाले सक्कलीको व्यापारमा कमी आएको लगनखेलमा कस्मेटिकको खुद्रा पसल सञ्चालन गरिरहेकी अनिता श्रेष्ठको छ। उनले अहिले राजधानीमा भारतभन्दा चीनमा उत्पादन भएका चिनियाँ चुरा र पोतेले बजार पाइरहेको अनुभव सुनाइन्। भारतीय चुराको साटो चिनियाँ चुरा पोतेले बजार लिँदै गरेको उनको अनुभव छ।

असनको एक सारी पसलमा भेटिएकी बानेश्वरकी मनिषा थापाले बजारमा नयाँ डिजाइनका सामानहरु नआएको गुनासो गरिन्। ‘ आफन्तलाई तीजको भाग दिन पर्योा भनेर किनमेलमा निस्केकी। भनेजस्तो सामानै छैनन्। केही नकिनी फर्कन लागेको। पुरानो डिजाइनमा के खर्च गर्नु?’थापाले भनिन्।

चावहिलमा सुनपसल संञ्चालन गरिरहेकी सवनम हुसेन भने तीजमा नक्कली र जलप लगाइएका गरगहनाको बिक्री केही बढेको बताउँछिन्। ‘नक्कली र जलप लगाइएका गरगहनाको बिक्री राम्रै छ। कम खर्चमा रहर पूरा गर्नेले यस्ता सामान लिने गरेका छन्। बिक्री राम्रै छ,’ उनले भनिन्। उनको पसलमा तीजमा विशेषगरी छड्के तिलहरी, नौगेडी, नेकलेस र औंठीको धेरै माग आइरहेको जानकारी गराइन्।

किनमेलको बजारमा मन्ी छाएको भएपनि ब्युटीपार्लरको बजार भने फस्टाएकै छ। दर खाने कार्यक्रममा सरिक हुन ब्युटीपार्लर धाएर श्रृंगार गर्ने प्रचलन बढे पछि विभिन्न स्थानमा खोलिएका पार्लरमा चहलपहल देखिन्छ। बौद्धमा ब्युटीपार्लर सञ्चालन गरिरहेकी ब्युटीसियन सुधा थापा सुन्दर देखिन पार्लर धाउनेको संख्या बढेको बताउँछिन्। उनले अधिकांश ग्राहकहरु थ्रेडिङ र फेसियल, कपाल कलरिङ, मेकअप र हेयर कटिङ लगायतका लागि ब्युटीपार्लर आउने गरेको बताइन्।

nagariknews.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण