संविधान आएको खुसीयालीमा रात्रिभोज
४ असोज, काठमाडौं । छुट्टाछुट्टै भोजको व्यवस्था संविधान जारी भएको अवसरमा सचिवालयले भवन परिसरमा रात्रिभोज दियो । चारवटा काउन्टरमा खानाको व्यवस्था गरिएको थियो ।
काउन्टर ‘क’मा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका पदाधिकारी, कूटनीतिक नियोगका सदस्य थिए । काउन्टर ‘ख’ सभासद्, पूर्वसभासद्, सचिवहरू, विशिष्ट श्रेणीका कर्मचारीका लागि छुट्याइएको थियो ।
काउन्टर ‘ग’मा भने निमन्त्रणा कार्डमा क, ख, ग र ङ उल्लेखितहरू, सचिवालयका कर्मचारी, पत्रकारहरू थिए भने काउन्टर ‘घ’ मर्यादापालक, पिएसओ, सुरक्षाकर्मी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी र चालकहरूका लागि छुट्याइएको थियो । भोजमा विदेशीदेखि स्वदेशी पाहुना गरी करिब दुई हजार सहभागी भएको नयाँ पत्रिकामा खबर छ ।
आ–आफ्नै भेषभूषामा सभासद्
सभासद् आ–आफ्नो जातीय भेषभूषामा सजिएर संविधानसभा पुगेका थिए । उनीहरू मिडियाका लागि पनि आकर्षणको केन्द्र बनेका थिए । थकाली भेषमा आएकी श्रीमाया थकाली, शेर्पा भेषमा आएका कृपासुर शेर्पा, नेवारी भेषमा आएकी रूपा महर्जनलगायतका सभासद्को धेरै समय तस्बिर लिनेसँगै बितेको थियो ।