सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई सास्ती
भक्तपुर, असोज २१ – निजामति अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुर कमलविनायककी ६६ वर्षीया अप्सरा कार्की घर पुग्दा थप बिरामी पर्नुभयो । भक्तपुर जान दिउँसो ३ बजेदेखि साधन कुरे पनि आधा घण्टापछि पुरै भरिएर आएको रत्नपार्क कमलविनायक जाने बसमा काच्चिएर चढेपछि नै उहाँले सास्ती खेप्नु परेको हो ।
उहाँ मात्रै होइन उहाँलाई अस्पताल लिएर जाने नातिनी १८ वर्षकी सुवर्ण कार्कीले समेत बसभित्रै अभद्र व्यवहार सहनु पर्यो । इन्धन अभावले सार्वजनिक यातायातका साधनहरु निकै कम मात्रै सञ्चालन भएपछि बसमा यात्रा गर्ने ज्येष्ठ नागरिक, महिला र बालिबालिकाले सास्ती खेप्नु परेको परेको छ ।
अप्सराले भन्नुभयो ‘आधाघण्टा कुरेपछि बस चढियो, भीडको ठेलमठेललै उल्टै थप बिरामी पार्यो, कतिखेर कमलविनायक आउँला र लामो स्वास फेरुलाँ जस्तो भयो, अब भक्तपुरमै उपचार गर्छु, जान्न काठमाडौं ।’ सुवर्णले हजुरआमाले निकै सास्ती खेप्नु परेको बताउँदै भीडमा महिलामाथि दुर्व्यहार हुने गरेको सुनाउँनुभयो । उहाँले भन्नुभयो ‘बसमा निकै सकसपूर्ण यात्रा हुन थालेको छ, भीडमा ठेलमठेल हुँदा निकै अभद्र व्यबहार हुन्छ, सहनुको विकल्पै भएन ।’
भक्तपुरका सूर्यविनायककी साबित्री बस्नेतले पनि बसमा उस्तै पीडा भोग्नु पर्यो । ४ वर्षको छोरा लिएर माइती चावहिलबाट घर फर्किदा छोरालाई जोगाएर ल्याउनै मुस्किल परेको उहाँले बताउनुभयो । नयाँ बसपार्कबाट भक्तपुर आउँने बसमा आएकी बस्नेतले सूर्यनिकायकमा बसबाट झरे लगत्तै रुँदै गरेको छोरालाई फकाउँदै टुसुक्क बस्दै भन्नुभयो ‘धन्न ज्यान जोगाएर आइयो ।’ उहाँले भन्नुभयो ‘एक घण्टा बस्दा बल्ल भक्तपुरको बस आयो, त्यो पनि चढ्नै नसक्ने भीड, अर्को बस कुर्दा आउँला नआउँला भनेर कोचिएरै आईयो, तर बस भित्रको ठेलमठेल स्वास फेर्न पनि गाह्रो भो, कहिलेसम्म होला यस्तो समस्या ?’ सार्वजनिक यातायातमा यात्रा गर्ने यी त उदाहरण पात्र मात्रै हुन् ।
इन्धन अभावले पर्याप्त रुपमा सवारी साधान नचलेपछि सार्वजनिक यातायातका साधनमा यात्रा गर्ने अधिकांश ज्येष्ठ नागरिक, महिला र बालवालिकाले अचेल निकै सास्ती खेपेरै यात्रा गर्नुपर्छ । बानेश्वरमा रहेको सहकारी संस्थामा कार्यरत भक्तपुर सल्लाघारीमा बस्ने २३ वर्षकी रमिता श्रेष्ठको अनुभन पनि उस्तै छ । एकसातादेखि सार्वजनिक यातायातको साधनमा यात्रा गर्न थालेको उहाँको यात्रा निकै कठिन र सकसपूर्ण हुने गरेको बताउनुहुन्छ । ‘म स्कुटर मै अफिस जान्थे, तेल नपाएपछि बसमा जान थालेको एकहप्ता भयो’ उहाँले भन्नुभयो ‘सधै नै भिडमा कोचिएर यात्रा गर्नुपर्छ, नियत नराम्रा भएकाले अझै ठेल्ने गर्छन्, बरु हिडेरै जाऊँ जस्तो लाग्छ, सम्भव नहुँदा सहेरै भएपनि जानैपर्छ ।’
भारतले गरेको अघोषित नाकाबन्दीका कारण चुलिएको इन्धन अभावले यात्रा कठिन हुने गरेको पुरुष यात्रीहरुको पनि गुनासो छ । पुरुष यात्रीहरु झुण्डिरु र छतमा बसेरै पनि यात्रा गर्ने गरेपनि बसको भित्र बस्ने पुरुष यात्रीले सकसपूर्ण रुपमा नै यात्रा गर्नु परेको बताउँछन् ।
दैनिक सार्वजनिक यातायात मै यात्रा गर्ने लोकन्थलीको बसन्त श्रेष्ठले विगतमा धरै सवारी साधन पाईने हुँदा यात्रामा केही सहज हुने गरेपनि अहिले जस्तोसुकै भीड बस आएपनि यात्रा गर्नु पर्ने बाध्यता रहेको बताउनुहुन्छ ।
सबैले भोगेको समस्या भएकाले सहेरै यात्रा गर्नुपर्ने बाध्यतार रहेको बताउँदै उहाँले यस्तो यातायातका साधनमा पाकटेर मार सक्रिय हुने भएकाले सहज हुनुपर्ने बताउनुहन्छ ।