गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारदेवालयजस्तो संविधान-भवन

देवालयजस्तो संविधान-भवन

September 21, 2015१७९ पटक

देवालयजस्तो संविधान-भवन
काठमाडौं- आँगनभरि सयपत्री, वरिपरि स्वस्तिक चिह्न अंकित घडा। कुनै देवालयको रौनकभन्दा कम थिएन नयाँ बानेश्वरस्थित संविधानसभा भवन। सात सालदेखिको नेपाली सपना पूरा हुँदै गर्दा त्यहाँ जम्मा भएका सर्वसाधारणको अनुहार उल्लासमय देखियो।

दमकबाट अध्ययनको सिलसिलामा राजधानी आएका सन्तोष न्यौपाने संविधानसभा भवन परिसरको बाटो हँुदै थुपै्रपटक हिँडे। तर आइतबार पहिलोपटक यो भवनप्रति श्रद्धा महसुस भएको उनले सुनाए। ‘यही भवनबाट सात सालदेखिको नेपालीको सपना पूरा हँुदैछ,’ उनले भने, ‘यो भवनअगाडि आउँदा अब मलाई गर्व महसुुुुस हुन्छ।’

देवालयजस्तो संविधान-भवन

शिरमा ढाका टोपी लगाएर दुवै हातमा नेपाली झन्डा फहराउँदै हिँडेका न्यौपानेले अन्योल चिर्दै मुलुक समृद्धिको बाटोमा हिँँड्ने आशा व्यक्त गरे। संविधान बनेपछि के हुने भन्दा पनि नबन्दा मुलुकले दुःख झेलिरहेको उनको बुझाइ छ। ‘अब यसैका नाममा अनाहक हत्या र हिंसा मुलुकले बेहोर्नेछैन,’ आइतबार दिउँसो उनले नागरिकसँग भने, ‘यही आशाको दियो बालेर साँझ दीपावली गर्नेछु।’ गणतन्त्र घोषणा क्रममा संविधानसभा भवनअगाडि यसैगरी आएका न्यौपानेलाई आइतबार त्योभन्दा सयौं गुणा बढी खुसी लागेको छ।

उनीजस्तै विचार राख्ने संविधानसभा भवन वरिपरि थुप्रै भेटिए। राजधानीमा बस्ने विभिन्न जिल्लाका सर्वसाधारण संविधानसभा भवन अगाडि नयाँ संविधानको स्वागतका लागि तम्तयार भएर उभिएका थिए। संविधानको स्वागतमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लाबाट आएका उनीहरूको एउटै साझा भनाइ थियो, ‘शान्ति र स्थिरताका लागि संविधान अपरिहार्य छ।’

भक्तपुर सानो ठिमीबाट एक घन्टा पैदल यात्रा गरी नयाँ बानेश्वर आएका मनलाल जैसीले संविधानले जनतामा वर्षौंदेखिको निराशालाई आशामा परिणत गरेको सुनाए। ‘संविधान कहिले आउला भन्ने थियो,’ उनले भने, ‘आज साँच्चिकै संविधान आएको छ।’ उनले संविधानसभा भवन आफ्ना लागि साँच्चिकै आकर्षक र चहकिलो रहेको सुनाए।

संविधान जारीसँगै संविधानसभा भवनको मात्र होइन सभासद, राजनीतिक दल र राजनीतिप्रति जनताको विश्वास बढेको छ। समयमै जिम्मेवारी पूरा नगरी राजनीतिक स्वार्थमा लागेको भन्दै गाली गर्दै आएका धेरैको प्रतिक्रिया थियो, ‘मुख्य मुख्य दलमा अनेक कमजोरी थिए तर संविधान निर्माणसँगै उनीहरूप्रति फेरि आशा पलाएको छ।’

‘दल र नेताहरूकै कारण यतिका वर्ष देश संक्रमणकालबाट गुजि्रयो,’ जैसी भन्छन्, ‘संविधानको घोषणासँगै अब उनीहरूको ‘सय खुन माफ’ जस्तै भएको छ।’ बेमेलको राजनीतिले अस्थिरतातर्फ लैजाने नेताहरूले नै देशलाई अब समृद्धिको बाटोमा लैजाने उनको अपेक्षा छ। ‘यो एकता संविधानजस्तै दिगो बनोस्,’ उनले भने, ‘तबमात्र देशको कायापलट हुनेछ।’

आइतबार दिउँसो संविधानसभा भवन नियाल्दै गरेका नारायण पुरी कोरिया जान इपिएस परीक्षामा सहभागी भएर भर्खर आएका हुन्। नयाँ संविधानले युवालाई रोजगारीको अवसर सिर्जना गरे उनी कोरिया सपना मार्न तयार छन्। ‘यो भवनले मलाई देशमै काम गर्न सक्ने वातावरण सिर्जना गर्न सक्छ भन्ने आशा लिएको छु,’ उनले भने, ‘त्यसैले आज म निकै खुसी छु।’

लमजुङबाट राजधानी आएका ७२ वर्षीय नारायण बास्तोलाले संविधानको सपना देखेको थुप्रै वर्ष भयो। यसैका लागि उनी पञ्चायतकालमा धेरै वर्ष जेल पनि बसे। आइतबार उनको मुहारमा खुसी छाएको छ। ‘सबै नेपालीले आआफ्नो तहबाट गरेको मेहनतको नतिजाजस्तो लाग्छ यो संविधान,’ संविधानसभा भवन नियाल्दै उनले भने, ‘आज यो पवित्र भवनको अगाडि उभिँदा गर्व लाग्छ।’

जुम्लाबाट राजधानी आएका सिंहवीर सिकर्मीका अनुसार उनलाई संविधानको कुन धारामा के छ थाहा छैन। उनी भन्छन्, ‘तर मलाई अब देश शान्तिको बाटोमा हिँड्छ भन्ने विश्वास छ।’

राजधानीमा बस्दै आएका कञ्चनपुरका ७६ वर्षीय दामोदर बम बुढेसकालमा भए पनि नयाँ संविधान देख्न पाएको भन्दै हर्षित छन्। ‘ढिलै भए पनि आयो,’ उनले भने, ‘नातिनातिनाको भविष्य राम्रो होला भन्ने आशा छ।’

कामको सिलसिलामा राजधानीमा बस्दै आएका जनकपुरका धनिराम मण्डल भने आइतबार साँझ संविधानसभा भवन परिसर ध्यानपूर्वक हेर्दै थिए। ‘संविधान आउँछ भन्ने थाहा छ,’ उनले भने, ‘कस्तो आउँछ त्योचाहिँ थाहा छैन।’ संविधानका कारण तराईमा बन्द रहेको थाहा भए पनि के विषयमा विवाद रहेको भन्ने थाहा नभएको उनले सुनाए। ‘हामी त काम गरेर खाने मान्छे, केही थाहा छैन,’ उनले भने, ‘सबैलाई शान्ति मिल्ने संविधान आए राम्रो हुन्छ।’

रोजगारीका लागि राजधानीमा बस्दै आएका कञ्चनपुरका महेश बम हरेकपल्ट घर फर्कंदा दसैंका लत्ताकपडा र अन्य सामग्री लिएर फर्कन्थे। यसपल्ट उनको झोलामा नौलो कुरा थपिनेछ। ‘दसैंमा खसी होइन, एक थान संविधान घर लिएर जानेछु,’ उनले हाँस्दै भने, ‘यो सधैंभरिका लागि देशले दिएको कोसेली पनि हो।’nagariknews.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण