गृहपृष्ठ » फोटो ग्यालरी, मुख्य समाचार, राजनीतिओलीलाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले बल नगर्ने

ओलीलाई प्रधानमन्त्री बनाउन नेपाल पक्षले बल नगर्ने

August 6, 2015६५३ पटक

फेरि बिग्रियो केपी र माधवको सम्बन्ध

२१, साउन काठमाडौं । नवौं महाधिवेशनपछि बिस्तारै सुध्रिन थालेको एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालको सम्बन्ध फेरि बिग्रिएको छ । पार्टीभित्र ओलीले एकलौटी निर्णयहरु गरेको भन्दै नेपाल पक्षले राष्ट्रिय प्रतिनिधि परिषदको भेला बोलाउन दबाव दिने रणनीति बनाएको छ ।

केही दिनअघि नयाँ बानेश्वरको अर्याल होटलमा माधव नेपाल पक्षका नेताहरुको भेला आयोजना गरिएको थियो । त्यसयता कैयौंपट विभिन्न ठाउँमा यस्ता गोप्य भेलाहरु भइसकेका छन् ।

अर्याल होटलमा आयोजित भेलाले युवा संघको विवाद तत्काल नमिलाए चाँडै समानान्तर कमिटी बनाउने निचोड निकालेको स्रोतले बतायो । त्यसैगरी अखिलको आशन्न सम्मेलनमा आफ्नो पक्षको बर्चश्व कायम गर्न पहल गर्ने निर्णय पनि नेपाल पक्षका नेताहरुले गरेका छन् ।

ओलीलाई प्रधानमन्त्री बनाउन बल नगर्ने

नेपाल पक्षको भेलाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन जोड नदिने रणनीतिसमेत बनाएको बुझिएको छ । ‘आफ्नै बलबुँताले प्रधानमन्त्री बन्छन् भने अवरोध गरिँदैन, तर बनाउनकै लागि जोड नगर्ने हाम्रो समझदारी छ,’ एमालेको उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पार्टीभित्रका हरेक निर्णयहरुमा एकलौटी गर्दै आउनुभएकाले प्रधानमन्त्री भएपछि पनि यो प्रक्रिया रोकिने हामीलाई विश्वास छैन ।’

त्यसो त नवौं महाधिवेशनमा पराजित भएका नेता नेपालले अहिलेसम्म केपी ओलीलाई सहयोग गर्ने बताउँदै आएका थिए । दुबै नेताले सार्वजनिक कार्यक्रममै हात मिलाएर आपसी विवाद सकिएको घोषणा गर्दा कार्यकर्ताहरुमा उत्साह छाएको थियो ।

पछिल्लो समयमा राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने जिम्मेवारी अध्यक्ष ओलीले नेता नेपाललाई नै दिएका थिए । ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्छ भन्दै नेता नेपालले अन्य पक्षहरु केही समय छलफल पनि चलाएका थिए । तर, कतिपय नियुक्तिहरुमा ओली पक्षले एकलौटी गरेको भन्दै नेता नेपाल एक्कासी पछि हटेको स्रोतले अनलाइनखबरलाई बतायो ।

पार्टीभित्र संस्थागतरुपमा निर्णयहरु नगरिएको र गुटका आधारमा पार्टी चलाउन खोजिएको भन्दै नेपाल पक्षले तत्काल राष्ट्रिय प्रतिनिधि परिषदलाई सक्रिय गराउन देशव्यापी दबाव अभियान थाल्ने रणनीति तय गरेको स्रोतले बतायो ।

यसबारे केन्द्रीय स्तरमा गरिएका आन्तरिक भेलाहरु अब क्षेत्र, अञ्चल र जिल्ला तहमा समेत विस्तार गरिने नेपाल पक्षका एक नेताले अनलाइनखबरलाई बताए ।

त्यसो त अध्यक्ष ओली पक्षले पनि देशव्यापी गुटबन्दीलाई निरन्तरता दिन छाडेको छैन । तर, ओलीको गुट नदेखिने किसिमको हुने गरेको एमालेका नेताहरुको अनुभव छ ।

नेपाल पक्षका नेताले भन्छन्- ‘पार्टी आफैं मदन भण्डारीको सिद्धान्तबाट परिचालित हुँदाहुँदै अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुटको भेला र समानान्तर कमिटीहरु चलाइरहनुभएको छ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण