जापानमा १०० वर्ष पुगेका नागरिक नै ६० हजार
टोकियो, २६ भदौ– जापानमा सय वर्ष पुगेका नागरिक ६० हजार नाघेका छन् । जापानको वृद्धवृद्धाको जनसंख्या यति धेरै देखिएको हो । अर्को सातासम्ममा ६१ हजार ५ सय ६८ पुग्ने अनुमान छ । समाज कल्याण मन्त्रालयका अनुसार त्यसमा ८७ प्रतिशत महिला छन् । हरेक सेप्टेम्बर १५ लाई जापानमा ज्येष्ठ नागरिक दिवस मनाइन्छ । त्यस अवसरमा सय वर्ष नाघेका नागरिकलाई प्रमाणपत्र दिने गरिन्छ । यस वर्ष मात्रै ३० हजार ३ सय ७९ जनाले १ सय वर्ष नाघेका छन् । सरकारले ज्येष्ठ नागरिकलाई त्यस दिन ६५ डलर बराबरको चाँदीको थाली दिन्छ । संख्या बढ्दै गएपछि त्यसको सस्तो विकल्प खोज्न थालिएको छ । उक्त प्रचलन सन १९६३ देखि सुरु भएको हो । त्यस वर्ष सय वर्ष नाघेका नागरिक १ सय ५३ जना थिए । गत वर्ष थालीका लागि २१ लाख डलर खर्च भएको थियो । कान्तिपुर दैनिकबाट