गृहपृष्ठ » बिचार/ब्लगजनजाति र कम्युनिष्टले पनि हिन्दुत्वको संरक्षण गर्नुपर्छ

जनजाति र कम्युनिष्टले पनि हिन्दुत्वको संरक्षण गर्नुपर्छ

August 6, 2015३५८ पटक

रमेश घिमिरे
शासनमा राज्यको कुनै धर्म नहुने र राज्य सबै धर्मावलम्बीको साझा भए पनि नेपालमा देखिएको विशिष्ट परिस्थितिमा हिन्दूवादीले उठाएको चासोलाई गम्भीरतापूर्वक विचार गर्नु जरुरी देखिएको छ । जनजाति नेता र माओवादी नेता हिन्दू धर्मको विरोधमा छन् । उनीहरुले हालसम्मको राज्य व्यवस्था र सत्ताको सन्दर्भमा हिन्दू, ब्राहमण, क्षत्री र राज्यसत्तालाई पर्यायवाची मानेका छन् । हिन्दुत्वलाई कमजोर पारेपछि जातीय राज्यको अवधारणालाई स्थापित गर्न सकिन्छ भन्ने भ्रमपूर्ण बुझाइ उनीहरुमा रहेको छ ।

Ramesh-ghimireकम्युनिष्टहरु सिद्धान्ततः धर्म विरोधी हुन् । माओवादीले क्रिश्चियन धर्मप्रति सहानुभूति राख्नु र हिन्दूप्रति शत्रुभाव राख्नु कम्युनिष्ट चरित्रविपरीत हो । विविध गलत क्रियाकलापका कारण पश्चिमा मुलुकबाट आलोचित बनेको माओवादी छलछामको माध्यमबाट नजिक बन्न प्रयासरत रहेको छिपेको छैन । यो सहानुभूति प्रदर्शन पनि एउटा अस्त्र हो ।

नेपालको कानुनले स्वेच्छिक धर्म परिवर्तन गर्न छुट दिएको छ । क्रिश्चियन समुदायबाट हिंसा, डर र धम्कीको प्रयोगबिना नै प्रेम र स्नेहको माध्यमबाट हिन्दूलाई इसाई बनाएको सत्य हो । बालवालिका र चेतनास्तर कम भएका समुदायलाई चित्त बुझाएर धर्म परिवर्तन गराउनु उचित हो ?

नेपालमा धर्म परिवर्तन गर्नेमा अधिकांश बालबालिका र आर्थिक, सामाजिक, शैक्षिक रुपमा पिछडिएका दलित समुदाय छन् ।

क्रिश्चियन विस्तार अभियानमा सहयोग गर्नेले अप्रत्यक्ष रुपमा आर्थिक लाभ प्राप्त गरिरहेको पनि सत्य नै हो । पश्चिमा राष्ट्रले विश्वभर धर्म प्रचारका लागि ठूलो रकम बजेट विनियोजन गर्छन् । यसको अर्थ सोझै छ, जसरी ०४७ सालअघिका संविधान र कानुनले नेपाललाई हिन्दू राष्ट्र नभने पनि राज्य हिन्दू नै थियो, त्यसैगरी अहिले धेरै पश्चिमा कानुनमा नलेखे पनि क्रिस्चियन राज्य हुन् ।

जनजाति र माओवादीले मौलिक पहिचान र संस्कृतिको संरक्षण गर्नुपर्ने विषय चर्को रुपमा उठाउँछन् । नेपालको सबैभन्दा ठूलो मौलिक पहिचान त हिन्दुत्व हो । हिन्दूको विनाश चिताउनु र संस्कृतिको संरक्षण गर्न चाहन्छु भन्नु विरोधभाषपूर्ण हुन्छ । नेपालका सम्पूर्ण जनजाति, दलित, मधेशी, ब्राहमण क्षेत्रीको संस्कृति हिन्दू परम्परामा आधारित छ ।

माओवादीले क्रिश्चियन धर्मप्रति सहानुभूति राख्नु र हिन्दूप्रति शत्रुभाव राख्नु कम्युनिष्ट चरित्रविपरीत हो

राष्ट्रिय जनगणना २०६८ ले हिन्दूको संख्या ८१.३ प्रतिशत देखाएको छ । बौद्ध धर्मावम्बीको संख्या ९ प्रतिशत, किराँत धर्म ३.१ प्रतिशत, प्रकृति धर्म ०.५ र शिख ०.३ प्रतिशतले मान्दछन् । यी सबै धर्मावलम्बीको संस्कृति हिन्दू संस्कारमा आधारित छ । यसर्थ सांस्कृतिक रुपले हिन्दू धर्मले ९४.२ प्रतिशत जनसंख्यालाई समेट्छ ।

किराँत धर्म मान्ने लिम्बु समुदायले पारोहाङ सुम्निमाको रुपमा शिवपार्वतीको पूजा गर्छन् ।

मगर, गुरुङ, राई, थकाली, थारु, नेवार, सतार, यादव, राजवंशीलगायत प्रायः जातजातिको नाचगान, पर्व र कर्मकाण्ड महाभारत, रामायण र पुराणहरुको कथामा आधारित छन् । भगवान बुद्धलाई हिन्दूले विष्णुको नवौं अवतार मान्दछन् । दसैं प्रायः सबैजसो समुदायले मान्दछन् । तिहारमा भाइटीका नलगाउने समुदायले पनि लक्ष्मी पूजा गर्दछन् ।

हिन्दूले अन्य समुदायलाई जवरजस्ती आफ्ना चाड मान्न लगाएका होइनन् । मिथिलावासीले मान्दै आएको छठ पछिल्लो समय काठमाडौंका नेवारले समेत मान्न थालेका छन् । मधेशीको दबाबले त्यसो भएको होइन । जातीय विविधता रहेको नेपालमा आपसी सद्भाव कायम राख्दै सहकार्यलाई बलियो पार्न एकअर्काका संस्कृतिलाई स्वीकार गर्ने चलन पहिलेदेखि देखिंदै आएको छ ।

जनजाति र माओवादीले मौलिक पहिचान र संस्कृतिको संरक्षण गर्नुपर्ने विषय चर्को रुपमा उठाउँछन् । नेपालको सबैभन्दा ठूलो मौलिक पहिचान त हिन्दुत्व हो

नेपालमा मुश्लिमको संख्या ४.४ प्रतिशत रहेको छ भने इसाइको संख्या १.४ प्रतिशत रहेको छ । २०५८ सालमा ०.४५ प्रतिशत रहेका क्रिस्चियनको संख्या तीव्र वृद्धि भएको हो । विश्वमा सबैभन्दा बढी धर्म मान्ने इसाइ छन् । विश्वमा इसाई धर्मावलम्वीको संख्या ३३.७ प्रतिशत रहेको छ । दोस्रो ठूलो धर्म मुश्लिम हो, जुन १९.४ प्रतिशत मानिसले मान्दछन् ।

नेपाल र भारतमा प्रधानता रहेको हिन्दू धर्म विश्वमा १३.७ प्रतिशत मानिसले मात्र मान्दछन् । नेपालमा उत्पत्ति भएको बौद्ध धर्म मान्नेको संख्या विश्वमा ५.६ प्रतिशत रहेको छ । इण्डोनेसियामा बाली टापु छ, जुन हिन्दु नाम हो ।

जर्मनीमा संस्कृत विश्वविद्यालय रहेका छन् । थाइल्याण्ड, मौरिसस, श्रीलंकालगायत मुलुकमा हिन्दू धर्म विस्तार भएको छ । क्रिश्चियन र मुश्लिमजस्तो विश्वभर एउटै नियम हिन्दूमा लागू हुँदैन । ठाउँपिच्चे हिन्दूका पर्व, संस्कार, मान्यता फरक छन् ।

हिन्दू धर्म विश्वको सबैभन्दा पुरानो धर्म मानिन्छ तर यसको आधिकारिक प्रवर्तक छैनन् । सिन्धु नदीको किनारमा रहेका बासिन्दालाई हिन्दू भनिएको खोजकर्ताको भनाइ छ । इसापूर्व १५०० वर्षपहिले हिन्दू धर्मको विकास भएको अनुमान गरिएको छ ।

वेदव्यासले रचना गरेको भनिएका चार वेद र महाभारत हिन्दूका आदर्श ग्रन्थ मानिन्छन् । अनुसन्धानकर्ता वा तपस्वी ऋषिमुनिको सुझावअनुसार जीवनशैलीमा परिवर्तन गर्दै आएको समुदाय हिन्दू हो । अवैज्ञानिक र गलत पक्षलाई त्याग्दै नयाँ पत्ता लागेका तथ्य समात्दै आएको समुदाय हिन्दू हो । तसर्थ यसमा कट्टरवाद र सबै ठाउँमा एउटै नियम हुँदैन ।

जनमत संग्रहका आधारमा हिन्दू राष्ट्रको टुंगो लगाउने माग जायज हुन सक्दैन । जनमत संग्रहको विधिले अल्पसंख्यकको आवाजलाई प्रतिनिधित्व गर्दैन

हिन्दू आख्यानमा वर्णित स्थान हिमालय पर्वतसँग सम्बन्धित छ । यसबाट वहने स्वच्छ जलका नदीको महिमा हिन्दू ग्रन्थमा उल्लेख छ । यसबाट सिंचित वन र वनस्पतिको चर्चा ती ग्रन्थमा गरिएको छ । यस क्षेत्रमा प्रमाणिक र श्रुतिमा आधारित धेरै हिन्दू तीर्थस्थल रहेका छन् । ऋषिमुनिले हिमालय पर्वत क्षेत्रमा ध्यान गरी ज्ञान आर्जन गरेर जनसमुदायमा फैलाएका उल्लेख छ ।

मुश्लिम बाहुल्य रहेका मुलुक मुश्लिम राज्य घोषणा गरी सरिया कानुन लागू गरिएका छन्, जुन लोकतन्त्र होइन र अतिवाद हो । नेपालमा हिन्दू बाहुल्य रहेको आधारमा हिन्दू मान्यतामा आधारित नीतिगत व्यवस्था गर्नु उचित हुँदैन ।

जनमत संग्रहका आधारमा हिन्दू राष्ट्रको टुंगो लगाउने माग जायज हुन सक्दैन । जनमत संग्रहको विधिले अल्पसंख्यकको आवाजलाई प्रतिनिधित्व गर्दैन । त्यसैले जाति, सम्प्रदाय, धर्म जस्ता व्यक्तिगत भावनामा असर पर्ने विषय जनमत संग्रहबाट निर्णय गरेर समाधान हुँदैनन् । जनमत संग्रह विशुद्ध शासकीय मुद्दामा मात्र उपयुक्त मानिन्छ ।

आफ्नो भूमि, इतिहास, पहिचान, संस्कृति, सभ्यता र ज्ञानको रक्षा गर्नु हरेक राज्यको कर्तव्य हो । भारत र नेपालमा राज्य सञ्चालक जोसुकै भए पनि हिन्दूत्वको संरक्षण गर्नुपर्छ भने साउदी अरबमा सरकार जस्तो भए पनि मक्का मदिना र मुश्लिम धर्मको संरक्षण गर्नुपर्छ ।

नेपालमा हरेक धर्मावलम्बीलाई समान व्यवहार गर्नु सरकारको धर्म हो तर राष्ट्रिय सम्पदाको रुपमा रहेको हिन्दुत्व संरक्षणको कर्तव्य हिन्दू धर्मावलम्बीको नभई सरकारको हो । त्यसैले हिन्दू राष्ट्रको माग नाजायज हो भन्दैमा हिन्दूवादी अभियानकर्तालाई तिरस्कार गर्न मिल्दैन, हिन्दूत्वमाथि भएको अन्याय र अपमानलाई सच्चाउन राज्यले आवश्यक निर्णय लिनुपर्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण