तरकारी पकाउन तताएको तेलले घर जल्यो
खोटाङ, असोज २१ – केटाकेटीले तरकारी पकाउने क्रममा आगलागी भएर खोटाङमा एउटा घर नष्ट भएको छ । तरकारी पकाउन कराहीमा तताएको तेलबाट आगो उठ्दा बाहुनीडाँडा–१ नम्नाखुका अम्बरबहादुर अधिकारीको घर जलेको हो ।
बुधबार राती कराहीको तेलबाट उठेको आगो अगेनामाथि राखेको मकै हुँदै फैलिएर घर जलेको छ । अधिकारीको घर तथा घरभित्र राखिएका मालमत्ता, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, नागरिकता लगायतका सबै सामग्री जल्दा ३ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीचौकी च्यास्मिटारको प्रारम्भिक अनुमान छ ।
अधिकारीका ७ जनाको परिवारलाई वर्षे कटेरामा राख्ने तयारी गरिएको स्थानीय वडा नागरिक मञ्चका संयोजक पुष्पराज राईले बताउनुभयो ।