गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसंविधान सपना साकार

संविधान सपना साकार

September 17, 2015२४५ पटक
संविधान पारित भएपछि संविधानसभामा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु। तस्बिर : दिपेश श्रेष्ठसंविधान पारित भएपछि संविधानसभामा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु। तस्बिर : दिपेश श्रेष्ठ
काठमाडौं- संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पारित गरेको छ। संविधान पारितसँगै नेपाली जनताको संविधानसभाबाट संविधान बनाउने ६५ वर्ष पुरानो सपना साकार भएको छ। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बुधबार राति ८ बजेर ५९ मिनेट जाँदा नेपालको संविधान पारित भएको घोषणा गरेका थिए। नयाँ संविधान पारित भएको घोषणा हुँदा सभासदहरूले धेरै बेरसम्म ताली बजाएर खुसी प्रकट गरेका थिए।
संविधान पारितपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खुसीले उठेर सबैतिर हात हल्लाएपछि संविधानसभाका सबै सदस्यले उठेर धेरै बेरसम्म ताली बजाएर संविधानको स्वागत गरेका थिए।
संविधान पारित गर्ने प्रस्तावको विपक्षमा मतदान गरेको राप्रपा नेपालका सभासद पनि संविधान पारित भएपछि खुसीले धेरै बेरसम्म ताली बजाउँदै अन्य दलका सभासदसँग उभिएका थिए।

बुधबार राति बसेको संविधानसभा बैठकले नेपालको संविधानको विधेयक बहुमतले पारित गरेको थियो। नेपालको संविधान ३५ भाग र ३ सय ८ धाराको बनेको छ।

नेपालको संविधानको परिमार्जित विधेयकमा ३७ भाग रहे पनि विभिन्न आयोग रहेका भागलाई जोडेर ३५ भाग बनाइएको छ भने आयोग थप गरिएपछि संविधानका धारा बढाइएको छ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग छुट्टाछुट्टै भागमा राखिएको थियो। तर संशोधन गरेर पछि थप गरिएको चारवटा आयोग समेत रहने गरी एउटै भागमा कायम गरिएको छ।

संविधानसभा नियमावलीमा संविधानसभामा कायम सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतले संविधान पारित गर्ने व्यवस्था थियो।

६ सय १ जनाको संविधानसभा हुने व्यवस्था भए पनि सरकारका तर्फबाट २ जना मनोनीत गर्न बाँकी छ भने राप्रपाका नेता सूर्यबहादुर थापाको निधनपछि उनको स्थान रिक्त छ।

संविधानसभामा हाल कायम सदस्य संख्या ५ सय ९८ रहे पनि बुधबारको बैठकमा ५ सय ३२ जना उपस्थित थिए। ६६ जना सभासद अनुपस्थित थिए। बहिष्कार गरेका राजनीतिक दल बाहेकका पनि ८ सभासद अनुपस्थित थिए।

संविधानसभा बैठकमा नेपालको संविधानको परिमार्जित विधेयक पारित गरियोस् भन्ने मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौलाले प्रस्ताव पेस गरेका थिए। प्रस्तावको पक्षमा ५ सय ७ र विपक्षमा २५ मत परेको थियो। मत विभाजनका आधारमा निर्णय गरिएको थियो।

संविधानसभाको हाल कायम संख्याको ८४.७८ प्रतिशत र बुधबार उपस्थित संख्याको ९५.३ प्रतिशतले नेपालको संविधान पारित गरिएको हो। पारित संविधान असोज ३ गते साँझ ५ बजे राष्ट्रपति रामवरण यादवले हस्ताक्षरसहित जारी भएको घोषणा गर्नेछन्।

त्यसअघि संविधानका भाग, धारा, सुधार नगरी नहुने शब्द र आनुसंगिक मिलाउन संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको नेतृत्वमा समिति गठन गरिएको छ।

समितिमा मस्यौदा समिति सभापति सिटौला, एमाले प्रमुख सचेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेल र राप्रपा नेपालकी कुन्तीकुमारी शाही सदस्य छन्।

समितिमा बिहीबार बिहान ११ बजेसम्म नमिलाई नहुने विषयमा लिखित निवेदन दिनका लागि सभासदहरूलाई आग्रह गरिएको छ। समितिले बिहीबार दिउँसो ३ बजेसम्म सबै शब्द र आनुसंगिक मिलाएर संविधानको प्रति सभाध्यक्षलाई बुझाउनेछ।

संविधानको प्रतिमा प्रत्येक सभासदले हस्ताक्षर गर्नुपर्ने नियमावलीमा व्यवस्थाअनुसार असोज १ गते शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म संविधानसभा भवनमा रहेको ल्होत्से हलमा हस्ताक्षर गरिने भएको छ।

असोज २ गते संविधानसभा अध्यक्षले प्रमाणीकरण गरेपछि असोज ३ गते राष्ट्रपति यादवले संविधानसभा भवन नयाँ बानेश्वरमा हुने विशेष समारोहमार्फत संविधान जारी भएको घोषणा गर्नेछन्।

संविधानसभा बैठकमा सभाध्यक्ष नेम्वाङले बुधबार बेलुका ७ बजेर ३ मिनेट जाँदा नेपालको संविधानको नाम र प्रारम्भ हुने मिति घोषणा गरेका थिए। यसै समयमा उनले संविधानका सबै धारा र प्रस्तावना पारित भएको घोषणा समेत गरे।

‘संविधानको नाम ‘नेपालको संविधान’ रहनेछ,’ नेम्वाङले भने, ‘यो नयाँ संविधान असोज ३ गतेदेखि प्रारम्भ हुनेछ।’ नेम्वाङले यसरी घोषणा गर्दा संविधानसभाको हलमा रहेका सभासदहरूले लामो समयसम्म ताली बजाएर खुसी प्रकट गरेका थिए।

आइतबार बेलुका संविधानका धारा पारित गर्न सुरु गरिएको थियो। पहिलो दिन ३ वटा मात्रै धारा पारित गरिएको थियो। सोमबार ५४, मंगलबार १ सय १९ र बुधबार प्रस्तावनासहित १ सय ३२ धारा पारित गरियो।

नयाँ संविधानमा ७ प्रदेश कायम गरिएको छ। नयाँ संविधान पारितसँगै नयाँ सरकार, राष्ट्रपति र सभामुख चयनका लागि पनि बाटो खुलेको छ। नयाँ संविधानको संक्रमणकालीन व्यवस्था पारितसँगै यो बाटो खुलेको हो।

संविधानको धारा २९० मा लेखिएको छ, ‘यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेनछ भने राष्ट्रपतिले यो संविधान प्रारम्भ भएको मितिले सात दिनभित्र व्यवस्थापिका संसदको अधिवेशन आह्वान गर्नेछ।’

त्यसैगरी यो संविधान प्रारम्भ हुँदाका वखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेछ भने संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको रहेनछ भने धारा २९० बमोजिम संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुने व्यवस्था गरिएको छ। सहमति हुन नसके बहुमतका आधारमा प्रधानमन्त्रीको चयन हुनेछ।

त्यसैगरी राष्ट्रपति निर्वाचनका सम्बन्धमा भने संसदको अधिवेशन चलिरहेको अवस्थामा प्रारम्भ भएको मितिले र चलिरहेको रहेनछ भने आह्वान भएको मितिले एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ। सभामुख र उपसभामुखको व्यवस्था पनि संसदको चलेको अवस्थामा २० दिनभित्र गरिसक्नुपर्नेछ।

अब असोज दोस्रो साता प्रधानमन्त्री, असोज अन्तिम साता सभामुख र कात्तिक पहिलो साता राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन गरिनेछ।

त्यसैगरी नेपालको संविधानको धारा २६४ मा कुनै पनि राजनीतिक दलको पदाधिकारी पाँच वर्षभित्र चयन हुन नसके ६ महिनाभित्र सकिने गरी विधानमा व्यवस्था गर्न सकिने व्यवस्था गरिएको छ। संकटकालीन अवस्थाजस्तो महŒवपूर्ण धारा पनि बुधबार नै पारित भएको छ।

फोटो सेसनमा तँछाडमछाड

नयाँ संविधान पारित भएको क्षणमा संविधानसभा भवन नयाँ बानेश्वरमा शीर्ष नेतासहित सभासदहरूले निकै बेर फोटो सेसनमा बिताए।

मतविभाजनमा आफ्नो मत दिएर फर्किएका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग फोटो खिचाउन सभासदको भिड नै लाग्यो। कांग्रेस, एमाले, एमाओवादीसहित साना दलका सभासद पनि उनीहरूसँग फोटो खिचाउन व्यस्त थिए।

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सँगै र छुट्टाछुट्टै धेरै बेर फोटो खिचाउँदै एकआपसमा खुसी प्रकट गरेका थिए।

५५ सभासद लगातार १० पटक अनुपस्थित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका ५५ सभासद संविधानसभा बैठकमा लगातार अनुपस्थित भएका छन्।

अनुपस्थित हुन नसकेको सूचना सभाध्यक्षलाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ। सोहीअनुसार प्राप्त ५५ सभासदको अनुपस्थिति सूचना संविधानसभाको बुधबारकै बैठकले स्वीकृत गरेको थियो।

संविधानसभाको अन्तिम बैठक असोज ३ गते बस्नेछ।

प्रक्रियामा सहभागी राजनीतिक दल

नेपाली कांग्रेस – २०७

नेकपा एमाले – १८३

एकीकृत नेकपा माओवादी – ८४

राप्रपा नेपाल – २५

राप्रपा – १३

नेकपा माले – ५

नेमकिपा – ४

राजमो – ३

नेकपा संयुक्त – ३

जनमुक्ति पार्टी – २

परिवार दल – २

अखण्ड नेपाल – १

खम्बुवान राष्ट्रिय मोर्चा – १

नेपा राष्ट्रिय पार्टी – १

दलित जनजाति पार्टी – १

जनजागरण पार्टी – १

समाजवादी जनता पार्टी – १

नेपाली जनता दल – १

मधेस समता पार्टी– १

स्वतन्त्र – १

जम्मा ५४०

बहिष्कार गर्ने

संघीय समाजवादी फोरम नेपाल – १५

फोरम लोकतान्त्रिक – १४

तमलोपा – ११

सद्भावना – ६

तमसपा – ३

रामसपा – ३

थरुहट – २

बहुजन जनता पार्टी – १

गणतान्त्रिक – १

संघीय सद्भावना – १

स्वतन्त्र : १

जम्मा : ५८

nagariknews.com
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण