गृहपृष्ठ » अन्तर्वार्ता, बिचार/ब्लगलिपुलेकमा नेपालको झण्डा गाडेर फर्कन्छौं

लिपुलेकमा नेपालको झण्डा गाडेर फर्कन्छौं

October 2, 2015५६६ पटक

भारत र चीनले त्रिदेशीय सिमामा पर्ने दार्चुलाको लिपुलेक नाका भएर व्यापारिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी ratna dhakalसम्झौतामा हस्ताक्षर भएपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ ।

गत जेठमा चीन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया प्रधानमन्त्री ली खस्याङबीच लिपुलेक सम्झौतामा हस्ताक्षर भएको थियो ।

यसै सिलसिलामा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एउटा टोली लिपुलेकका लागि काठमाण्डुबाट प्रस्थान गरेको छ ।

अध्यक्ष रत्न ढकालको नेतृत्वमा करिब ५० जनाको टोली काठमाण्डुबाट शनिबार दार्चुला हिंडेको हो । टोली करिब एक सातापछि लिपुलेक भञ्ज्याङ पुग्नेछ ।

ढकालले आफूहरु लिपुलेक नेपालको भूमि भएको सन्देश दिन त्यसतर्फ जान लागेको बताए । लिपुलेक प्रस्थान गर्नुअघि ढकालले उक्त अभियानबारे गरेको कुराकानीको सम्पादित अंशः–

तपाईंहरु केका लागि लिपु लेक जाने ?
गत १ जेठमा भारत र चीनका प्रधानमन्त्रीबीच नेपालको लिपुलेकलाई दुई देशबीचको व्यापारिक केन्द्र बनाउने सहमति भएको थियो ।

नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डतामाथि ठाडै बलात्कार गर्ने नियतका साथ भएको उक्त सहमति खारेज हुनुपर्छ भन्ने हाम्रो स्पष्ट माग हो ।

त्यसैका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा दबाब सिर्जना गर्न हामी लिपुलेक जाँदैछौं । कालापानी हाम्रो हो । लिपुलेक हाम्रो हो’ भन्ने अभियानको नारा छ । हामी किन लिपुलेक जाँदैछौं भनेर नाराले नै स्पष्ट गर्छ ।

त्यहाँ गएर के गर्नुहुन्छ ?
दार्चुला जिल्लाको ब्यास गाविस–१ मा पर्ने लिपुलेक भञ्ज्याङ नेपालको हो भन्ने सन्देश प्रवाह गर्नु हाम्रो मुल उद्देश्य हो ।

साथै भारत र चीनलाई नेपाली भूमिमाथि भएको हस्तक्षेप रोक्न खबरदारी गर्ने हो । त्यहाँ हामी नेपालको राष्ट्रिय झण्डा फहराउँछौं ।

त्यसअघि हामी बाटोमा पर्ने चितवन, बुटवल, दाङ, कोहलपुर र धनगढीमा ‘जागरण कोणसभा’ गर्दै अगाडि बढ्छौं । २६ गते दार्चुला सदरमुकाम खलंगामा विशाल प्रदर्शनसहित सभा गर्छौ ।

कुटनीतिक समाधान खोज्नुपर्ने विषयमा त्यसरी हल्ला खल्ला गरेर केही परिणाम आउला र ?
कुटनीतिक पहल गर्ने जिम्मेवारी सरकार तथा सत्ता र संसदमा रहेका दलहरुको हो । हाम्रो माउ पार्टी नेकपा–माओवादी ती दुवै ठाउँमा प्रतिनिधित्व गर्दैन । हाम्रो लागि सडक नै एक मात्र विकल्प हो ।

त्यसमाथि युवा विद्यार्थीहरुले गर्ने भनेको जागरण र दबाब हो । हामी त्यही गर्दैछौं । हाम्रो अभियान कुटनीतिक प्रयासका लागि बाधक बन्दैन बरु समस्या समाधानका लागि सहयोगी हुन सक्छ ।

जहाँसम्म परिणाम आउने वा नआउने भन्ने कुरा छ त्यसमा हामी आशावादी छौं । चिनियाँ पक्षले लिपुलेक सम्झौता पुनरावलोकन गर्न सकिने संकेत दिइसकेको छ । हामीले थप दबाब दिने हो भने भारत पनि नेपाली जनताको भावनाविपरीत जान सक्ला भन्ने लाग्दैन ।

लिपुलेक नेपालको मात्र होइन । त्रिदेशीय सिमाना हो भन्ने कुरा पनि आएको छ नि ?
लिपुलेक त्रिदेशीय सिमानामा पर्ने कुरा सत्य होला । यदि लिपुलेक त्रिदेशीय बिन्दु हो भने व्यापारिक सम्झौता चाहिं भारत र चीनले मात्र गरेर हुन्छ ? त्रिदेशीय भूमि हो भने त सम्झौता पनि त्रिपक्षीय हुनुपर्छ ।

हामीले भनेको यही हो । तर बिडम्बना के छ भने नेपाललाई त्यसबारे कुनै जानकारी नै दिइएन ।

लिपुलेक नेपालको हो भन्नेहरु अरु पनि छन्, तर तपाईंहरु किन एक्लै त्यहाँ जान हतारिनुभएको ? अरु विद्यार्थी संगठनसँग मिलेर संयुक्त अभियान चलाएको भए हुने थिएन र ?
लिपुलेक सम्झौता भएपछि पटकपटक विद्यार्थी संगठनबीच संयुक्त बैठकहरु भए । हामीले लिपुलेक सम्झौताको विरोधमा मिलेर सडकमा जाने प्रस्ताव राख्यौं । तर सत्तापक्षीय विद्यार्थी संगठनहरु तयार भएनन् ।

क्रान्तिकारी संगठनहरुका बीचमा भने यो विषयमा संयुक्त कार्यक्रम बनाएर जानेबारे छलफल भइरहेको छ ।

हाम्रो यो अभियानमा पनि एकीकृत माओवादी र नेत्रविक्रम चन्दले नेतृत्व गरेको माओवादी निकट अखिल क्रान्तिकारीको ऐक्यबद्धता छ ।

उहाँहरुलाई हामीले दार्चुलामा हुने विरोध सभामा वक्ताका रुपमा बोलाएका छौं । हामी लिपुलेकबाट राजधानी फर्केपछि संयुक्त कार्यक्रम बनाएर अघि बढ्छौं ।

जतिबेला सम्झौता भयो त्यसपछि नेपालीलाई लिपुलेक जान कडाइ गरिएको भन्ने खबरहरु आइरहेको छ । सुरक्षाकर्मीले जान रोके भने कसरी सिमानामा झण्डा फहराउन सक्नुहोला त ?
गाडीबाट लिपुलेक जान भारतीय बाटो प्रयोग गर्नुपर्ने रहेछ । त्यसका लागि हामीले दुवैतर्फको स्थानीय प्रशासनसँग अनुमति मागिसकेका छौं ।

यदि हामीमाथि अवरोध सिर्जना गरियो भने नेपालकै भूमि भएर पैदल मार्गबाट लिपुलेक जान्छौं ।

त्यसो गर्दा पनि अवरोध सिर्जना गरिन्छ भने हामी त्यहीँबाट दोश्रो चरणको क्रियात्मक संघर्ष घोषणा गर्न बाध्य हुनेछौं । जसले उक्त सहमति खारेजीका लागि मात्र होइन ।

नेपालका सम्पूर्ण गुमेका सिमानाहरु फिर्ता गर्नेसम्मको वातावरण निर्माण गर्नेछ । हामी सम्बन्धित पक्षलाई उत्तेजित नहुन र हाम्रो शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौं ।kathmandutoday.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण