पर्यटन बढी ल्याउने शिवपुरी आरक्ष, राजश्व बढी संकलन गर्ने चितवन निकुञ्ज
२७ भदौ, काठमाडौ । नेपालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमध्ये सबैभन्दा बढी राजश्व संकलन गर्नेमा चितवन राष्ट्रिय निकुञ्ज अगाडि छ । पर्यटन भित्र्याउनमा दोस्रो भए पनि राजश्व संकलनमा पहिलो रहेको नेपाल टुरिजम बोर्डको तथ्यांकमा उल्लेख छ ।
आन्तरिक र बाहृय पर्यटकले भरिने चितवनमा सफारी र गैंडा हेर्नका लागि धेरै पर्यटक जाने गरेको अभियान दैनिकमा खबर छ ।
सन् २०१४मा चितवन राष्ट्रिय निकुञ्जले १ लाख ७३ हजार ४ सय २५ जना पर्यटकबाट रु २४ करोड ६९ लाख १३ हजार १ राजश्व संकलन गरेको तथ्यांकमा उल्लेख छ । यो रकम अन्य सात आरक्षमध्ये सबैभन्दा बढी हो ।
शिवपुरी राष्ट्रिय निकुञ्जले सबैभन्दा बढी पर्यटन भित्राएको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा शिवपुरीले सन् २०१४ मा मात्र १ लाख ८० हजार ४ सय ६४ पर्यटकबाट रु १ करोड ३ लाख ७५ राजश्व संकलन गरेको छ ।
यो रकम गतवर्षको भन्दा रु. २५ लाखले बढी हो । नेपालका १३ वटा आरक्षमध्ये सबैभन्दा धेरै पर्यटक शिवपुरी नै जाने गरेका छन् । सन् २००८ मा ८ हजार ३ सय ३४ जना मात्र पर्यटक शिवपुरीमा पुगेका थिए भने ७ वर्षमा यसको संख्यामा २१ गुणाले वृद्धि भएको हो । काठमाडौ नजिक भएका कारण पनि यस निकुञ्जमा धेरै पर्यटक पुग्ने गरेको पर्यटन ब्यवसायीको भनाइ छ ।