प्रहरीको गोलीले १ को मृत्यु, १५ जना घाइते
वीरगञ्ज, असोज ३ – वीरगंजमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जना प्रदर्शकारीको ज्यान गएको छ । कर्फ्यु तोडेर संविधानको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेकाले गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।
ज्यान गुमाउनेमा पकाहा मैनपुरका सत्रुघन पटेलको ज्यान गएको हो । गीतारोडमा प्रदर्शनका क्रममा घाइते भएका पटेलको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा ज्यान गएको थियो ।
प्रहरीको गोली लागेर २ जना तथा लाठी चार्चबाट १३ जना घाइते भएका छन् । संविधानको विरोध गर्दै वीरगंजमा प्रदर्शनकारीले माइस्थान, घण्टाघर, गीतामन्दिर रोडमा प्रदर्शन चर्काएका छन् । त्यहाँ अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच तनाव छ ।