गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसुस्वागतम् संविधान (प्रकाशकीय)

सुस्वागतम् संविधान (प्रकाशकीय)

September 21, 2015२०२ पटक

सुस्वागतम् संविधान (प्रकाशकीय)

संविधानसभाले भव्य समारोहबीच नेपालको संविधान जारी गरेसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। यो पुनित अवसरमा हामी संविधान निर्माणको गुरुत्तर दायित्व निर्वाह गर्ने सम्पूर्ण सभासदलाई बधाई दिन चाहन्छौं। यो महान् अभिभारा पूरा गर्ने क्रममा राजनीतिक नेताहरूले देखाएको सुझबुझका निम्ति पनि हामीले साधुवाद भन्नुपर्छ।

यो संविधानका निम्ति मुलुकले चुकाएको मूल्य कुनै अर्थमा पनि कम छैन। निःसन्देह यसनिम्ति राष्ट्रिय ढुकुटीको ठूलो अंश खर्च भएको छ। त्योभन्दा पनि बढी हजारौंले जीवन उत्सर्ग गरेका छन्। प्रत्येक नागरिकले मुलुकमा आएको परिवर्तनसँगै शान्ति, स्थिरता र उन्नतिका निम्ति पलपल प्रतीक्षा गरेका छन्। नेपालीले समृद्ध मुलुकका निम्ति देखेको सपना अब पूरा हुनेछ भन्ने आशा हामीलाई छ।

जनआन्दोलन २०६२/६३ को सफलतासँगै स्थापना भएको नेपाल रिपब्लिक मिडियाले यो परिवर्तनलाई स्थापनाकालदेखि नै आत्मसात गर्दै आएको छ। यसका प्रकाशन नागरिक, रिपब्लिका, साप्ताहिक र अनलाइन संस्करणहरू त्यसयताका प्रत्येक घटनाका साक्षी बनेर रहेका छन्। परिवर्तनका पदचापलाई समयमै बुझेर हामीले ती घटनालाई तथ्यपरक ढंगले जनमानसमा पस्कँदै आएका छौं।

हाम्रा प्रकाशन मुलुकको पछिल्लो परिवर्तनसँगै जन्मिएका भए पनि जनआन्दोलन २०४६ ले ल्याएका प्रजातान्त्रिक परिवर्तन र प्रेसका अभ्याससँग हाम्रो समाचार कक्षका सदस्य र व्यवस्थापन जोडिएर आएका छन्। ती अनुभवले सम्पुष्ट गरेकै कारण मुलुकका प्रत्येक घटनालाई हामीले साक्षीभावले हेर्ने मात्र होइन बेलाबेलामा यथोचित गन्तव्यका निम्ति सल्लाह पनि दिँदै आएका छौं।

हाम्रा प्रकाशनमार्फत हामीले निरन्तर मुलुकको स्थिरताका निम्ति संविधान लेखन पूरा हुन र जारी हुन आवश्यक भएको धारणा व्यक्त गर्दै आयौं। जीवन्त प्रजातान्त्रिक अभ्यास भएको कुनै पनि मुलुकमा सबै विषयमा शतप्रतिशत स्वीकारोक्ति हुन सक्दैन। तर बहुमतको निर्णयलाई अंगीकार गर्ने अभ्यास र चरित्रको विकास हुँदै जानुपर्छ। आफूलाई चित्त नबुझेका विषयलाई अघि बढाउँदै बहुमतको निर्णयलाई आत्मसात गर्नै पर्ने हुन्छ। अन्यथा खेलको नियम परिणामसँग तर्सिएर बीचैमा छाडेजस्तो हुन्छ।

एकात्मक शासन व्यवस्था भएको मुलुक संघीयतामा जाँदा, हिन्दू राष्ट्र धर्मनिरपेक्ष हुँदा र समावेशी चरित्रको शासन व्यवस्था मुलुकले अवलम्बन गर्दा हामीलाई कहिल्यै अप्ठेरो महसुस भएन। सीमान्त समुदायलाई अगाडि बढाउन राज्यले लिने यस्ता नीतिहरूप्रति हाम्रो विश्वास रहिआएको छ।

मुलुक संघीयतामा जाने निर्णय हुनासाथ हामीले हाम्रा प्रकाशनका क्षेत्रीय संस्करणहरूको थालनी गरिसकेका छौं। तदनुकूल नै नागरिकका पूर्वेली र पश्चिमेली संस्करण क्रमशः विराटनगर र नेपालगन्जबाट प्रकाशित हुँदै आएका छन्। हामी आगामी दिनमा स्थानीय अभ्यास र आकांक्षालाई हाम्रा प्रकाशनमार्फत प्रस्तुत गरी संघीयताको अभ्यासमा थप सहयोगी बन्न तत्पर छौं। त्यतिमात्र होइन अहिले संविधान जारी गर्ने क्रममा तराई–मधेसमा देखिएका असन्तुष्टिको निदानका निम्ति पनि हाम्रो सकारात्मक योगदान रहनेछ।

यो मुलुकले झन्डै सात दशकदेखि देखेको राजनीतिक सपना अब पूरा हुनुपर्छ। निरन्तरको राजनीतिक अस्थिरताबाट कुनै पनि मुलुक अगाडि बढ्न सक्दैन। अधिकारमुखी आन्दोलनहरू योबीचमा धेरै भइसकेका छन्। एउटा सभ्य प्रजातान्त्रिक मुलुकका नागरिकलाई प्राप्त हुने सबै मौलिक अधिकार नेपाली नागरिकलाई प्राप्त भएका छन्।

यो स्वतन्त्रता र उन्मुक्ति अब आर्थिक क्रान्तिका निम्ति प्रयोग हुनुपर्छ। आखिर हामीले अपनाउन खोजेको संघीयताको अभ्यास आ–आफ्ना क्षेत्रमा आफैंले विकास गर्नका निम्ति हो। शासन केन्द्रले मात्र चलाउँदा हाम्रा आकांक्षा पूरा भएनन् भन्ने भएर नै हामी अहिलेको राजनीतिक परिवर्तनसम्म आइपुगेका हौं।

आर्थिक उन्नतिबेगर कस्तै राम्रो व्यवस्था पनि चल्दैन। आर्थिक उन्नतिले मात्र नागरिक अपेक्षा पूरा हुन्छन्। भोकानांगा नागरिक राखेर न त्यहाँ मानवअधिकारको रक्षा हुन्छ न मुलुककै इज्जत। संविधान जारी भएको यो क्षणमा हामी मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजान राजनीतिक नेतृत्व र संस्थासँग हार्दिक आग्रह गर्छौं। संविधानको हामी हृदयतलबाट स्वागत गर्छौं।nagariknews.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण