गृहपृष्ठ » अन्तर्वार्ताप्रचण्ड–बाबुराम त के ‘इन्द्रेका बाऊ चन्द्रे’ नै आए पनि मलाई पार्टीमा फर्काउन सक्दैनन्

प्रचण्ड–बाबुराम त के ‘इन्द्रेका बाऊ चन्द्रे’ नै आए पनि मलाई पार्टीमा फर्काउन सक्दैनन्

August 6, 2015३७३ पटक

 

अप्रत्यासित रुपमा पार्टीबाट किन राजीनामा दिनुभयो ?

अप्रत्यासित रुपमा होइन मैले योजनाबद्ध रुपमै राजीनामा दिएको हुँ । मैले पार्टी छाडेको होइन, पद र जिम्मेदारीबाट राजीनामा दिएको हुँ । पार्टी छोड्यो भनेर मिडियामा आएको कुरामा सत्याता छैन । म अहिले पनि एमाओवादीकै सदस्य हुँ ।

lokendra bista

तपाईंहरुको शब्द सापटी लिएर भन्ने हो भने पनि पार्टी कमजोर र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेका बेला राजीनामा दिँदा पार्टीलाई थप घाटा पुग्ला भन्ने सोच्नुभएन ?
त्यो त मैले होइन मूल नेतृत्वले सोच्ने कुरा हो । नेतृत्व दुरदर्शी हुनुपर्छ । टाढासम्म देख्नेले मात्र नेतृत्व लिन सक्छ । एमाओवादीभित्र मजस्ता नेताले राजीनामा दिने परिस्थिति किन बन्यो ? यो कुरा प्रचण्ड, बाबुराम र नारायणकाजीहरुले थाहा पाउनुपर्छ । अझ अध्यक्ष प्रचण्डले थाहा पाउनुपर्छ । मेरो राजीनमाले पार्टीलाई घाटा भएको मान्ने हो भने हाम्रो पार्टीलाई नाफा नै कहिले भएको छ र ? पहिलो संविधानसभामा अलिअलि नाफा भएको हो । त्यसपछि सधैं घाटा । हतियार बुझायौं घाटा, सेना समायोजन गरियो घाटा, दोस्रो संविधानसभा निर्वाचन गर्न पुग्यौं घाटा । घाटा हुने कुराको जवाफदेही हामीजस्ता नेता होइन मूल नेतृत्व हो ।

अहिले पार्टीमा प्रसस्तै पद छन् तर जिम्मेवारी छैन । ठोस जिम्मेदारीबिनाको पदको काम छैन् । विघटित र विसर्जित अवस्थामा पुगेको पार्टीबाट राजीनामा दिँदा कुनै अन्याय गरेजस्तो, कसैलाई घाटा पुगेजस्तो लागेको छैन ।

पार्टी विघटित भयो भन्नुहुन्छ ? यसबाट जोगाउन तपाईं जत्तिको नेताको पनि त भूमिका हुन्थ्यो होला नि ?
मेरो र म जत्तिका नेताको भूमिका भनेकोे नेतृत्वलाई सच्चिन दबाब सिर्जना गर्ने हो । विगत केही वर्षदेखि हामीले त्यो गर्दै आएका हौं । कहिले लेखेर त कहिले बोलेर नेतृत्वमाथि रुपान्तरणका लागि निरन्तर सकारात्मक दबाब दिँदै आयौं । म मात्र होइन यस्तो गर्नेमा अरु धेरै साथीहरु हुनुहुन्छ । तर नेतृत्वले रुपान्तरणको दिशा पक्रन सकेन । फलस्वप पार्टी आजको अवस्थामा आइपुग्यो । राजीनामा दिएपछि मात्र मैले आफ्नो भूमिका निर्वाह नगरेको भन्न मिल्दैन ।

नेतृत्वको गलत कार्यशैलीभन्दा पनि आफ्नै तहका केही नेतासँगको टकराबका कारण राजीनामा दिनुभएको भन्ने चर्चा छ नि ?
मेरो कसैसँग व्यक्तिगत टकराब छैन । म कसैको खुट्टा तान्ने, अरुलाई पराजित गर्न र उनीहरुको रगत पसिनामाथि उभिएर भूमिका र भविष्य खोज्ने प्रवृत्तिको मानिस होइन । व्यक्ति विशेषसँग लड्ने र सानो क्षेत्रमा रमाउने नीच चरित्र पनि ममा छैन । अरुको मप्रतिको धारणा के छ त्यो म भन्न सक्दिन । तर संगठनमा आफूभन्दा सिनियरलाई आदर गर्ने, जुनियरका कुरा सुन्ने तथा उनीहरुलाई माया र हौसला प्रदान गर्ने प्रवृत्तिको मानिस हुँ ।

आफ्नै क्षेत्रका अरु प्रतिस्पर्धी नेतालाई अनावश्यक भूमिका दिइएको र आफू भूमिकाबिहीन भएको भन्ने तपाईंको गुनासो त थियो नि तपाईंको ?
मलाई भूमिका दिइएन् भनेको पनि होइन । राजीनामा दिने दिनसम्म पनि म पार्टीका सात÷आठवटा भूमिकामै थिए । म पार्टीको स्थायी कमिटी सदस्य, मजदुरको फ्याक्सन इन्चार्ज, किरात राज्य अनुगमन समिति, पार्टीको पर्यटन विभागको प्रमुखलगायतका भूमिकामै थिए । तर पार्टीमा भूमिका मात्रै दिइयो काम गर्न दिइएन । जुन क्षेत्रमा पुगेर काम गर्न सुरु गर्छु त्यहाँबाट विभिन्न बाहनामा फिर्ता बोलाइयो । मजदुरको सम्मेलन गर्न खोजें दिइएन्, किरात राज्यमा गएर काम गर्न खोजें समानन्तर कमिटी बन्न थाल्यो भनेर फिर्ता बोलाइयो । भूमिका दिने, तर काम गर्न नएिपछि भूमिकाको के काम ? भन्नलाई स्थायी कमिटी कार्यकारी ‘बडी’ हो । तर त्यो कागजमै सीमित छ । अहिले पार्टीमा प्रचण्ड र बाबुरामबाहेक अरु सबै भूमिकाबिहीन छन् ।

भनेपछि तपाईंलाई लाइन संघर्षले काम गर्न दिएन होइन ?
अहिले माओवादीभित्र लाइन संघर्ष नै छैन । बाबुराम र प्रचण्ड दुवै एकै लाइनमा छन् । अहिलेको संघर्ष व्यक्तिगत इगोको संघर्ष हो । आग्रह पूर्वाग्रहको संघर्ष हो । सिंगै पार्टी दक्षिणपन्थी संशोधनवादी लाइनमा भएका कारण क्रान्ति र लाइनको संघर्ष अहिले छैन ।

lokendra_bista

संशोधनवादमा फसेको एमाओवादी सच्चिनै नसक्ने अवस्थामा पुगिसक्यो भन्ने तपाईंको निष्कर्ष हो ?
नढाँटी भन्दा एमाओवादी मात्रै होइन । समग्र माओवादी आन्दोलन नै अहिले विसर्जन र विघटनको अन्तिम अवस्थामा पुगेको छ । म जीवनको ५१ वर्षमा हिँड्दै छु । संगठनमा लागेको ३४ वर्ष भयो । म नेतृत्वको एउटा खम्बा नै हुँ । त्यो खम्बा किन हल्लियो ? यसबारेमा किन नेतृत्वले नसोच्ने ? एमाओवादीमा धमिरा लागेको छ । आफूमा धमिरा सर्नुभन्दा अगाडि नै मैले राजीनामा दिएको हुँ ।

अर्काे कुरा माओवादी आन्दोलनलाई अब दुई चरणबाट मात्र जीवित राख्न र गति दिन सकिन्छ । पहिलो अहिले सबै माओवादीहरु विघटनको अवस्थामा छन् । सबै माओवादीबीचमा जीवन्त खालको एकता गरेर नयाँ रणनीति, नयाँ कार्यनीति र नयाँ नेतृत्वको चयन गरेर संगठनलाई जीवित बनाउने सम्भावना छ । अर्काे सबै माओवादीको विघटन गरेर फेरि शून्यबाट अर्थात नयाँ शिराबाट संगठन निर्माण गरेर अगाडि बढ्न सकिन्छ । तर माओवादी धारका पार्टीहरु अहिले त्यो दिशामा छैनन् । प्रचण्ड र बाबुरामबीचको नाचघरमा भएको दोहोरीले एकताभन्दा फेरि फुटको संकेत गरेको छ । एमाओवादी पार्टी मात्रै होइन समग्र माओवादी आन्दोलन नै धरापमा भएका कारण यसलाई बचाउन प्रचण्ड, किरण, विप्लव मात्रिका, मणि सबैले भूमिका खेल्नुपर्छ ।

माओवादी पार्टी सच्याउँनमा तपाईंको के भूमिका हुन सक्छ त ?
मेरो व्यक्तिगत भूमिका हो । ‘इन्द्रेका बाउ चन्द्रे’ले पनि अब मलाई संगठनमा फिर्ता गर्न सक्दैनन् । स्वतन्त्र बामपन्थी तथा पूर्वनेताको हैसियतले माओवादीको नेतृत्वले सल्लाह लिन खोजेमा मेरो सधैं रचनात्मक सहयोग र सुझाव रहनेछ ।

तपाईंपछि एमाओवादी पार्टीमा राजीनामाको लर्काे लाग्दै छ रे । कतै तपाईंहरुले सल्लाहमा राजीनामा दिन लाग्नु भएको त होइन ?
मैले पनि यो कुरा सामाजिक सञ्जाल र मिडियाहरुबाटै थाहा पाएको हुँ । एमाओवादी पार्टीभित्र धेरै नेताहरु पीडित र शोषित छन् । त्यसैले राजीनामा दिए होलान् र दिँदै पनि होलान् । पार्टीका लागि आवश्यक अमिक शेरचन, निनु चापागाईं सोनाम साथीजस्ता व्यक्तिहरु भूमिकाबिहीन हुनुहुन्छ । यता हेमन्तप्रकाश ओली, लेखराज भट्ट, ध्रुव पराजुली, गोपाल किरातीले राजीनामा दिँदै हुनुहुन्छ रे भन्ने सुनेको हुँ । मेरो कसैसँग सल्लाह भएको छैन । यो सल्लाहमा नभई नियमित आकस्मिकता मात्रै हो कि मिडियाले मात्रै जुटाइदिएको हो भन्ने कुरा म पनि बुझ्दै छ । मैले राजीनमा दिँदा पार्टीका कमजोरी र मेरो सुझाव २१ बुँदामा राखेको छु । बरु त्यो छलफलका लागि सार्वजनिक गरिदिए हुन्थ्यो भन्ने मलाई लागेको छ ।

तपाईंलाई नेता र आदर्श मान्ने मान्छेहरु पनि माओवादी भित्र होलान् । तपाईकै कारणले माओवादीमा लागेर बिचल्लीमा परेका पनि थुप्रै होलान् । तिनीहरुलाई तपाईंको सुझाव के हुन्छ ?
हो मलाई मान्ने मान्छे पनि पार्टीभित्र हजारौं छन् । नयाँ पार्टी खोलौं भने म प्रत्येक जिल्लाबाट हैसियत प्राप्त नेताहरु नै राखेर पनि पार्टी चलाउन सक्छु । तर अहिलेको खाँचो नयाँ पार्टीको होइन । रुपान्तरणको हो । मैले मलाई मान्ने नेता कार्यकर्ता र माओवादीभित्र रहेका विभिन्न तह र तप्काका व्यक्तिलाई यी तीन सुझाब दिन चाहन्छु ।
१, एमाओवादी पार्टी र पार्टीका नेताहरु ठीन छन् नि छैनन् बुझौं,
२, अहिले हाम्रो पार्टीले लिएको कार्यदिशाले जनबादी क्रान्तिका कार्यभारहरु पूरा हुन्छन् कि हुँदैनन् ?
३, एमाओवादी पार्टीको नीति गरिब, किसान, मजदुर र सर्वहाराका पक्षमा छ कि मालिक, दलाल र नोकरशाहीहरुको पक्षमा छ ? खोजौं ।
समग्रमा यी तीन प्रश्नको हल खोन्ज्ने हो भने जोसुकै सचेत माओवादी कार्यकर्ता पनि निष्कर्षमा पुग्न सक्छ ।

एमाओवादी छोडेर तपाईं नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीमा जाँदै हुनुहुन्छ रे ?
प्रचण्ड–बाबुरामले मेरो पार्टी सदस्यता नखाइदिएसम्म कुनै पार्टीमा जान्न । म वैद्य वा विप्लव माओवादीमा जाने भन्ने कुरामा कुनै सत्यता छैन । यो बाहिर मिडियामा आएको हल्ला मात्रै हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण