गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारचीनसँगको कोरल्ला नाका खोल्न संभव रहेको ठहर

चीनसँगको कोरल्ला नाका खोल्न संभव रहेको ठहर

October 8, 2015२६३ पटक

पर्वत, असोज २१ – उत्तरी मुस्ताङ्गको कोरल्ला नाका सञ्चालन गर्ने बारे अभ्ययन गर्न गठिन प्राविधिक टोलीले नाका खोल्न संभव रहेको ठहर गरेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब देवेन्द्र कार्कीको नेतृत्वमा कोरल्ला पुगेर फर्केको प्राविधिक टोलीले नाकासम्म सडक सम्पर्क स्थापित भएकाले नाका खोल्न संभव भएको प्रतिबेदन दिएको हो ।  प्राविधिक टोलीले पर्वतको मालढुंगादेखि कोरल्लासम्म बर्षमा ८ महिना सहज हिसाबले सडक सञ्चालन गर्न सकिने बताएको छ । बाँकी ४ महिना पनि हिउँ हटाएर सडक सञ्चालन गर्न सकिने बिकल्प दिइएको छ । प्राविधिक टोलीमा सहसचिव देबेन्द्र कार्कीसहित सडक विभागका पश्चिमाञ्चल निर्देशक उत्तमलाल प्रधान र सडक डिभिजन बाग्लुङ्गका प्रमुख राजेश पौडेल सम्मिलित हुनुहुथ्यो । ‘हामीले ८ महिना सडक सञ्चालन गर्न सकिने प्रतिबेदन दिएका छौ’ पौडेलले भन्नुभयो ‘सडकका कारण समस्या छैन, नाका खोल्न कुटनीतिक पहल हुनुपर्छ ।’

पर्वतको मालढुंगादेखि कोरल्लासम्मको १ सय ९० किलोमिटर लामो मालढुंगा– जोमसोम– कोरल्ला सडकमा अहिले पनि गाडी चलाउन सकिने भएकाले मालसामान तिब्बतबाट ढुवानी गर्न सकिन्छ ।

मालढुंगादेखि जोमसोमसम्मको ९० किलोमिटरसम्म ठुला मालबाहाक ट्रक जान सक्छन भने कालीगण्डकी नदी तरेपछि ४० किमी छुसाङ्गसम्म सडकको सोझो पहुँच छ । छुसाङ्गमा कालीगण्डकी नदीबाटै मालबहाक सवारीहरु ओहोर दोहोर गर्दै आएपनि बर्षा याम लाग्नुअघि बेलीब्रिज राख्नुपर्ने तथा चैले र केही स्थानमा मोड सुधार गर्नुपर्ने देखिएको डिभिजन प्रमुख पौडेलले बताउनुभयो ।

कोरल्ला नाका समुन्द्री सतहबाट करिब  ४ हजार ७ सय किलोमिटरको उचाईमा रहेका कारण बाक्लो हिमपात हुँदा बढीमा दुई महिना मात्रै रोकिन सक्ने देखिएको छ । ‘कम उचाईको नाका भएकाले हिउँले धेरै समय अबरुद्ध गर्न सक्दैन’ कोरल्लादेखि सुनौली जोड्ने कालीगण्डकी लोकमार्ग अभियानका अगुवा भोलानाथ शर्माले भन्नुभयो ‘बाक्लो हिमपात भएको समयमा बाहेक हिउँको असरमा नरोकिने सबैभन्दा परपर्दो नाका हुन सक्छ ।’

हिमालपारी भएपनि होचो भूभागमा रहेका कारण यो नाका नै नेपाल र चीनका बिचमा सहज हिसाबले पारबहन गर्ने नाका बन्ने मुस्ताङ्गका पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका शर्माको दाबी छ । चीनले तीब्बतको काराकोरमदेखि पाकिस्तानसम्म ५ हजार मिटर उचाईमा समेत बाह्रैमहिना सडक सञ्चालन गरिरहेकोले सोही प्रविधिमा सडक बनाउने हो भने यो नाका पनि बाह्रै महिना चल्न सक्ने बिज्ञहरु बताउँछन ।

नाका खोल्न मुस्ताङ्गबासीको माग

यो नाका उत्तरदक्षिण जोड्ने प्रमुख नाका बन्ने भएकाले यसलाई तत्काल सञ्चालन गर्न सरकारले कुटनैतिक पहल गर्न मुस्ताङका बासिन्दाले माग गरेका छन । मुस्ताङ्गमा बसेको सर्बपक्षिय र सर्बदलीय बैठकले सडक सम्पर्क कायम भएको प्राविधिक प्रतिबेदनसमेत आइसकेको अवस्थामा तत्काल नाका खोल्न कुटनैतिक पहल गर्नुपर्ने निर्णय गरेको हो ।   अहिले आठ महिना सहज पहुँच हुने तथा बाँकी चार महिना पनि सडक मोड सुधार लगायत अन्य अवरोध हटाई बाह्रैमास चलाउन सकिने प्राविधिक प्रतिवेदन प्राप्त भएकोले नेचुङ–लिजी नाका खुलाउन परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिनुभयो  ।

‘सबै हिसाबले महत्वपुर्ण हुने यो नाका खुलाउनका लागि हाम्रो तर्फबाट पहल भैरहेको छ, केन्द्रले चीन सरकारसँग सहमति गर्नुपर्छ भन्ने सर्बपक्षिय निर्णय सरकारमा पठाएका छौं’  प्रजिअ बरालले भन्नुभयो । नेपालका परराष्ट्र सचिव र चीनका राजदुतका बिचमा सन २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो । अहिले त्यहाँ धेरै समयपछि सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय राखिएको छ भने नेप्चुङ्गमा भन्सार कार्यालयसमेत सञ्चालनमा आइसकेको छ ।

नाका सञ्चालन गर्न र सुख्खा बन्दरगाहा बनाउका लागि अहिले सिमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको छ । भन्सार, सुरक्षा निकायका लागि ५ सय रोपनी भन्दा बढी जमिन अधिग्रहणका लागि काम भैरहेको उहाँले बताउनुभयो ।

तस्बिर : गणेश पौडेलको फेसबुकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण