गृहपृष्ठ » देवदह विशेष, विशेषमहिना दिनमै मलेसियाबाट थोत्रो झोला बोकेर फर्केको मलाई खै न्याय ?

महिना दिनमै मलेसियाबाट थोत्रो झोला बोकेर फर्केको मलाई खै न्याय ?

August 6, 2015४८४ पटक

578269f9f993537a5d00247e37b8a79dदेवराज घिमिरे – मेरो घर ओखलढुंगाको दियाले ९ मा पर्छ । २०६० सालमा म जस्ता लाठे युवा गाउँमा बसिसक्नु थिएन । प्रहरीले माओवादी भन्दै निसाना बनाउँथ्यो । अनि माओवादीले पनि बन्दुक बोकेर उनीहरुसँग नहिँडे टिक्न दिँदैनथ्यो । म जस्ता लाठेले गाउँमा बस्ने जमनै थिएन । घरपरिवारबाट पनि धेरै चिन्ता गर्न थाल्नुभयो । ठूलो सहर यहाँ त जसरी पनि बाँचिन्छ भन्ने सोचेर १२ वर्ष अघि म काठमाडौं आएँ ।

काठमाडौंमा बाँच्नका लागि मैले के मात्र गरिन ? शायद त्यति नगरेको भए सहरले पनि मलाई बिदा दिन्थ्यो । आठ वर्ष अघिदेखि राजधानीका सडकमा तरकारी बेच्दै हिँडे । दिनको चार पाँच सयको तरकारी बेच्थें । कोठाभाडा तिरेर पेटभरी खान पुगेकै थियो । तर मलाई त्यतिले पनि पुगेन । धेरै कमाउने सोच आयो र विदेश जाने निधोमा पुगें । यो कुरा त्यही घरमा कोठा बस्नेले पनि थाहा पाए ।

उनका भाइ पूर्र्ण भुजेल ह्वाईट हाउस म्यानपावर कम्पनीका दलाल रहेछन् । उनीसँग मलाई सम्पर्क गराए । त्यसपछि मैंले तरकारी बेच्ने काम छाडें । गएको पुसमा पूर्णलाई इलेक्ट्रिसियनका लागि राहदानी बुझाएँ । तर पछि उसले यसमा मान्छे नपुग्ने भयो अर्कै काममा जानुस राम्रो हुन्छ । पाइप लाइनको काममा जानुस १२ सय ६४ रिंगेट हुन्छ भन्यो । त्यसैमा भएपनि जाने सोच बनाएँ । उसैको सल्लाह अनुसार सिनामंगलको सुधा मेडिकलमा स्वास्थ्य जाँच गराएँ । छातीमा दाग देखिएको रिपोर्ट डाक्टरले मलाई देखाए ।

मलाई विदेश जान नपाउने भएँ भन्ने चिन्ता लाग्यो । तर त्यति बेलासम्म मेरो केहि बिते बिग्रेको भने थिएन । मलाई पूर्णले औषधि सेवन गरेर फेरि जाँच गराउनु ठिक हुन्छ भन्यो । र सुधा मेडिकलबाटै हप्ता दिनलाई १६ सय २५ को औषधि लिएर गएँ । फेरि जाँच गराउँदा स्वास्थ्य ठिक छ फिट भयौ भने तर मलाई रिपोर्ट देखाएनन् । रिपोर्ट सोध्दा ठिक भयो । अव भिषा लाग्छ तिमीलाई किन चाहियो भन्यो । उसले सुधा मेडिकलसँग के सम्झौता गर्‍यो त्यो मलाई केही पनि थाहा थिएन र छैन पनि ।

फागुनमा भिषा लाग्ने भएपछि मैले १ लाख ७० हजार रुपैयाँ ऋण लिएँ । मलाई सुरुमा १ लाख सत्तरी हजार लाग्छ भन्यो । मैले त्यति धेरै तिर्न सक्दिन भनेपछि चिनजानको मान्छे १ लाख ६० हजार मात्रै देउ न त भन्यो । म एकलाख ६० हजार तिरेर फागुन ११ गते मलेसिया बाटो लागेँ । मसँगै गएका अरु साथीले १ लाख २० हजार मात्रै तिरेका रहेछन् । मलेसियाको युल्यान कम्पनीमा पुगेपछि पाइप पोलिस गर्ने काम गर्नु पर्‍यो । नेपालमा १२ सय ४६ रिंगेट भनेको भएपनि ९ सय मात्र दिने भन्यो । ओभर टाइम हुन्छ भनेको थियो त्यो पनि भएन । कम्पनीमा नेपालमा भनेको कुरा सुनाएँ, तर नेपालमै बुझ भन्यो । गएको एक हप्तामा फेरि त्यहाँ मेडिकल गर्‍यो तर रिपोर्ट नेगटिभ आयो । छातीमा दाग देखायो । त्यतिन्जेलसम्म काम गरेको १ सय रिंगेट मात्र दिएर पर्यटक भिषा लगाएर एक महिनामै मलाई नेपाल फर्काईयो ।

त्यहाँ जाँदा लगेको थोत्रे झोला र तिनै कपडा मात्रै बोकेर म नेपाल फर्किएँ । कमाउन त सकिन तर न्याय खोज्छु भन्दै फर्किएपछि दलालसँग बारम्बार सम्पर्क गरें । मसँग उसले भेट्नै चाहेन । ठूल्ठूला कुरा गर्‍यो । मेरो कुरा उसले ठाडै अस्वीकार गर्‍यो । उल्टै मलाई हप्कायो । जाने बेलामा मेडिकल गरेको सुधा मेडिकलमा पनि गएँ । त्यहाँ पनि उस्तै । मलाई उल्लु बनाएर पठाए । हप्कीदप्की गरे । त्यहाँपनि मेरो कुरा सुन्नै मानेनन् । त्यसपछि केएमसी, टिचिङ भक्तपुरको क्षयरोगको उपचार हुने अस्पतालमा पनि स्वास्थ्य जाँच गराएँ । जहाँ पनि दाग छ भन्यो ।

त्यही रिपोर्ट सहित क्षतिपूर्तिको माग गर्दै श्रम मन्त्रालयको कानून शाखामा वैशाखमा निवेदन दिएँ । निवेदनमाथि कारवाही भएपछि मलाई फोन गर्छु भनेका थिए, तर आजसम्म फोन आएको छैन् । म त्यही न्यायको फोन पर्खिरहेको छु ।
– घिमिरेसँग उज्यालो अनलाइनलका लागि उजिर कार्कीले गरेको कुराकानीमा आधारित ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण