गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचारखडेरीले एक्काइस करोडको अन्नबाली नष्ट

खडेरीले एक्काइस करोडको अन्नबाली नष्ट

October 2, 2015३८४ पटक

मुगु, -यो वर्ष भदौ महिनादेखि नै लामो खडेरी सुरु भएपछि जिल्लाभरि २१ करोडभन्दा बढीको अन्नबाली नष्ट भएको छ ।

धान, कोदो, सिमी, मकैलगायत बाली पसाउने बेला खडेरी सुरु भएपछि खेतबारीमा लगाएको बाली नष्ट भएको छ । भेग क्षेत्र र सेवा केन्द्र स्तरमा खटिएका प्राविधिकले ल्याएको प्रतिवेदनअनुसार खडेरीले जिल्लाभरि २१ करोड ७९ लाख ७४ हजारको अन्नबाली क्षति बनाएको छ ।mugu

जिल्ला कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेतीवाडा सेवा केन्द्रअन्तर्गत पर्ने पाँचवटा गाविसको कुल तीन हजार ६५९.२९ हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबाली खडेरीले डढाएपछि करिब ६ करोड ६१ लाख २५ हजार तथा सोरुकोट सेवा केन्द्रअन्तर्गत पर्ने सातवटा गाविसको तीन हजार १६३.८६ हेक्टर क्षेत्रफलमा लगाइएको सात करोड १८ लाख ५० हजारबराबरको अन्नबाली क्षति भएको छ ।

त्यस्तै, पश्चिम खत्याड भेगस्थित श्रीकोट सेवा केन्द्रअन्तर्गतका सातवटा गाविसमा तीन हजार ३०३.९१ हेक्टर क्षेत्रफलको पाँच करोड ४५ लाख २५ हजार तथा पूर्वी करान भेगको पुलु सेवा केन्द्रअन्तर्गत पर्ने पाँच गाविसमा दुई हजार १४.१४ हेक्टर क्षेत्रफलको दुई करोड ५४ लाख ३५ हजारबराबरको अन्नबाली क्षति भएको बागवानी शाखाका प्राविधिक सहायक तेजविक्रम मल्लले जानकारी दिए ।

स्थानीयवासी हस्तबहादुर मल्लले जलवायु परिवर्तनका कारण यस्तो प्रभाव देखापरेको हुन सक्ने बताए । खडेरीले सबैभन्दा बढी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगका गाविसमा प्रभाव पारेको छ । अघिल्लो वर्षको कात्तिकमा परेको असिना पानीले कृषकको पाकेको धानलगायत अन्य अन्नबालीसमेत नष्ट गर्दा १३ करोडबराबरको क्षति भएको थियो ।

यो वर्ष अघिल्लो वर्षभन्दा बढी क्षति भएको र आउने दिनमा जिल्लामा खाद्य सङ्कट उत्पन्न हुने प्राविधिक सहायक मल्लले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण