गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारकमल थापा भन्छन्– मधेशलाई बेग्लै डिल गर्नु भारतको गलत नियत

कमल थापा भन्छन्– मधेशलाई बेग्लै डिल गर्नु भारतको गलत नियत

September 25, 2015२३७ पटक

कमल थापा भन्छन्– मधेशलाई बेग्लै डिल गर्नु भारतको गलत नियत

काठमाडौं–राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेश आन्दोलन र भारत सम्बन्धलाई थप नभड्काउन आग्रह गरेका छन्। उनले भारतसँगको सम्बन्ध कुटनीतिक तहबाट समाधान गर्न शीर्ष नेतृत्वलाई सुझाब दिए।

भारतले सिंगो नेपालप्रति समान दृष्टिकोण राख्नुपर्ने भन्दै मधेशलाई बेग्लै ‘डिल’ गर्नुका पछाडि भारतको नियतमा खोट रहेको उनले बताए।

भारतको अशोभनीय हस्तक्षेप
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु गलत भएको उल्लेख गर्दै अध्यक्ष थापाले मधेस केन्द्रित मात्र नभइ सिङ्गो नेपालप्रति भारतले समभाव दर्शाउनुपर्ने जनाए। उनले मधेश अान्दोलनको ‘शुद्धता’ कमजाेर हुँदै गएकाे र बाह्य प्रभावले अान्दाेलन लगामबाहिर जाने खतरा रहेको अाैंल्याए।

‘हामी देशभित्र र संबिधान निर्माण प्रक्रियाकै शक्ति त आफ्ना कुनैपनि माग पुरा नहुँदा लोकतान्त्रिक प्रक्रियालाई स्वीकारेर सहेरै बसेका छौं,’ थापाले नागरिकन्युजसँग भने ‘एउटा बाह्य शक्तिले बहुसंख्यक जनताको प्रतिनिधित्व रहेको संबिधान सभाले घोषणा गरेको संबिधान अस्वीकार गर्नु उचित भएन,’ उनले भने ‘यसले भारतप्रतिको सद्भाव कमजोर हुन्छ र नकरात्मक असर पर्छ।’ भारतीय नेतृत्वलाइ उनीहरूको कर्मचारी संयन्त्रले प्रभावमा पारेका हुनसक्ने भन्दै अध्यक्ष थापाले सोझै राजनीतिक तहबाट अहिलेको समस्या समाधान गर्नुपर्ने उनको सुझाब छ।

मोदी सरकारको कमजोरी
भारतजस्तो ठूलो गणतान्त्रिक मूलुकले यतिबेला अशोभनीय व्यवहार प्रदर्शन गरेको थापाले बताए। ‘मोदी सरकार आएसँगै १७ बर्षपछि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण त्यो पनि ६ महिनामा दुईपटक हुनुले आपसी सम्बन्धलाई नयाँ उचाई दिएको थियो,’ अध्यक्ष थापाले नागरिकन्युजसँग भने ‘मोदीले नेपाली संसदमा दिएको भाषण र सहयोगका घोषणाले नेपाली जनताको भारतप्रति अभूतपूर्व श्रद्धा बढेको थियो। तर पछिल्लो भारतीय कदमले ति सबै विश्वाँस र उपलब्धिलाई नष्ट गरिदिएको छ।’ उनले हिमाल, पहाड र तराई मिलेर बसेको नेपाल हेर्ने आफूहरुको रहर भएको भन्दै मोदीले दिएको मन्तव्यले नेपालीका मनमा बेग्लै छाप पारेको बताए। उनले भने ‘तर त्यो टिकाईराख्न नसक्नु कमजोरी भयो।’

राष्ट्रिय शक्तिको एकता बनाऔं
‘यतिबेला देश संकटमा छ। ठिक ढंगबाट व्यवस्थापन भएन भने देश विखण्डनको खतरा छ,’ थापाले भने ‘यस्तो बेलामा पनि विगतकै जस्तो तीनदलको सिन्डिकेट जारी राख्ने क्रम बन्द हुनुपर्छ।’ थापाले भने ‘यतिबेला देशका राष्ट्रिय शक्ति एकठाउँमा आउनुपर्छ। देशको एकता देखाउने बेला हो यो।’

शाही शासनका बेला आफू गृहमन्त्री हुँदा भारतको प्रत्यक्ष हस्तक्षेपको अनुभव सुनाउँदै उनले त्योबेला जनताको विश्वास प्राप्त सरकार नहुँदा पछि हट्नु परेको स्मरण गरे। ‘अहिले जनताको विश्वासप्राप्त राजनीतिक दल र तिनै दलको सरकार भएका कारण हस्तक्षेपसँग जुध्न सक्ने सामर्थ्य छ’, उनले भने, ‘तर कुटनीतिक पहलबाटै समाधान खोजिनु पर्छ।’

मधेशमा राजनीतिक समाधान खोजौं
संबिधान निर्माण प्रकृयामा ठूला राजनीतिक दलले अवलम्बन गरेको निषेधको राजनीति नै तराई–मधेश आन्दोलनको जग भएको उनले बताए। ‘केही नेतामा अधिकार सीमित राखेर फरक दृष्टिकोण राख्नेहरुलाई निर्णय प्रक्रियामा सहभागी नगराउनु समस्याको जड कारण हो,’ उनले भने ‘अर्को कारण हो–मधेश आन्दोलनका क्रममा संभव-असंभव सबै माग पुर गर्ने सम्झौता गरियो, अहिले त्यो पुरा गर्न गाह्रो भयो।’ समस्यालाई राजनीतिक ढंगले हल गर्न सरकार र आन्दोलन पक्षलाई उनको सुझाब छ।

‘मधेशको आन्दोलनले जनतालाई दुःख र देशलाई घाटा पुगेको छ,’ अध्यक्ष थापाले भने ‘आन्दोलनका नाममा जनता बिचल्ली पार्ने र राष्ट्रियता कमजोर हुने काम हुनुहुँदैन।’nagariknews.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण