गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारवार्ताबाट समस्याको समाधान खोजिरहेको छ मधेस

वार्ताबाट समस्याको समाधान खोजिरहेको छ मधेस

September 11, 2015२३१ पटक

२५ भदौ, बारा । तराई–मधेसमा आन्दोलनरत स्थानीय नेता तथा कार्यकर्ताले वार्तामार्फत समस्या समाधान होस् भन्ने चाहेका छन् । मधेस आन्दोलनले वार्ताको उपयुक्त मध्यस्थता खोजिरहेको केन्द्रीय नेताहरूको पनि भनाइ छ । एकैपटक प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभन्दा मध्यस्थतामार्फत कुरा गर्दा सहज हुने आन्दोलनरत दलका स्थानीय नेताहरूको भनाइ छ ।


मोर्चाका एक केन्द्रीय नेताका अनुसार मोर्चाले वातावरण बनाएर वार्ता गर्न प्रधानमन्त्री सुशील कोइरालालाई दबाब दिन संयुक्त राष्ट्रसंघसँग आग्रह गरिरहेको छ । ‘हामीले राष्ट्रसंघका महासचिव वान की मुनका प्रतिनिधिसँग नियमित कुरा गरिरहेका छौँ । मुनको प्रधानमन्त्रीसँग टेलिफोन सम्पर्क हुनेछ,’ ती नेताले भने, ‘समस्याको समाधान अन्त्यमा वार्ताबाटै हुने हो । तर, यसका लागि कम्तीमा मोर्चाले उठाएको माग सुन्नुपर्छ ।’

मधेसका नागरिक समाज, बुद्धिजीवी, व्यवसायी पनि आन्दोलनकारीसँग राज्यले छिटो वार्ता गरेर समाधान गर्नुपर्ने बताउँछन् । वार्ता सुरु नहुँदा समस्या बढ्दै जाने उनीहरूको भनाइ छ । कृष्णजन्माष्टमी मनाउन केही शान्त बनेका पूर्वी मधेसका आन्दोलनकारीले जन्माष्टमी सकिएसँगै आन्दोलन उग्र बनाउँदै लगेको नयाँ पत्रिकामा खबर छ ।

प्रहरी चौकीमाथि आक्रमण गर्ने, रातिमा पनि राजमार्ग अवरुद्ध गर्ने, पार्टी कार्यालय जलाउने, प्रहरी गाडीमा पेट्रोल बम प्रहार गर्नेजस्ता गतिविधि भएका छन् । अनिश्चितकालीन तराई मधेस बन्द गरेको महिना दिन पुग्न लाग्दा पनि माग सम्बोधन नभएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आन्दोलन उग्र बनाउन थालेका हुन् । बुधबार र बिहीबार पूर्वी मधेसमा भएका घटनाले आन्दोलन जति लम्बियो उति हिंसात्मक बन्ने देखिएको छ ।

मधेस आन्दोलनको संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना र तराई मधेस सद्भावनासहितको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा मधेस आन्दोलन सुरु भएको हो । आन्दोलनको कसको नेतृत्वमा चलेको छ भन्ने कार्यकर्तालाई थाहा छैन । सिरहाको लहानमा स्वतन्त्र व्यक्तिको संयोजकत्वमा आन्दोलन भइरहेको छ । तर, आन्दोलनमा सोही ठाउँका लागि कार्यक्षेत्र तोकिएका संघीय समाजवादीका केन्द्रीय सदस्य राजलाल यादव भने त्यसप्रति सन्तुष्ट छैनन् ।

मधेसी बुद्धिजीवी, अगुवाहरू यो आन्दोलनको खास नेता कोही नभएको र यसले अराजकता बढ्नसक्ने बताउँछन् । ‘आन्दोलनको खास नेता हुन्छ । तर, खास नेता भएन भने अराजकता बढ्छ र हिंसा भड्कने खतरा हुन्छ,’ ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जका प्राध्यापक इन्दुशेखर मिश्र भन्छन्, ‘नेतृत्वविहीन आन्दोलनले आन्दोलनकारी र राज्य दुवैलाई अप्ठ्यारो हुन्छ ।’ मोर्चाको आन्दोलनमा नेतृत्व र ठोस एजेन्डा नभएको नहुँदा अन्योल रहेको जनकपुरका एक बुद्धिजीवीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण