आजदेखि दोस्रो संविधानसभा अन्त्य हुने
काठमाडौं, ३ असोज । दोस्रो संविधानसभा आजदेखि अन्त्य हुने भएको छ । नेपालको संविधान २०७२ पारित गरेको संविधानसभा ५ बजे हुने औपचारिक विशेष कार्यक्रमको समापनसँगै अन्त्य हुनेछ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार दोस्रो संविधानसभा आजदेखि अन्त्य भइ आफूलाई व्यवस्थापिका संसदमा परिवर्तन गर्ने बताउनुभयो ।
अपरान्ह पाँच बजेको औपचारिक कार्यक्रमपछि संविधानसभाको हैसियतमा कुनै पनि निर्णय या बैठक हुने छैनन् । तर व्यवस्थापिका संसदको हैसियतमा भने सबै जिम्मेवारी र काम गरिनेछ ।
पहिलो संविधानसभा एकीकृत माओवादीका नेता तथा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान नबनाइ विघठन गर्नुभएको थियो । त्यसपछि दुई वर्षअघि दोस्रो संविधानसभा निर्वाचन भएको थियो ।
दोस्रो चुनावमा एमाओवादी पहिलो पार्टीबाट तेस्रोमा झरेको थियो । एमाले तेस्रोबाट दोस्रोमा उक्लिएको थियो भने कांग्रेस दोस्रोबाट पहिलो पार्टी बन्न सफल भएको थियो ।