गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारनेपाली बजारमा इन्धन पठाउन भारतीय पक्षद्वारा अस्वीकार

नेपाली बजारमा इन्धन पठाउन भारतीय पक्षद्वारा अस्वीकार

October 4, 2015२६८ पटक

झापा–नेपालविरुद्ध लगाएको नाकाबन्दी खुलेको दाबी गर्ने भारतीय पक्षले नेपाली बजारमा इन्धन पठाउन अस्वीकार गरेको छ। पूर्वी नाकाबाट खाना पकाउने ग्याँस बोकेको एउटा ट्यांकर चाहिँ आइतबार साँझ काँकडभिट्टा नाका भित्रेको छ।

आइतबारदेखि लागु हुने गरी नाकाबन्दी खोल्ने भनेको भारतीय संस्थापनले विभिन्न नाकाबाट अन्य सामान पठाए पनि नेपाली बजारमा हाहाकार भइसकेको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस पठाउन आलटाल गरिरहेको थियो। तर, आइतबार साँझमा एउटा बुलेट ग्याँस पठाएको छ। ‘अहिलेसम्म एउटा बुलेट ग्याँस आएको छ’, काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले भने ।

असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएपछि असन्तोष प्रकट गर्दै विभिन्न सन्धी सम्झौता लत्याएर नाकाबन्दीमा उत्रिएको भारतीय कदमले नेपाली जनजीवन पूरै प्रभावित भइसकेको छ । १० दिन लामो नाकाबन्दीले इन्धन अभाव चुलिएको छ। अधिकांश सवारी साधनहरु थन्किएका छन्। यस्तो बेलामा नाकाबन्दी खुल्ने खबरले आपूर्ति व्यवस्था सहज हुने अनुमान र आशा सबैतिर थियो । तर, सबैभन्दा धेरै आवश्यक रहेको इन्धन पठाउनै भारतीय पक्षले आलटाल गरेपछि नाकाबन्दी खुलेको पत्याउन नेपाली सरोकारवाला तयार छैनन्।

‘हाम्रा ४० वटा ट्यांकर भारतीय आयल कर्पोरेसनको सिलिगुढी डिपोमा तेल भर्न लामो समयदेखि पालो कुरेर बसेका छन्’, मेची पेट्रोलियम डिलर्स एशोशिएशनका अध्यक्ष लय भण्डारीले आइतबार भने, ‘तर, तेल भर्न दिइरहेको छैन । यसले नाकाबन्दी नखुलेको देखाउँछ ।’ उनका अनुसार भारतीय आयल निगमले सिलिगुढीबाट पेट्रोल, डिजेल र मट्टितेल एक–एक ट्यांकर लैजान भनेको छ । ‘एक–एक ट्यांकर तेल ल्याएर के गर्ने’, उनले भने ‘त्यहाँ तेल भरे पनि एसएसबीले ल्याउन दिँदैन ।’ नेपाली पक्षले ४० वटै ट्यांकरमा तेल भरिदिन गरेको आग्रह भारतीय पक्षले अस्वीकार गरेको भण्डारीको भनाइ छ । ‘यस्तो अवस्थामा कसरी नाकाबन्दी खुल्यो भनेर पत्याउने ?’, उनले प्रश्न गरे ।

भारतीय संस्थापनले नाकाबन्दी खोलेको भ्रम छर्न नाकाबाट अन्य सामान बोकेका गाडी चाहिँ धमाधम नेपाल आउन दिइरहेको छ । तर, ज्यादै आवश्यक रहेको इन्धन छिर्न पनि दिएको छैन । ग्याँस पनि एउटा मात्रै बसलेट पठाइएको छ । अन्य सामान धमाधम भित्रिरहे पनि पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ आएको छैन। आइतबार दिनभरीमा ६२ वटा मालबाहक साधन पानीट्यांकी हुँदै काँकडभिट्टा भित्रेका छन्।

‘शनिबार रातिसम्ममा ६९ वटा र आइतबार ६२ वटा मालबाहक गाडी नेपाल भित्रेका छन्’, मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले भने ‘तर, अहिलेसम्म खाना पकाउने ग्याँस एउटा मात्रै आयो । पेट्रोलियम पदार्थ बोकेका गाडी आएका छैनन् ।’ पानीट्यांकी नाकामा ग्याँस बोकेका ३ वटा बुलेट नेपाल आउने लाइनमा बसेको हप्ता दिन पूरा भइसकेको थियो । तिनै लाइनमा भएमध्ये एउटा यता आएको हो।

मेची भन्सार प्रमुख अधिकारीका अनुसार शनिबार र आइतबार गरी दुई दिनमा फलफूल, आलु, क्लिंकर, जुटलगायतका सामान नेपाल भित्रेका छन्। भारतीय सीमावर्ती नाका पानीट्यांकीमा रोकिएका सयौं मालबाहक गाडीमा तेल बोकेका गाडी एउटै छैनन्। आइतबार पूर्वी नाकाबाट भित्रेका जम्मा ६२ वटा गाडीमध्ये ३५ क्लिंकर, ८ वटा तेस्रो मुलुकबाट आएका कन्टेनर, ६ वटा आलु, एउटा प्याज, ४ वटा कोदो, एउटा सिलेट स्टोन, ३ वटा चना, एउटा मेशिनरी, एउटा जुट र रेजिन बोकेका दुई वटा ट्रक तथा कन्टेनर छन्।

इन्धन बाहेकका गाडी भारतले नेपाल पठाएको यो पहिलोपटक भने होइन । नाकाबन्दी नखुल्दै पनि त्यस्ता साधन छानी छानी पठाइरहेको उसले नाका खोलेको बताएपछि धेरै संख्यामा पठाइरहेको छ । ‘नेपालमा अहिले नै नभई नहुने सामान भनेको इन्धन र ग्याँस नै हो’, मेची उद्योग वाणिज्य संघका महासचिव बसन्त तिवारीले भने ‘आलु, कोदो त नभए पनि हुने अवस्था छ । तर, चाहिने सामान आएको छैन । समस्या यहीँ छ ।’nagariknews.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण