गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारनाकाबन्दीकाे असरले चीनमा नेपालीको कारोबार ठप्प

नाकाबन्दीकाे असरले चीनमा नेपालीको कारोबार ठप्प

October 1, 2015२८६ पटक

ग्वान्झाओ (चीन)– भारतीय नाकाबन्दी तथा मधेश आन्दोलनले गर्दा समुद्री मार्गबाट पठाइएका सामान सिमा क्षेत्रमै रोकिएपछि चीनको ग्वान्झाओमा नेपालीको व्यापारिक कारोबार ठप्प भएको छ।

03

ल्हासाबाट ग्वान्झाओ फर्काइएको सामान समुद्री मार्गबाट नेपाल पठाउने तयारी गरिँदै

 

दशैँ–तिहार र जाडो यामका लागि पठाइएका करोडौँ मूल्यका सामान डेढ महिनादेखि भारतमा रोकिँदा ठूलो पूँजी ब्लक भएकाले करोबार नै अवरुद्ध हुने अवस्था आएको हो। तातोपानी र रसुवागढी नाका भूकम्पले गर्दा बन्द भएपछि तिब्बतको ल्हासा भएर आउने सामान समुद्री मार्गबाट कलकाता हुँदै नेपाल प्रवेश गराइन्थ्यो । तराईका सिमा क्षेत्रमा भएको आन्दोलनको कारण डेढ महिनादेखि कलकाताबाट सामान भित्र्याउन कठिन भइरहेका बेला भारतको अप्रत्यक्ष नाकाबन्दीले सबै ठप्प हुन पुगेको छ।

उत्तर–दक्षिण दुवै नाका बन्द हुँदा दशैँ–तिहार र जाडो याममा प्रयोग हुने सामान सर्वसाधारणले सहज रुपमा नपाउने अवस्था सिर्जना भएको छ भने चीनमा कारोबार गर्ने नेपाली व्यापार घाटा र पूँजी डुब्ने चिन्ताले छटपटिएका छन्। लामो समयदेखि ग्वान्झाओमा रहेर व्यापार गरिरहेका एनआरएनए चीनका अध्यक्ष सञ्जय चेतानीका अनुसार चीनबाट नेपाल पठाइएका अर्बौं मूल्यका सामान बोकेका करिब चार हजार कण्टेनर कलकाता र सिमा क्षेत्रमा रोकिएका छन्।

भारतमा रोकिएका कण्टेनरमा दशैँ–तिहार र जाडोमा प्रयोग हुने कपडा, जुत्ता, उपहार सामाग्री र फर्निचर छन् । रक्सौल नाकाबाट नेपाल छिर्न ट्रकको लाइन २५ किलोमिटर लामो भएको बताउँदै चेतानीले भने, ‘मधेशमा हड्ताल र कफ्र्यूले गर्दा एक–डेढ महिनादेखि हाम्रो सामान नेपाल छिर्न सकेको थिएन, एक सातायता नाकाबन्दीले गर्दा पुरै रोकिएको छ ।’

सामान्य अवस्थामा चीनबाट नेपाल आउने सामान उत्तरका तोतोपानी र रसुवागढी तथा समुद्री मार्गबाट भारतको कलकाता हुँदै नेपाल भित्र्याइन्छ । चीनमा कारोबार गर्ने नेपाली व्यापारीले कपडा, जुत्ता लगायतका नफुट्ने सामान ट्रकबाट ल्हासा हुँदै काठमाडौँ पठाउँथे, जुन ग्वान्झाओबाट हिँडेको १५–२० दिनमा नेपाल पुग्थ्यो । इलेक्ट्रोनिक्स, फर्निचर लगायतका सामान समुद्री मार्गबाट कलकाता हुँदै करिब दुई महिनामा नेपाल पुग्छ ।

भूकम्पको कारण उत्तरका नाका बन्द भएपछि तेस्रो देशबाट सामान भित्र्याउने एक मात्र बाटो कलकाताको समुद्री मार्ग रह्यो । भूकम्पले तहसनहस भए पनि रसुवागढी वा तातोपानी नाका खुल्छ भन्ने आशमा व्यापारीले ल्हासा र तिब्बतको बाटोमा अड्किएका सामान एक महिनासम्म त्यहीँ राखे । तर नेपाल–चीन नाका तत्काल नखुल्ने बुझेपछि ल्हासा आइसकेको सामान ट्रकलाई पुनः दुई साताको भाडा तिरेर ग्वान्झाओ फर्काइयो र समुद्री मार्ग हुँदै नेपाल पठाइयो । ती सामान समेत अहिले भारतमा रोकिएपछि व्यापारीहरू निकै खिन्न भएका छन्।

‘ल्हासा पुगेको माल ट्रकमा हालेर फेरी ग्वान्झाओ ल्यायौं र समुद्री मार्गबाट पठायौं, त्यो माल एक महिनादेखि भारतमा रोकिएको छ’, आविस्कार ट्रेड इन्टरनेशनल मार्पmत् ग्वान्झाओमा व्यापार गरिरहेका एनआरएनए चीनका महासचिव निर्मल चौलागाईं भन्छन्, ‘चौध दिनमा खाली नभए माल बोकेका प्रति कण्टेनर प्रति दिन दश हजार रुपैयाँ डेमोरेज तिर्नुपर्छ, अब त्यो सामान कति महँगो होला, ऋण काढेर व्यापार गर्नेको हालत के होला ?’

चीनको प्रमुख व्यापार केन्द्र ग्वान्झाओ, इयूलगायतका ठाउँमा लामो समयदेखि नेपालीले व्यापार कारोबार गर्दै आएका छन् । ग्वान्झाओमा कुनै समय भारतीय व्यापारी भन्दा राम्रो पकड जमाएका नेपालीहरू अहिले मध्यपूर्व, अमेरिका–यूरोप, रुस, दक्षिण पूर्व र दक्षिण एसियाको व्यापारमा सक्रिय छन्। चीनको ग्वान्झाओ र इयूमा मात्र करिब पाँच सय नेपाली स्थाई रुपमा व्यापारमा संलग्न छन्, जो नेपालसँगै भारत रअन्य देशमा व्यापार गर्छन्। मुख्यभूमी चीनमा नेपालीको प्रमुख गन्तव्य बनेको ग्वान्झाओमा काठमाडौंबाट सिधै सामान लिन आउने व्यापारीको संख्या त्यत्तिकै ठूलो थियो। अहिले आउने जाने सबै ठप्प भएको छ ।

भूकम्पले उत्तरी नाका बन्द भएपछि चीनमा सुस्ताएको नेपालीको कारोबार मधेश आन्दोलन र भारतीय नाकाबन्दीपछि पुरै सुकेको छ। चीनको प्रमुख अन्तर्राष्ट्रिय व्यापार केन्द्र ग्वान्झाओमा विश्वभरका व्यापारी बिहीबारदेखि सुरु हुने ‘नेशनल डे’ को साता लामो बिदाको पर्खाइमा देखिन्थे भने नेपाली व्यापारी एक महिनादेखि नै फुर्सदमा थिए । नयाँ संविधान जारी भएपछि ग्वान्झाओमा त्यसको स्वागत गरेका नेपाली व्यापारीले त्यस दिनदेखि नै कुनै सामान लोड गर्न पाएका छैनन्। ‘हाम्रो सामान र पैसा बाटोमा अड्किएको छ, अब त्यो सामान नेपाल पुगेर बिक्री भएर पैसा आयो भने बल्ल करोबार चल्छ’, ग्वान्झाओ इन्टरनेशनल विजनेस हाउस लिमिटेडका निर्देशक चेतानीले भने।

कारोबार ठप्प भएपछि एक महिनादेखि घरमा बसेको बताउँदै ग्वान्झाओका अर्का व्यापारी सुदेश झा खर्च धेरै भएकाले विचल्ली हुने अवस्था आएको बताउँछन् । ‘दोहोरो खर्च गरेर ल्हासाबाट माल फिर्ता ल्याएर समुद्री मार्गबाट पठाइयो, त्यो पनि नेपाल पुगेन’, ग्लोवल विजनेश इन्टरप्राइजेजका निर्देशक झाले ग्वान्झाओमा भने, ‘दशैँ–तिहार र जाडोको सामान, पैसा सबै फस्यो, यहाँ चिनियाँले उधारो दिँदैनन् कसरी कारोबार गर्ने ?’

उत्तर–दक्षिण दुवै नाका बन्द भएपछि पनि अति आवश्यक सामान हवाई मार्गबाट नेपाल पठाइन्थ्यो । ग्वान्झाओ, हङकङ र मलेसियाको क्वालालम्पुर हवाई मार्ग भएर हल्का र अति आवश्यक सामान काठमाडौँ जाने गरेको थियो । तर नेपालमा तेल भर्न नपाएको कारण देखाउँदै मंगलबारदेखि चाइना साउदर्नले ग्वान्झाओ–काठमाडौँको एक मात्र उडान पनि स्थगित ग¥यो। अहिलेलाई १५ दिनका लागि भनेर उडान स्थगित गरिएपछि ग्वान्झाओबाट काठमाडौँ उड्ने तयारीमा रहेका व्यापारी र अन्य यात्रु समेत विचल्लीमा परेका छन्।

दशैँ–तिहार खल्लो

नाकाबन्दीले गर्दा एकातिर सर्वसाधारणले दशैं–तिहारका लागि सहज रुपमा सामान किन्न पाइरहेका छैनन् भने अर्कोतिर त्यो सामान बेच्न एक वर्ष कुर्नु पर्ने र पूँजी ब्लक हुने चिन्ताले व्यापारीहरू खल्लो मानिरहेका छन्। ‘नेपाल–भारत नाका खुलेपछि पनि तेल र खाद्यान्न पठाउन एक साता लाग्छ, त्यसपछि बल्ल यताबाट गएको सामान नेपाल भित्रिने हो’, चेतानी भन्छन्, ‘त्यसबेलासम्म दशैँले छोपिसक्ने भएकाले हाम्रो सामान उपभोक्ताबीच पुग्ने आश छैन ।’

नेपालको आग्रह अनुसार चीनले केही दिनमै रसुवागढी नाका खुलाउने तयारी गरिरहेको छ । बन्द भएका कुनै पनि नाका खुल्दा सर्वसाधारणले राहत महशुस गर्नु स्वाभाविक हो तर उपभोग्य सामाग्री तत्काल आपूर्ती गर्न सम्भव नहुने झाको भनाइ छ । ‘रसुवागढी नाका खोलेर चीनले सहयोग पठाउँछ भने बेग्लै कुरा हो’, झा भन्छन्, ‘हाम्रो सामान र पैसा डेढ महिनादेखि बाटोमा रोकिएको छ, अब तत्कालै नयाँ सामान पठाउन सक्ने अवस्था यहाँका व्यापारीमा छैन।’

सरकारले पहल गरेन

भूकम्पपछि उत्तरका नाका खुलाउन नेपाल सरकारले पहल नगरेको र अहिले दक्षिणका नाका बन्द भएपछि मात्र चेत खुलेको ग्वान्झाओका नेपालीको भनाइ छ । नयाँ संविधानको स्वागत गरेको र भूकम्पपछि डेढ करोड रुपैयाँ राहत उठाएर पठाएको स्मरण गर्दै उनीहरूले नेपालीको व्यापार प्रवद्र्धन गर्न सरकारले पहल नगरेको भन्दै दुःख पोखेका छन्।

भूकम्प लगत्तै नेपाल सरकारले पहल गरेर उत्तरी नाका खुलाएको भए अहिलेको समस्या नआउने बताए । ग्वान्झाओबाट पठाइएका सामान अहिलेसम्म खासा–तातोपानी सिमा क्षेत्रमा अड्किएको बताउँदै सञ्जय चेतानीले भने, ‘अबको केही दिनमै रसुवागढी नाका खुलाउने तयारी भइरहेको छ भन्ने हामीले सुन्यौँ, अहिले एक सातामै खोल्न सकिने नाका पाँच महिनासम्म किन नखोलेको होला ?’

नेपालीले सामान लोड गर्न छाडेपछि ग्वान्झाओका चिनियाँ र अन्य व्यापारीको चासो समेत बढेको छ नेपालप्रति । सार्वसाधारण र व्यापारी वर्गले यती धेरै सास्ती पाउँदा उत्तरतिरका नाका खोल्न देखाइएको ढिलासुस्ती र दक्षिणतिरको नाकाबन्दी खुलाउन कुटनीतिक पहल हुन नसकेको टिप्पणी धेरै सुनिन्छ ग्वान्झाओमा ।nagariknews.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण