गृहपृष्ठ » अार्थिक, कृषिराजस्वको ८५ प्रतिशत रकम प्रवेश शुल्कबाट उठ्यो

राजस्वको ८५ प्रतिशत रकम प्रवेश शुल्कबाट उठ्यो

August 6, 2015४५३ पटक

chitwan-national-park-82420

चितवन, २१ साउन-चितवन राष्ट्रिय निकुञ्जमा कुल राजस्वको ८५ प्रतिशत रकम प्रवेश शुल्कबाट सङ्कलन भएको छ ।

 

आर्थिक वर्ष २०७१र७२ मा चितवन निकुञ्जले कुल २५ करोड ६६ लाख राजस्व सङ्कलन गर्न सफल भएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिए । उनका अनुसार यसमध्ये प्रवेश शुल्कबाट मात्रै कुल २१ करोड तीन लाख राजस्व सङ्कलन भएको छ । यो समयमा एक लाख ७८ हजार २५७ जना पर्यटकले निकुञ्ज घुमेका छन् ।

 

आव २०७०र७१ भन्दा अहिलेको आवमा निकुञ्जले झन्डै एक करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको थपलियाले जानकारी दिए । उनले आव २०७०र७१ मा एक लाख ७३ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेको र उनीहरुबाट २४ करोड ६८ लाख राजस्व सङ्कलन भएको जानकारी दिए । गएको आवको वैशाखमा भूकम्प गएका कारण जेठ र असारमा भने राजस्व सङ्कलनमा असर परेको छ । गएको वैशाखमा निकुञ्जले प्रवेश शुल्कमा डेढ करोड राजस्व सङ्कलन गरेकामा जेठमा १२ लाख र असारमा १४ लाखमात्रै राजस्व सङ्कलन गर्न सफल भएको तथ्याङ्कमा उल्लेख छ ।

 

यस्तै, निकुञ्जले जङ्गल सफारीबाट एक करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । डुङ्गा सञ्चालन, खरखडाई कटान, हात्ती प्रवेश शुल्क, जङ्गल वाकलगायतबाट राजस्व सङ्कलन भएको निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए । भूकम्प आएको वैशाख महिनामा पर्यटक सङ्ख्या सात हजारले घटेको पाइएको छ । तर वैशाखसम्मको तथ्याङ्कमा पर्यटक आगमन र राजस्व सङ्कलन भने सन्तोषजनक रहेको पाइएको निकुञ्जले जनाएको छ ।

 

भूकम्पका कारण निकुञ्जमा करिब एक करोड राजस्वमा कमी भएको अनुमान गरिएको भएपनि अघिल्लो वर्षभन्दा राजस्व सङ्कलन भने बढेको छ । यसअघि निकुञ्जमा आव २०६९र७० मा एक लाख ५३ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेकामा २१ करोड १५ लाख राजस्व सङ्कलन भएको थियो । यहाँ निकुञ्ज प्रवेश गर्दा अन्य विदेशीलाई प्रतिव्यक्ति एक हजार ५००, सार्कराष्ट्रका लागि प्रतिव्यक्ति ७५० र आन्तरिक पर्यटकका लागि एकजनाको १०० राजस्व लिने गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण