गृहपृष्ठ » अन्तर्वार्ता, बिचार/ब्लग, मुख्य समाचार, विशेष, साहित्य, स्वास्थ्यबलात्कारपछि हार्पिक खुवाई मृत्यु भएकी अमृता सहनीको कथा

बलात्कारपछि हार्पिक खुवाई मृत्यु भएकी अमृता सहनीको कथा

August 6, 2015७६६ पटक

भर्खरै १४ टेकेकी अमृता सहनी लाहानको एक होटलमा भाँडा माझ्दै थिइन् । जन्म दिने बाबुले घरबाट निकालेपछि पेट पाल्नकै लागि होटलमा भाँडा माझ्नु उनको रहर होइन, बाध्यता थियो । जन्म दिए पनि कर्म दिन नसकेका फुलेश्वर सहनीले अमृतालाई मात्र निकालेनन्, उनका पाँच दिदीहरू र श्रीमती मीना सहनीलाई पनि ‘जिन्दगीभर नफर्कनू’ भनेर सिरहाको खौरकाहीबाट खेदेका थिए ।

पेट पाल्नका लागि ‘राकेश होटल एन्ड लज’मा भाँडा मस्काउन थालेकी अमृताको जीवनमा गएको वैशाख १२ एक कालो दिनको रूपमा आयो । त्यस दिन गोरखादेखि रामेछापसम्मका बस्तीहरू भूकम्पले ढाल्दै गर्दा अमृतालाई सोही लजका कुक विनोद बस्नेतले ट्वाइलेटतिर लगेर बलात्कार गरे । उनले बलात्कार मात्रै गरेनन्, ट्वाइलेट सफाइमा प्रयोग गरिने हार्पिक मुखभरि कोचेर बाहिरिए ।

विनोद बाहिरिएको केहीबेरमा मीनाको मोबाइल बज्यो, ‘छोरीले लगातार बान्ता गरिरहेकी छ, तुरुन्त होटेलमा आउनू ।’ छोरी बिरामी भएको सन्देश सुन्नासाथ मीना सहनी जुन अवस्थामा थिइन्, त्यसै अवस्थामा होटलतिर लागिन् । खौरकाहीबाट लाहान आएको केही दिनमै एउटी छोरी भुजिया उद्योगमा काम गर्न थालेकी थिइन् । मीनाले पनि केही महिनाको अन्तरालमै एक स्कुलको होस्टलका बालबालिकाका लागि भान्साको जागिर पाइन् । आमाछोरी मिलेर लाहानको जिन्दगी धान्न थालेको झन्डै ११ वर्ष भइसकेको थियो । त्यतिबेला अमृता तीन वर्षकी थिइन् ।

लाहान बस्न थालेको लामो समय बितिसकेको थियो । अमृता हुर्किसकेकी थिइन् । राकेश होटलका सञ्चालक नथुनी साहले बारम्बार अमृतालाई आफ्नो होटलमा काम गर्न पठाइदिन आग्रह गरे । अलिअलि घरखर्च हुने भएपछि छोरी पठाउन मीना राजी भइन् । मीना भन्छिन्, ‘भाँडा माझ्न थालेको एक वर्ष मात्रै भएको थियो, के दिनमा छोरीलाई त्यहाँ पठाएँछु !’

खबर पाउनासाथ छोरीले भाँडा माझ्ने होटलमा पुग्दा अमृता रगत छाद्दै थिइन् । त्यो रगतको रंग कालो थियो, तर होटल मालिक नथुनीले साग र भात धेरै खाएर बान्ता गरेको भन्दै घटना लुकाइदिए ।

प्रौढशिक्षा मात्र आर्जन गरेकी मीनाले होटल मालिकको कुरा पत्याउन बाध्य भइन् । तर, लाहान अस्पताल पुर्याउँदा डाक्टरले मीनालाई सुनाए, ‘अमृताले साग र भात छादेको होइन रगत छादेको हो ।’

लाहानमा उपचार हुन सकेन, उनलाई धरान पुर्याइयो । बल्ल धरान अस्पतालका डाक्टरले पत्ता लगाए, अमृता बलात्कारको सिकार भएको रहस्य ।

‘स्वास्थ्य चाँज्ने क्रममा गुप्तांग सुकेको भेटिएछ । अनि मात्र मेरी छोरी बलात्कारको सिकार भएको थाहा भयो,’ मीनाले भनिन्, ‘त्यति बेलासम्म हार्पिक खुवाएको कुरा खुलेकै थिएन् । उपचारका क्रममा जब छोरी बोल्न सक्ने भइन्, अनि उनैले भनिन्, मलाई विनोदले ट्वाइलेटमा लगेर बलात्कार गर्यो र हार्पिक खुवायो ।’

मीनाका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले अमृताको अप्रेसन गर्नुपर्ने बताएपछि होटल मालिक नथुनी साहले आफ्नी श्रीमतीलाई टेलिफोन गरेर सोधे, ‘डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका छन् के गर्ने ?’ मीना भन्छिन्, ‘नथुनीकी श्रीमतीले खर्च गरीगरी केको अप्रेसन गर्ने हो, फिर्ता लिएर आउनुस् भनेर हपारिन् । अनि, छोरीको अर्धमृत शरीर धरानबाट लाहान फिर्ता भयो ।’

त्यसपछि मीनाले आफ्नी बिरामी छोरीलाई केही दिन डेरामा राखिन् । ‘फेरि नथुनीकी श्रीमती आएर तेरी छोरीको उपचारमा मैले धेरै खर्च गरेकी छु, काम गर्न पठाइहाल् भनिन्,’ मीना भन्छिन्, ‘अनि मैले छोरीलाई फेरि होटलमा भाँडा माझ्न पठाएँ । सन्चो होला भन्ने ठानेकी थिएँ तर छोरी त भित्रैभित्रै गलेकी रहिछ ।’
अमृतालाई हार्पिकले भित्रभित्रै असर गरेको रहेछ । अमृता झन्झन् कमजोर बन्दै गएपछि फेरि लाहान अस्पताल भर्ना गरियो । ‘दोस्रोपटक अस्पताल भर्ना गर्ने बेला नथुनी साहले १५ हजार थमाउँदै भने, ल यो पैसा लिनुस्, उपचार गराउनुस्, मरिहाले कुनै चिन्ता लिनुपर्दैन,’ मीना भन्छिन्, ‘आफ्नी छोरीलाई मरे पनि चिन्ता नगर्नू भनेर कसैले अर्ति दिँदा कस्तो हुन्छ ? म मरेतुल्य भएँ, आँसु थाम्नै सकिनँ ।’

नथुनीले १५ हजार मात्र दिएनन् । त्योसँगै छोरीलाई काम गराएबापत पाउने सबै रकम बुझेको कागजमा ल्याप्चे लगाउन बाध्य बनाए । ‘त्यतिबेला अमृताको उपचारमा २० हजार खर्च गरेँ, पाँच हजार सापटी लिएकी थिएँ,’ मीनाले भनिन् ।

लाहान, विराटनगर र धरानका अस्पतालमा जति चहारे पनि अमृताको स्वास्थ्यमा सुधार आएन । त्यतिबेलासम्म महिला पुनस्र्थापना केन्द्रका (ओरेक नेपाल) का प्रतिनिधिले अमृताको उपचारलाई फलो गर्न थालिसकेका थिए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अप्रेसनका लागि राजधानीको वीर अस्पताल लैजान सिफारिस गरेपछि मीनाले छोरी लिएर काठमाडौं आइन् । ट्रमा सेन्टरमा करिब १५ दिन उपचार चल्यो, अमृताको स्वास्थ्यमा सुधार आउन थालेको थियो । स्वास्थ्यमा सुधार आएसँगै मीनाको ओठमा पनि मुस्कान छाउन थालिसकेको थियो । तर, मीनाको खुसी धेरैबेर टिक्नै सकेन । गत आइतबार अमृता यो संसारबाट बिदा भइन् ।

ओरेक नेपालमा कार्यरत रूपा भट्टराईका अनुसार हार्पिकका कारण अमृताको कलेजो र फोक्सोमा निकै ठूलो घाउ भएको रहेछ । ट्रमा सेन्टरमा आन्द्राको अप्रेसन गरे पनि कलेजो र फोक्सोमा बढेको घाउले अमृताले ज्यान गुमाउनुपर्यो । अृमताको मृत्युसँगै उनकी आमा र दिदीहरूमाथि ठूलो वज्रपात परेको छ । ‘चार छोरीको विवाह भइसक्यो, अमृताले हामीलाई छाडेर गइहाली, अब एउटीको बिहेदान गर्न बाँकी छ,’ मीनाले भनिन् ।

तर, बाँकी एउटीको बिहेदान गर्नुअघि अमृता न्यायको लडाइँ लड्दै छिन् । भन्छिन्, ‘मेरी छोरी त अब फर्कन्न, तर अपराधीलाई सजाय दिलाउन सके छोरीको आत्माले शान्ति पाउँथ्यो ।’

सिरहाकै धनगढी स्थायी घर भएका विनोद अमृतालाई बलात्कार गरेपछि फरार भएका थिए । हाल विनोद र होटल सञ्चालक पुर्पक्षका लागि थुनामा छन् ।

मीनामाथि यत्तिका बज्रपात पर्दा पनि श्रीमान् फुलेश्वर सहनीले फर्केर हेरेका छैनन् । ‘श्रीमानले नहेरे पनि केही छैन । शरीरमा एक थोपा रगत रहेसम्म अपराधीलाई सजाय दिलाउन लड्नेछु,’ अमृताले अठोट गरिन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण