यात्रुसँग बढी भाडा असुल्नेको रुट पर्मिट खारेज
१४ असोज, काठमाडौं । इन्धन अभावको मौका छोपेर गाडीहरुले जथाभावि भाडा उठाएको गुनासो आइरहेकाबेला सरकारले कुनैपनि बाहनामा यात्रुहरुसँग बढी भाडा नअसुल्न चेतावनी दिएको छ ।
यातायात व्यवस्था विभागले संकटको समयमा गाडी, डिजेल र पेट्रोलको अभावको कारण देखाएर तोकिएको भन्दा बढी भाडा असुलेको पाइए ति सवारीको रुट पर्मिट ६ महिनाका लागि खारेज गर्ने चेतावनीसमेत दिएको छ ।
तोकिएको भन्दा धेरै भाडा उठाएको पाइएमा नजिकको ट्राफिक प्रहरी वा यातायात व्यवस्था विभागमा उजुरी दिन अनुरोध पनि गरेको छ ।
विभागका प्रवक्ता बसन्त अधिकारीले अनलाइनखबरसँग भने, ‘देश संकटसँग जुधिरहेको समयमा यात्रु ठग्ने सवारीविरुद्ध कुनैपनि सुनुवाइ हुँदैन । हामी त्यस्ता गाडी नियन्त्रणमा लिएर ६ महिना होल्ड गर्छौं ।’
लामो रुटका कतिपय सार्वजनिक सवारीले जोर-बिजोर प्रणालीका कारण गाडी संख्या कम भएको र डिजेल-पेट्रोलको पनि अभाव भएको भन्दै बढी भाडा असुलिरहेको यात्रुहरूले गुनासो गरेका छन् ।
छोटो दुरीका सवारीले पनि अहिले सरकारले तोकेको नयाँ भाडादर लागु गरेका छैनन् । देशमा उत्पन्न असहज अवस्थामा कालोबजारी गर्ने यातायात ब्यवसायीलाई कानुनमा व्यवस्था भएको हदैसम्मको कारवाही गर्ने विभागका प्रवक्ता अधिकारीले बताए ।
‘यस्तो समयमा पनि यात्रुलाई ठगेर पैसा कमाउने दुष्प्रयास कसैले गरेको छ भने अनुगमन गरेर कारवाही गछौं,’ अधिकारीले भने, ‘अप्ठेरो स्थितिलाई हेरेर छतमा यात्रा गराउन पनि रोकेका छैनौं, यस्तो बेलालाई अवसर बनाउने जोसुकैलाई कालोबजारी ऐन लगाएरै भएपनि कारवाही गर्छौ ।’
उजुरी गर्न आग्रह
उनले कुनैपनि बाहानमा बढी भाडा लिएको पाएमा कार्यालय समयभित्र विभागको टेलिफोन नम्बर ०१-४४६९९९४ मा उजुरी गर्न अनुरोध गरेको छ । यस्तै ट्राफिक प्रहरीको हटलाइनल १०३ मा पनि गुनासो टिपाउन विभागले आग्रह गरेको छ ।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले तोकिएभन्दा बढी भाडा असुल्नेेलाई कारबाही गर्ने बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले कुनैपनि बाहानामा बढी भाडा असुल्नेहरुलाई छुट दिन नहुने बताए ।