गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारसौन्दर्य व्यवसायले म्याग्दीका महिलाहरु आत्मनिर्भर बन्दै

सौन्दर्य व्यवसायले म्याग्दीका महिलाहरु आत्मनिर्भर बन्दै

September 16, 2015३२६ पटक

भदौ ३० गते ।।
सँधैभरी घरको चुलोचौकोमा सीमित र श्रीमानको कमाइमा भरपर्ने गरेका महिलाहरु पछिल्लो समय विभिन्न पेशा र व्यवसायमा आकर्षित भएका छन् । म्याग्दीका महिलाहरुले सौन्दर्यकला व्यवसाय शुरु गरेपछि उनीहरु अहिले आफ्नो खुट्टामा आफै उँभिन सफल भएका हुन् । सौन्दर्य कलासम्बन्धी विभिन्न किसिमका सिप तथा तालिम लिएपछि उनीहरु व्यावसायिक रुपमा लागेका छन् । विभिन्न संघसंस्था तथा प्रशिक्षित व्यक्तिहरुको सहयोगमा व्युटि पार्लरको तालिम पाएपछि उनीहरुले व्युटि पार्लर पेशासँगै कस्मेटिक पसल समेत सञ्चालन गरेका छन् । थोरै मेहनत र सानो लगानीमा पनि शुरु गर्न सकिने भएपछि आफुहरु सौन्दर्यकला व्यवसायप्रति आकर्षित भएको ती महिलाहरु बताउँछन् । विगत १४ वर्ष पहिले २५ हजार रुपैयाँ लगानी गरी शुरु गरेको व्यवसायबाट अहिले मासिक करिब २ लाख रुपैयाँ व्युटी पार्लरबाटै आम्दानी हुने गरेको राखुपिप्ले ५ की राधा मल्लले बताइन् । फेमिना व्युटी पार्लर दर्ता गरी त्यसमार्फत तालिम समेत दिने गरेपछि वार्षिक २५ लाख भन्दाबढी आम्दानी गर्न आफू सफल भएको उनले अनुभव सुनाएकी छिन् । आफ्नो तालिम सेन्टरबाट हालसम्म ५ सय जनालाई व्युटिसियनसम्बन्धी तालिम दिइसकेको उनले जानकारी दिइन् । यसैगरी बेनीबजारकी सङ्गीता श्रेष्ठले पनि ८ वर्षअघि १५ हजार रुपैयाँमा शुरु गरेको व्युटी पार्लरबाट हाल मासिक २ लाखबढी आम्दानी गरेको बताएकी छिन् । पार्लरको साथसाथै सौन्दर्य तालिम दिन थालेपछि वार्षिक करिब ३० लाख रुपैयाँसम्म आम्दानी गरेको बताउँदै हालसम्म ३ सयबढीलाई तालिम दिएको उनको भनाई छ । त्यस्तै बेनपा ४ खबराकी पुनम खड्काले पनि यस्तै पेशा शुरु गरेकी छिन् । विगत ३ वर्षपहिले सञ्चालन गरेको मोनिका व्युटि पार्लरबाट मात्रै मासिक ७० हजार रुपैयाँसम्म आम्दानी हुनेगरेको बताउँदै वार्षिक करिब २० लाख रुपैयाँ कमाई गर्न सकेको उनको अनुभव छ । खासगरी नयाँवर्ष, श्रावण महिना, हिन्दुनारीहरुको महान पर्व तीज, दशैंतिहार र विवाहजस्ता ठूला पर्वमा धेरै व्यापार हुने गरेको सौन्दर्य कला व्यवसायी संघका उपाध्यक्ष व्युटी पार्लर व्यवसायी प्रमिला जोशी श्रेष्ठले बताइन् । उनका अनुसार व्युटी पार्लरहरुमा थ्रेडिङ, फेसियल, हेयर कटिङ, मेकअप, हेयरस्टाइल, आर्ट गर्ने र मेहेन्दी लगाउने, बालस्टेट, हाइलाइट, कलर, कपालको हेरचाह तथा दुलही श्रृङ्गारलगायत पार्लरसँग सम्बन्धित सम्पूर्ण काम हुने गर्दछ । दुलही श्रृङ्गारको ४ हजार, बालस्टेट, २ हजार, फेसियल गरेको १५ सय, कलर लगाएको १५ सय रुपैयाँसम्म पैसा लिने गरेको सौन्दर्य व्यवसायीहरु बताउँछन् । त्यसैगरी उनीहरुले व्युटिसियनसम्बन्धी तालिम दिएको मासिक ३ हजार र ६ महिनाको १८ हजार रुपैयाँ तालिम शुल्क लिने गरेका छन् । पछिल्लो समय कलेज पढ्ने उमेर समूहका छात्राहरु व्युटिसियन तालिम लिन आउने गरेका छन्भने अधिकांश विदेश जाने तयारीका लागि सिप सिक्न भन्दै सौन्दर्य तालिम लिन आउने गरेको व्यवसायी एवं सौन्दर्य प्रशिक्षक राधा मल्लले बताइन् । उनका अनुसार राम्रोसँग पेशा गरेमा सौन्दर्य व्यवसायबाट जीबन धान्न सकिने र यसैमा भविष्य रहेको छ । म्याग्दी जिल्लामा सौन्दर्य व्यवसायमा लाग्ने महिलाहरुको क्रमशः संख्या बढ्दै गएको छ । हालसम्म जिल्लाभर करिब ३५ ओटा व्युटी पार्लर सञ्चालनमा रहेका छन्भने सदरमुकाम बेनीसँगै पर्यटकीय क्षेत्र भूरुङ–तातोपानी, भगवती, गलेश्वर, बाबियाचौर र मल्लाजमा व्युटीपार्लर रहेको छ । सजिलो, जुनसुकै समयमा पनि गर्न सकिने र राम्रो आम्दानी हुने भएको हुँदा यसतर्फ आउनेको संख्या बढेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण