गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यसत्र दिनदेखि अनशनरत युवाले अनशन तोडे

सत्र दिनदेखि अनशनरत युवाले अनशन तोडे

September 16, 2015३२९ पटक

ansan (1)
काठमाण्डु, ३० भदौ-सनातन हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गर्दै टुँडिखेलमा १७ दिनदेखि आमरण अनशनरत चार युवाहरुले बुधबारबाट अनशन तोडेका छन् ।

सरकारका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाको प्रतिनिधित्व गर्दै कानुन, न्याय संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले लिखित पत्र पढेर सुनाएपछि उनीहरुले अनशन तोडेका हुन् ।

जगतगुरु बालशन्त मोहनशरण देवाचार्यले अनशनकारी युवालाई पञ्चामृत पिलाएर अनशन तोडाउनुभएको थियो । हिन्दू युवा मञ्चको तर्फबाट विभिन्न नौबुँदे माग राखी कमलप्रसाद जोशी, प्रेमनिधि भारद्वाज, सागर कटुवाल र खेमनाथ आचार्य अनशन बस्दै आएका थिए ।

प्रधानमन्त्री कोइरालाले अनशनरत चारै जना युवालाई सम्बोधन गरी पठाउनुभएको पत्र मन्त्री आचार्यले वाचन गर्दै हाल संविधानसभाबाट पारित हुन थालेको ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ ले सनातनदेखि चलिआएको धर्म र संस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रताको रक्षाको विषयलाई महत्वपूर्ण संवैधानिक दायित्व बनाएको बताए ।

प्रधानमन्त्री कोइरालाले पत्रमार्फत अनशनमा बसेका होनहार युवाको जीवन रक्षा गर्न र स्वास्थ्य स्थिति बिग्रन नदिन अविलम्ब अनशन तोड्न सहयोगको अपेक्षा गर्दै अभियानले उठाएका सनातन हिन्दू राष्ट्र नेपाललगायतका विषयमा संवाद चालु रहने पनि विश्वास दिलाएका छन् ।

राष्ट्रिय हिन्दू युवा मञ्चले संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने, गौहत्या बन्द गर्नुपर्ने र धर्म परिवर्तन कानुनतः बन्द हुनुपर्नेलगायत नौबुँदे माग राखी अनशन बस्दै आएका थिए ।

राष्ट्रिय हिन्दू युवा मञ्चले प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट अनशन तोड्नका लागि आधिकारिक पत्र प्राप्त भएकाले सरकारको वचनबद्धतालाई विश्वास गर्दै धर्मगुरु र धार्मिक संस्थाको समुपस्थितिमा अनशन बुधबारबाट स्थगित गरेको अनशनरत चारै युवाद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

अनशनकारी चारै जनाले अनशन तोड्दै सरकारले आफ्ना माग पूरा गर्ने विश्वास व्यक्त गर्दै यदि त्यसो नभए सनातन हिन्दू राष्ट्र कायम गराउनका लागि सडक सङ्घर्ष गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण