गृहपृष्ठ » मनोरञ्जन, साहित्यतिमीले सके तिमी काट,मैले सके म काटौंला !!

तिमीले सके तिमी काट,मैले सके म काटौंला !!

August 6, 2015५१६ पटक

जे.सागर

पृथ्वीनारायण शाहले त त्यतिबेला राज्यका सबै प्रदेश घुमेर नै आफ्नो दिव्योपदेशमा नेपाललाई चार जात छत्तीस वर्णको फूलबारी भने j sagar jiहोलान् तर म भने भर्खरै मात्र यो कुरामा विश्वस्त हुन सकें जबदेखि सामाजिक सञ्जाल फेसबुकमा जोडिएँ । चार हजार भन्दा बढी मित्रहरूसँग जोडिएर भावना साटासाट गरिरहँदा पृथ्वीनारायण कालिन समय र अहिलेको समयमा देखिने भिन्नता के हो भने त्यतिबेला कामको आधारमा जातलाई उँचोनिचो गरेर वर्गीकरण गरिन्थ्यो अहिले म विचार र सोचाइको दायराको आधारमा वर्गीकरण गरिरहेछु कमसेकम मेरो आफ्नै मनको मुल्यांकनबाट ।मेरो मनले गरेको वर्गीकरण अनुसार मेरो फेसबुकमा कैयन मित्रहरू जन्मको आधारमा ब्राह्मण तर सोचाइ र कर्मको आधारमा कामी छन् । कैयन मित्रहरू जन्मको आधारमा कामी तर विचार र कर्ममा उपाध्याय ब्राह्मण छन् । यहाँनेर ‘ब्राह्मण’ र ‘कामी’ शब्दलाई अतिरञ्जित ब्याख्या नगरियोस् ,मैले  परम्परागत उँचो र निचोको जनाउने शब्दलाई बिम्बको रुपमा मात्रै प्रयोग गरेको हुँ ,नत्र शब्दमा केही छैन ।

म ,जन्म लिएको कोखको आधारमा उपाध्याय ब्राह्मण ,धर्मको आधारमा सनातन हिन्दु धर्मावलम्बी,प्रदेशको आधारमा पहाडिया, वर्णको आधारमा आर्यन हुँ । यस अर्थमा अहिले सर्वत्र बहस चलिरहेको जातीय, क्षेत्रीय ,वर्गीय र धार्मिक मुद्दाको हिसाबले हेर्ने हो भने म सबैले आरोपित गरिरहेको त्यो शोषक बाहुन हुँ ।दलित र जनजातिलाई दबाएर माथि उठ्न नदिने पीडक हुँ । मधेसीलाई दोस्रो दर्जाको नागरिक सम्झने पहाडिया हुँ ।समग्रमा म सबैको निशाना हुँ, म सबैको तारो हुँ ।सबै मलाई काट्न आतुर छन् ,सबै मेरो रगत चाट्न आतुर छन् । म कस्तो परिवार र परिवेशमा जन्मिएँ ,हुर्किएँ ,मलाई कस्तो संस्कार सिकाइयो त्यसलाई एकछिन पर राखेर यतिबेला म मेरो वैयक्तिक सोच, आचरण,व्यबहार र अनुभवको कुरा उल्लेख गर्न चाहन्छु ।

म अहिले प्रवासमा छु, यहाँ नेपाली त परै जाओस् भूगोलको सबै महादेशका मान्छेहरुसँग भाइचारा राखेरै बसेको छु, हिजो सेता जातीले सिक्रीले बाँधेर बजारमा बिक्रीको लागि राख्ने अफ्रिकी काला जातिको युगाण्डान ड्यानिएल मेरो रुम पार्टनर छ । अस्तिसम्म जातीय स्वतन्त्रताको माग राखेर वर्षौंसम्म  गृहयुद्ध लडेका,गोलिको छर्‍आले छरछर भएर तिघ्राको मासु गालामा टाँसेको श्रीलंकालि तामिल टाइगर्स गुरिल्ला प्रियंन्त अनुरा अहिले मेरा मेस पार्टनर छ । , धार्मिक अतिवादी र आतंककारीको नामले विश्वमा चिनिने,अहिले पनि धर्मकै नाममा दैनिक दर्जनौं हताहत भैरहने मुलुक पाकिस्तानको यासिर अहमद म सँगै भइन भने एक्लै खाना खाँदैन ,कुरेर सँगै खान्छौं । बंगलादेशको मुल्लाह,फिलिपिन्सको मार्टिन सबै मेरा सहकर्मी हुन् । कसैले पनि सोध्दैनन तँ बाहुन हो ? तँ हिन्दु हो? तँ आर्यन हो ? र म पनि कसैलाई सोध्दिन तँ के हो ? किनकि हामी सबैलाई थाहा छ हामी मान्छे हौं । यो भन्द ठूलो परिचय के चाहियो !

मेरो फेसबुकमा मलाई धेरै जनाले मित्रताको अनुरोध पठाउनु हुन्छ। म पनि पठाउछु । जसले पठाउनु हुन्छ त्यतिबेला म हेर्दिन यसको थर के हो? त्यतिबेला म सोच्दिन यसले कुन धर्म मान्छ ? राई लिम्बू  गुरुङ मगरले अनुरोध पठाउँदा म खिसी गर्दिन यी बुद्धि नभएका लिंडे मूर्ख जात हुन् ,अनि आहारिस पनि हुन्न यिनीहरु राज्यको आरक्षण पाएर लाहुरे भएर धेरै कमाएका जातका सन्तान हुन् । नेवारलाई मैले मित्रताको अनुरोध पठाउँदा मेरो दिमागमा पटक्कै आउँदैन यो हामीलाई चुसेर धनी भएको दुष्ट जात हो । विश्वकर्मा ,बराइली, रसाइली, गजमेर मित्रहरूको उत्कृष्ट सिर्जना ,महान विचार पढिरहँदा लाग्दैन यी मेरा पुस्ताले अछुत भनेका तल्ला जात हुन् । म वेदका ऋचा झैँ श्रद्धा र सम्मानले ती सिर्जना वाचन गर्छु अनि गुरुकुलको शिष्यले झैँ झुकेर नमन गर्छु ।यद्यपि म त्यही शोषक बाहुन हुँ, म त्यही पासविक हिन्दु हुँ । म मधेसीलाई सधैं हेप्ने पहाडिया हुँ । जसलाई सिध्याउन अहिले सबै उद्यत छन् ।

यतिखेर कहाँनेर दु:ख लाग्छ भने फेसबुकका प्रतिक्रियाहरुमा हरदम अपनत्व देखाईरहने ,व्यक्तिगत कुराकानीमा आफ्नै कोखको भाइ झैं आत्मीयता दर्शाइरहने ब्राह्मण इतरका तिनै सहृदयी मित्रहरु नै ब्राह्मणको अन्त्य नै नयाँ सभ्यताको शुरूवात सोच्छन । हिन्दूको अस्तित्व मेटिनुनै आधुनिक समाजको पहिलो शृङ्खला सम्झन्छन् ।पहाडिया नाशिनुमैं मधेसको उत्थान देख्छन् ।लामो नाकलाई नै विकासक्रम रोक्ने पहाड भन्ठान्छन । कसैले एकपटक पनि सोच्ने चेष्टा गर्दैन ब्राह्मण कुलमा जन्मेर,हिन्दु भएर, विश्वविद्यालयको उच्च शिक्षा हासिल गरेर पनि कथित उपल्लो दर्जाको रापले पोलेर खाडीमा खजुरको बोटमुनी छाया खोजिरहेको बाहुन पुत्रको मनमा के गुज्रिएको होला ?

विभेद नभएका हैनन पुर्खाबाट । दासता नथुपारिएका हैनन केही धुर्तहरुबाट ।धर्मको झुटो साबिती बयान दिएर कुसंस्कारको बिज पनि नरोपेका हैनन केही ठेकेदारहरुले ।तर त्यसको सिंगो मुल्य किन चुकाउनु पर्छ अहिले यो निर्दोष पुस्ताले ? हो, सदियौंदेखि जरा गाडेको संस्कार एकैचोटि निर्मुल पार्न त चाहेर पनि नसकिदो रहेछ । उदाहरणको लागि म जतिसुकै चेतनशील,शिक्षित र आधुनिक छु भनेपनि मैले मेरा बाबुआमालाई छुवाछूत चटक्कै छोड्नुस भनेर मनाउन सक्दिन संगै अर्को सत्य के पनि हो भने मेरा बाबुआमाले जतिसुकै संस्कारको पाठ पढाएपनि मलाई यस्ता कुराले छुँदैनन । कमसेकम मेरा सन्तान यस्ता कुरितीबाट पूर्ण मुक्त हुनेछन् ।हैन तँ बाहुन भएर जन्मनुनै गलत गरिस, हिन्दु हुनु नै तेरो अपराध हो,पहाडिया हुनु नै तेरो शोषकको आइ डि कार्ड हो ,हामी तँलाई छोड्दैनौं भन्छौ भने जीवन सबैलाई प्रिय हुन्छ म पनि उसै घाँटी थापेर बस्दिन ।आउ ,तिमीले सके तिमी काट ,मैले सके म काटौंला ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण