लुम्ले पहिरोका पीडित भन्छन्-‘अब हामी कहाँ जाने ?
२१ साउन, कास्की । शोकमग्न गाउँमाथिको देउरालीडाँडाले बादलको घुम्टो उघार्न सकेको छैन। साउनेझरी घरी बाक्लिन्छ, घरी पातिलिन्छ, घरी रोकिन्छ। पहिरोले बगरमा परिणत गरिदिएको लुम्लेगाउँका बासिन्दाका आँखा भने अविरल झरिरहेछन्।
गत बुधबार रातिको पहिरोमा परिवारजन र आफन्त गुमाउनेहरु सात दिन बित्दा पनि शोकको आहालबाट निस्कन सकेका छैनन्।
सात दिनपछि बुधबार देउरालीडाँडाको फेदीमा शोक बाँड्न भेला भएका स्थानीय शब्दमा पीडा बाँड्ने प्रयास गरिरहेका देखिन्थे, नजिकैको खण्डहरबाट हावाले ल्याउने सिनोका हरकले उनीहरुका विक्षिप्त मन बिथोलिदिन्थ्यो।
स्थानीय वयोवृद्ध भक्तिराम देवकोटाले स्थानीयलाई फेदीमा भेला गराएका थिए, शोकसभामा। पालैपालो मृतकका तस्बिरमा फूल चढाए परिवार र आफन्तजनले। गला अवरुद्ध थिए पीडाले, शोक व्यक्त गर्ने शब्द पनि निस्कन सकिरहेको थिएन।
गत बुधबार राति अति भारी वर्षालगत्तै कास्कीका विभिन्न गाउँमा गएका पहिरोमा घरबस्ती पुरिँदा ३७ जनाको मृत्यु भएको थियो। लुम्लेमा मात्रै २७ जनाको ज्यान पहिरोले लग्यो, १ जनाको अझै अत्तोपत्तो छैन। त्यसबाहेक भदौरेमा ८ को मृत्यु र एक बेपत्ता, ढिकुरपोखरीमा २ को मृत्यु भएको थियो।
बेपत्ता दुई जीवितै भेटिने आशा मारिसकेका छन् स्थानीयले।
लुम्ले पहिरोमा ९ वटा भैसी, ६ वटा गोरु र तीनटा बाख्रा पुरिए, कुखुरा त कति–कति। स्थानीय बासिन्दा शोकसभामा बसुन्जेल पनि गहिरो गन्धबाट बच्न नाक छोपिरहेका देखिन्थे। पहिरोले बगाएका घरेलु सामान यत्रतत्र छरिएका देखिन्छन्। सेना र प्रहरी खण्डहर खोतल्ने प्रयास गरिरहेकै छन्। शोकसभामा भने सरकारको कुनै उपस्थिति देखिन्न।
शोकाकुल गाउँलेले पुरिएका सामान निकाल्न पनि सकेका छैनन्। घर भत्किए पनि परिवारका सदस्य जीवित रहेकाहरूले आफूलाई भाग्यमानी ठानिरहेका छन्।
यसै पनि नेपालकै सबैभन्दा धेरै पानी पर्ने क्षेत्र कहलिएको कास्कीको लुम्लेमा छोटो शोकसभा र मौनधारण गरुञ्जेल मौसमले साथ दियो। सभा सुरु हुनासाथ पानी पर्न थाल्यो। एकैछिनअघि वरिपरिबाट आएका सबैलाई वर्षाले तितरबितर बनाइदियो।
सातौं दिन उपस्थित प्रियजनले स्वर्गीय जनका आत्माको चिरशान्ति कामना गरे। तस्बिरमा फूल चढाइरहँदा उनीहरुका आँखाबाट अविरल साउनेझरी बहिरहेको थियो। भिरमुनिको यो बस्तीमा यस्तो अनिष्ट निम्तिएला भन्ने कसैले कल्पनासम्म गरेका थिएनन्।
‘म सत्तरीको भएँ, यतिका वर्षमा यो भिरबाट एउटा ढुंगो पनि उल्टिएको थाहा थिएन,’ भक्तिरामले नागरिकसँग भने, ‘मोटरबाटो बनाउँदा पनि केही भएको थिएन। मुनि बाटो पुरिए पनि माथि केही भएको थिएन।’
स्थानीयलाई सुरक्षित लागे पनि युनिभर्सिटी अफ अस्ट्रिया, भियनाले सन् १९९५ मा गरेको ‘पोखरा, बाग्लुङ राजमार्ग निर्माणको असर’ सम्बन्धी अध्ययनमा यस क्षेत्रको भौतिक स्थिति अत्यन्तै अस्थिर किसिमको भएको उल्लेख थियो। सतहमा रहेको माटो सजिलै बहने खालको रहेको समेत अध्ययनले बताएको थियो।
यसअघि, पहिरो अनुभव नगरेका र तुलनात्मक रुपमा अग्लो ठाउँमै पर्ने यो गाउँमा पहिरो आएपछि स्थानीय बासिन्दाले यसका कारण खोज्न थालेका छन्। गाउँभन्दा माथि ठूलो ३० हजार लिटरको ट्यांकी फुटेर यस्तो भएको भन्ने केहीको तर्क पनि छ।
धेरैजसोले भने ठूलो पानी आउँदा त्यसलाई तर्काउन बूढापाकाले बनाएको कुलो पुरिएर यस्तो भएको ठानेका रहेछन्। ‘पुर्खाहरूले पहिले तल पानी नआउने गरी नाला बनाएका थिए,’ श्री सिद्ध निमाविका शिक्षक नारायण देवकोटाले नागरिकसँग भने, ‘यी नालाको पानी सिधै खोलामा गएर मिसिन्थ्यो, त्यही थुनिएर अहिले यस्तो भयो।’
गत बुधबार रातिको पहिरोले सडकका विभिन्न खण्डमा असर पारेको थियो। त्यसैले राति नै स्थानीय बासिन्दाले खबर गरे पनि सडक पार गरेर घटनास्थलसम्म पुग्न सजिलो थिएन। प्रहरी बिहीबार बिहान ६ बजेतिर मात्र पहिरोस्थल पुगेका थिए।
स्थानीयले राति नै उद्धार कार्य गरेका थिए। उनीहरूले उद्धार गरेका व्यक्तिहरूमध्ये केही बाँचे। उद्धारकर्तामध्येका एक थिए, ३८ वर्षीय विष्णु थापा। उनीलगायतका स्थानीय बासिन्दाले सक्रियतापूर्वक पुरिएकाहरूलाई निकालेका थिए।
‘भन्ने नै हो भने यो ठाउँ सबैभन्दा सुरक्षित थियो,’ थापाले भने, ‘अब हामी कहाँ जाने? यत्तिकै बस्नैपर्यो ।’
पहिरोले खण्डहर बनाएको ठाउँ मृत्यु संख्याले पनि बसोबासका लागि असुरक्षित ठानेका छन् उनीहरुले। पहिरोकै छेउमा घर जोडिएकाहरू अहिले त्यहाँ नबसी नजिकैको सामुदायिक भवनमा बसिरहेको नागरिकमा खबर छ ।