भुकम्प पिडीतले पाए ४ महिना पछि राहत
भदौ २५ गते ।।
गत वैशाख १२ गतेको भूकम्पमा परी बेपत्ता बनेका खोटाङ च्यास्मिटार–२ का सेतीबहादुर राईको परिवारले चार महिनापछि मात्र राहत पाएका छन् ।
मजदुरीको सिलसिलामा सिन्धुपाल्चोक पुगेको समयमा भूकम्पमा परी बेपत्ता बनेका राईको मृत्यु भएको पुष्टि भएपछि मृतकका परिवारलाई एक लाख राहत र ४० हजार किरिया खर्च उपलब्ध गराएको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।
भूकम्पमा बेपत्ता सेतीबहादुरको उद्धारका लागि खोजी गर्दासमेत फेला नपरेकाले सिन्धुपाल्चोक प्रशासन र प्रहरीले मृत्यु भएको पुष्टि गरेर पत्राचार गरेपछि मृतक परिवारलाई राहत रकम उपलब्ध गराएको हो ।
च्यास्मिटार–२ घर भई च्यास्मिटार–५ मा बस्दै आएका सेतीबहादुरको नौजनाको परिवार छ । घटनालगत्तै श्रीमती र छोरा आफन्तसहित सेतीबहादुर पुरिएको ठाउँमा दुईपटक खोजीका लागि पुगेका थिए ।