गृहपृष्ठ » समाचारहरुसंविधानको स्वागत भव्य गर्ने तयारी

संविधानको स्वागत भव्य गर्ने तयारी

September 17, 2015२०२ पटक

काठमाडौं- प्रमुख राजनीतिक दलहरूले असोज ३ गते नयाँ संविधान जारी गरेपछि त्यसको स्वागत भव्य रूपमा गर्ने तयारी थालेका छन्। सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमालेले बुधबार संविधान जारीपछि स्वागतका लागि दीपावली गर्न आग्रह गर्दै विज्ञप्ति निकालेका छन्। दुवै दलले संविधान जारी हुने दिनलाई ‘मुलुकको इतिहासमा एकपटक मात्रै आउने विशेष दिन’ भन्दै स्वागत गर्न आह्वान गरेका हुन्।

नेकपा एमालेका तर्फबाट महासचिव इश्वर पोखरेलले ‘संविधान जारी हुने दिन मुलुकको समग्र जीवनकै सफल दिनका रूपमा स्थापित गरेर नयाँ संविधानको स्वागत गर्न सबैमा आह्वान गरेका छन्। ‘त्यसनिम्ति सिंगो पार्टीपंक्ति र आम जनसमुदायले यस दिनलाई विशेष दिनका रूपमा मनाउन आवश्यक छ,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एमालेले आइतबार साँझ घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा साँझ दीपावली र सोमबार राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग मिलेर संविधानको स्वागतमा कार्यक्रम गर्न स्थानीय कमिटीलाई निर्देशन दिएको छ।

एमालेले नयाँ संविधान समाजवादतर्फको प्रस्थान विन्दु भएको पनि जनाएको छ। ‘संविधानको घोषणा तमाम शोषित, पीडित, मजदुर तथा पेसाकर्मी, किसान, उद्यमी–व्यवसायी, बुद्धिजीवी, महिला, युवा, विद्यार्थी, विभिन्न जात–जाति, दलित, उत्पीडित, मधेसी, मुस्लिम, थारू तथा सम्पूर्ण अल्पसंख्यक समुदाय लगायत विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने आम नेपालीको ऐतिहासिक विजयको घोषणा हो,’ विज्ञप्तिमा भनिएको छ।

सत्तारूढ दल एमालेले काठमाडौं उपत्यकासहित सबै स्थानमा संविधान घोषणा गरेको अवसरमा कार्यक्रम आयोजना गर्न सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेसले ‘राष्ट्र इतिहासमा एकपटक मात्रै आउने यो अवसरलाई विजय र खुसियालीका साथ घरघरमा दीपावली गरी विजयोत्सवका रूपमा मानाउन’ सबैमा आह्वान गरेको छ।

कांग्रेस मुख्य सचिव ऋषिकेश गौतमले जारी गरेको विज्ञप्तिमा ‘मुलुकको विद्यमान सबै खाले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक द्वन्द्वलाई निकास दिने अवसर यो संविधानले उपलब्ध गराएको’ उल्लेख छ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले संविधान जारी भएको एक सातासम्म विविध कार्यक्रम गरेर संविधानको स्वागत गर्ने भएको छ। ‘नेपाली जनताको सात दशकदेखिको सपना पूरा भएको छ, हामी संविधानको स्वागतमा सातदिने कार्यक्रम आयोजना गर्नेछौं,’ महासचिव राजीव पहारीले भने।

यसैगरी अनेरास्ववियुले पनि संविधानको स्वागतमा बिहीबार क्याम्पसहरूमा स्वागत कार्यक्रम आयोजना गर्ने सचिवालय सदस्य अशेष घिमिरेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण