गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारसिरियामा बेचिएकी नेपाली चेलीका १७ महिना

सिरियामा बेचिएकी नेपाली चेलीका १७ महिना

October 9, 2015९४६ पटक

म नेपाल फर्किएँ, पूजा र सजिना हराए

Reshmee-Magar

गेनु रेश्मी मगर, बुटवल

सिरियाको राजधानी दमास्कस सहरको अलमजदिज बजरास्थित एउटा घरमा मैले १७ महिना काम गरें । एक महिला र तिनका दुई जवान छोराहरु थिए घरमा । महिला असाध्यै मोटी थिइन्, उनका पतिको चार वर्षअघि मृत्यु भएको, दुई छोरीहरुको विवाह भइसकेको थियो । दुई छोराहरु अत्यन्तै बदमास थिए ।

घर एक तलाको तर ठूलो र फराकिलो थियो । त्यही घरको सरसफाइ र दुई छोरा अनि आमाको स्याहार सुुसार, भातभान्छामा बिहान सरदर ४ या ५ बजेदेखि राति १२ बजेसम्म घरमा काममा जोतिनु मेरो नियमित काम बन्यो । घर, ट्वाइलेट, बाथरुम दिनको दुई पटक सफा गुर्न पथ्र्यो, घरधनी र दुई छोराहरुको कपडा धुने, आइरन गर्ने, बेड सफा गर्ने, खाना बनाइदिने सबै काम मेरै जिम्मामा थियो ।

मेरा लागि एउटा लो बेड अट्ने सानो कुचुक्क परेको कोठा थियो । मेरा कोठामा जानका लागि भर्‍याङ लगाएर चढ्नुपथ्र्यो, राति सुत्ने बेला र बिहान उठ्नेवेला बाहेक अरु समयमा म त्यो कोठामा चढ्न पाउँदिन थिएँ । खासमा त्यो कोठाजस्तो मात्र थियो, तर कोठा थिएन ।

खानेकुरा भने उनीहरुले खाइसकेपछि बाँकी रहेको खाना मात्रै मैले पाउँथें । उनीहरुका गाली मेरालागि सामान्य थिए । मैले दुई छोराहरुको घोग्र्याइ मुन्ट्याइ र कुटाइ कति खाएँ, भनी साध्य छैन । खाना नराम्रो भएको, कपडाहरु सफा नभएको, ट्वाइलेट, बाथरुम सफा नभएको, पैसा हराएको इत्यादि बाहानामा मैले यातना खेप्नुपथ्र्यो ।

विदाको त कुरै छाडौं, त्यो घरको चार किल्लाको पर्खाल बाहिरसम्म जाने मलाई अनुमति थिएन । काम गरेको ४ महिनामा मात्रै घरको वाइफाइको पासवर्ड दिएपछि मोवाइलमा फेसबुक चलाएँ । फेसबुकमै परिवारसँग र मसँगै सिररिया पुर्‍याईएकी सजिना लामासँग कुरा गर्ने मौका पाएँ ।

नेपालको माटो टेक्दा अनुभूत भएको खुशी म व्यक्त गर्नै सक्दिँन । म बेहोसजस्तै भएँ । बहिनी हेमालाई देख्दा म कति रुन्छु होलाजस्तो लागेको थियो । तर, अरु नेपालीलाई हेर्दाहेर्दै म त बेहोस भएँछु

सिरियाका बारेमा जानकारी पाएँ, सिरियामा नेपाली दुतावास छैन भन्ने पनि थाहा पाएँ । यही समयमा मैले मेरी बहिनी हेमा रेश्मी मगरलाई मेरो दर्दनाक कथा फेसबुकमै बताएको थिएँ ।

घरमा सीसी क्यामेरा जडान गरिएको थियो । यहाँसम्म कि घरभित्र भान्छा घरसम्म सीसी क्यामेरा थियो । मेरा हरेक गतिविधि उनीहरुले कम्प्युटरमार्फत हेरिरहेका हुन्थे भोक लागेर मर्नै लागेका बेलामा समेत केही खान्न थिएँ । किनभने मैले कुटाइ खानुपथ्र्यो । पीडा अति हुन्थ्यो । लाग्थ्यो, यो घरबाट बाहिर निस्कन पाए हुन्थ्यो । यहाँबाट हुने भए भाग्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर, कम्पाउण्ड भन्दा बाहिर जान दिँदैनथे । मैले भागेर पनि जाने ठाउँ अन्त कतै थिएन । पासपोर्ट घरधनीसँगै थिया । यातना नभोगेको दिन हुँदैनथ्यो । तर, सहेर एक्लै रोएर बस्नुको कुनै विकल्प थिएन ।

त्यो यातनागृहमा ७ महिना बिताइसकेकी थिएँ, उकुस मुकुस भएकी थिएँ । यो नरकबाट जसरी पनि उम्किन्छु भनेर नेपालमा आमा बिरामी भएको बहाना बनाएर घरधनीसँग रोईकराई गरेर म नेपाल फर्किन्छु भनें, ती महिलाले तँलाई मैले ६ हजार अमेरिकी डलर तिरेर ल्याएकी हुँ, फिर्ता दे अनि जा भनिन्, । दिनरात रोईकराई गरेपछि एक दिन गाडीमा हालेर मलाई त्यो घरमा मलाई सप्लाई गर्ने कार्यालयमा पुर्‍याइदिइन् । सात महिनापछि पहिलोपटक मैले बाहिरी संसार देख्ने मौका पाएँ । घाम देखें ।

मलाईजस्तै विभिन्न देशका युवतीलाई सिरियाको विभिन्न घरमा सप्लाई गर्ने सिरिएन नागरिकले चलाएको कार्यालयमा काम गर्ने ईन्डोनेसियन केटीले म नेपाल जान्छु भान्नासाथ मेरो गालामा निरन्तर १० झापट हानिन् । तर, त्यतिबेला दस झापटको पीडा भन्दा सात महिनापछि बाहिरी संसार देख्न पाएको र घाम हेर्न पाएकोमा म खुशी थिएँ ।
रीना नाम गरेकी ती युवतीले कुटपिट गरेपछि काममा फर्की, नत्र ५ वर्ष जेलमा हालिदिन्छु भनिन् । मेरो नेपाल फर्किने सपना त्यतिकै तुहियो । जेल बस्नु भन्दा त बरु त्यही घरमै काम गर्छु भनेर फेरि त्यही घरमा फर्किएँ ।

यातनाका ९ महिनापछि अर्को पीडा थपियो । मेरो वायाँ छातीमा घाउ भयो । त्यसको संक्रमण बढिरहेको थियो तर, औषधोपचार त्यो धेरै परको कुरा थियो । मसँग पैसा थिएन, भए पनि बाहिरी संसारबाट म टाढा थिए । एक महिना त्यतिकै बिताएँ । मेरो अवस्था निकै कमजोर भएपछि बल्ल अस्पताल लगे ।

डाक्टरले घाउको शल्यक्रिया गर्नुपर्छ भने । पहिलो शल्यक्रियाले काम नगरेपछि दोस्रोपटक शल्यक्रिया भयो ।

अस्पतालमा रहँदा बाहेक मैले कामबाट मुक्ति पाइँन । पीडा सहेर एउटै हातले निरन्तर काम गरें त्यस्तो अवस्थामा समेत मैले आराम पाइँन । थकाइले लखतरान भएर खुट्टा खुम्च्याएर बस्दा पनि कुटाइ खानुपथ्र्यो । बेहोस भएर तीनपटक ढलें ।

अब जसरी पनि यहाँबाट उन्मुक्त हुने हिम्मत गरेर मेरो अवस्थाका बारेमा बहिनी हेमालाई खबर पठाएँ । बहिनी मार्फत नेपालको अनलाइन माध्यममा घरधनीको फोन नम्बर र थप विवरणसहित समाचार सार्वजनिक भएपछि मेराबारे सबैलाई थाहा भयो । त्यसपछि जिफन्ट प्रवासी कमिटीमार्फत ईजिप्ट राजदुताबास हुँदै मैले काम गर्ने घरमै दुतावासबाट फोन आयो ।

त्यो घरमा दुतावास तथा अरुको फोन आउनासाथ मलाई कुटपिट गर्न थालियो । मेरो इन्टरनेट सेवा काटिदिए । मसँग झन रिसाए । झन काममा पेल्न थाले । मैले नेपाल फर्किँदा ६ हजार डलर उनलाई दिनुपर्ने माग गर्दै आएकी ती महिलाले त्यसपछि ७ हजार ५ सय डलरको माग गर्न थालिन् ।

एक दिन सिरियाकै तीनजना नागरिकहरु घरमै आएका थिए । उनीहरुले घरधनी र मसँग पनि कुरा गरे । कस्तो भनेर सोधे । मैले तिनीहरु को हुन् भन्ने सुरुमा चिनिँन, मलाई केही भएको छैन, मैले परिवारलाई मिस गरिराछु म नेपाल फर्किन चाहान्छु भने । उनीहरु इजिप्टको कायरो स्थित नेपाली राजदुतावासको पहलमा आएका रहेछन् । उनीहरुले दश दिनमा सबै काम हुने बताए ।

तिनीहरु आउनुअघि मलाई घरधनीले सुरुमा नुहाउन लगाइन्, मेकअप गर्न लगाइन्, कपाल खुल्ला छाड्न लगाइन्, नयाँ कपडा लगाउन भनिन् म अचम्ममा परें म फेरि बिक्री भएँ कि क्या हो भन्ने लागिरहेको थियो । यसो गर्नुको कारण उनीहरुको छेउमा विभेद गरेकी छैन, राम्ररी राखेकी छु भन्ने देखाउनका लागि रहेछ ।

जब तिनीहरु गए, जानेबित्तिकै मसँग घरधनीले ६ हजार डलर माग्न थालिन् । घरमा फोन गरेर पैसा माग् भन्न थालिन् । तर मप्रतिको व्यवहारमा केही नरमपन आइरहेको थियो । के खान्छेस् भन्दै सोध्न थालेका थिए ।

दोस्रोपटक पुनः तिनै सिरियनहरु आए । त्यतिबेला मलाई भान्छा घरमा थुनेर राखे । तेरो पासपोर्ट लिएर गएका छन्, टिकट बनाएर ल्याउँछन्, अब तँ नेपाल जान्छेस भने । तर, ढाँटेका रहेछन् पासपोर्ट तिनैसँग रहेछ ।

यसरी तीन महिना यत्तिकै बितिसकको थियो, मेरो नेपाल फर्किने आश पनि मर्दै गयो ।

मलाई लिन सिरियनहरु आउँदैरहेछन् । मलाई तयारी हुन लगाइयो, कपडाहरु प्याक गर्न लगाइन् । ब्याग तयारी गरें, मेरो खुशीको सीमा थिएन ।

यत्तिकैमा आमाछोराहरु तिनै जना आए, मेरो प्याक गरिएको ब्याग खोले । उनीहरुले मलाई दिएका कपडाहरु एक-एक गरेर झिके । त्यसपछि मेरो शरीर पुरै खानतलासी लिए । मैले उभिएर साथ दिइरहें । मेरो शरीरबाट केही फेला पारेनन् । ती महिलाले अन्ततः मेरो मुखमा थुकिदिइन् । मैले केही भनिँन । उनीहरु ढोका घड्याप्प थुनेर भित्र पसे ।

१७ महिना त्यो घरमा काम गरेकी थिएँ तीमध्ये १ सय ६० डलरप्रति महिनाको हिसावले ६ महिनाको तलव दुई किस्ता गरी तिनै रोजगारदाताले घर पठाइदिएका थिए । बाँकी १० महिनाको तलब मैले पाउनु थियो ।

हिँड्नेवेलामा मलाई उद्धार गर्न आएका सिरियाका नागरिकले बन्द ढोका ढक्ढकाएर काम गरेको पैसा दे भनेर कराए ।
उनीहरु बाहिर निस्किएर एउटा दश र दुईवटा ५/५ का डलर थमाइदिँदै बाँकी पैसा बिरामी हुँदा उपचार खर्च, भिषा शुल्क वापत खर्च भएको बरु अझै आफुले पाउनुपर्ने भन्दै फेरि ढोका लगाए ।

पैसा भन्दा पनि मेरा लागि नेपाल फर्किनु महत्वपूर्ण थियो । म यतिकै जान्छु, जाऔंं भनें ।

हामी सिरियाबाट लेवनान बोर्डर हुँदै इजिप्टको कायरो जानु थियो । मलाई ट्याक्सीमा राखेर ल्याइँदै थियो । मसँग जहाजको टिकट थियो । तर, पासपोर्टमा भिसा लागेको थिएन । त्यही कारण मलाई बोर्डरबाट छिर्न दिइएन । हामी सिरियातर्फ फर्कियौं ।

वहाँहरुले इजिप्टको दुतावासमा जानकारी गराउनुभयो दुतावासबाट पुन बोर्डरमा अनुरोध गर्नु भएपछि छिर्न दियो । त्यो रात ईजिप्टस्थित नेपाली राजदुतावासमै मलाई बस्ने व्यवस्था मिलाइदिनुभयो । वहाँहरुको परिवारसँगै वसेर खाना खायौं ।

बेरुतबाट दुबई हुँदै ०७२ असोज २ गते अपरान्ह ५ बजेर १० मिनेटमा काठमाण्डौं ओर्लिएँ । नेपालको माटो टेक्दा अनुभूत भएको खुशी म व्यक्त गर्नै सक्दिँन । म बेहोसजस्तै भएँ । बहिनी हेमालाई देख्दा म कति रुन्छु होलाजस्तो लागेको थियो । तर, अरु नेपालीलाई हेर्दाहेर्दै म त बेहोस भएँछु ।

यसरी पुगें सिरिया :

घरको आर्थिक अवस्था राम्रो थिएन बुटवल शंकरनगर वडानम्बर ३ मै अढाई लाख ऋण लिएर भएका केही पैसा लगानी गरेर बहिनी हेमासँग ०७० मंसिरमा ब्युटिपार्लर खालेकी थिएँ । ५ महिना भइसकेको थियो खासै व्यापार राम्रो भएको थिएन ऋण तिर्न सकेकी थिइँन । बैदेशिक रोजगारीमा दुबई गएका दाइ काम गर्ने क्रममा हातमा गम्भीर चोट लागेर फर्किनुभएको थियो, घर चलाउन समेत धौधौ परिरहेको थियो ।

शोभाकान्त भट्टरार्इ

मेरा सबै रामकहानीका साक्षी थिएँ । मेरी छिमेकी साथीका दाइ पेशाले वैदेशिक रोजगारमा मान्छे पठाउने एजेण्ट थिए शोभाकान्त भट्टराई । उनले मलाई भेटेर दुबईको एउटा कम्पनीको कार्यालयमै काम गर्ने महिला कामदारको माग आएको छ, कमाउने राम्रो चान्स छ जान्छौ भने म मिलाइदिन्छु ।

८० हजार लाग्छ, जानुअघि भिसा र प्रशासनिक खर्चका लागि ३० हजार दिनु, बाँकी कमाएर मलाई दिँदा हुन्छ भने । पार्लर नचलिरहेको, घरको आर्थिक संकट, तत्काल थोरै पैसा तिरे पुग्ने, मलाई के खोज्छेस् …. आँखा भनैझै लाग्यो । दुई वर्ष दुःख गर्छु राम्रै कमाउँछु घरका सबै समस्या समाधान गर्छु भन्ने मनमा अनेक कुरा खेले । बुबालाई सोधें, ठिकै छ जाउ न त भन्नुभयो । मैले जाने निधोका साथ ३० हजार पनि बुझाएँ ।

एजेण्ट शोभाकान्त भट्टराईले दिल्लीको बाटो जानुपर्छ भन्दै काठमाण्डौंबाट दुईजना युवतीहरु (पूजा लामा हेटौडा, सजिना लामा धरान)लाई काठमाण्डौंबाट लिएर बुटवल आइपुगे । मैले किन दिल्लीबाट भनेर सोधें, उहाँले काठमाण्डौंबाट जाँदा १ लाख लाग्ने भो, अनि तिम्रो उमेर पनि २५ वर्ष मात्र भएकाले भारतबाट जानुपर्ने भो भने । दुईजना अरु युवती पनि रहेकाले केही बोलिँन । होला त नि भन्ने ठानें ।

हामी ०७१ साल बैशाख १८ गते सुनौली नाका हुँदै भारतको दिल्ली हिँड्यौं । करिव २४ घण्टा रेलको यात्रापछि दिल्ली पुग्यौं ।

दिल्लीमा सात दिन बस्यौं । हामीसँगै थिए शोभाकान्त । उनले दिल्लीस्थित पन्चु लामा नामका व्यक्तिको चाइनिज रेष्टुरेन्टमा पुर्‍याए । त्यहाँ अरु युवतीहरु पनि थिए । अब रमाईलो गर्नुपर्छ, दुबई पुगेपछि रमाइलो गर्न पाइन्न भन्दै हामीलाई एसी जडित कारमा राखेर ईण्डिया गेट घुमाउन लगे, त्यहीबेलामा सम्झना हुन्छ भन्दै फोटो पनि खिच्यौं खशी काटेर खुवाए । मैले ५ हजार बोकेकी थिएँ केही किनमेल पनि गरें ।

बायाँबाट पन्चु लामा, पूजा, सजिना, गेनु र शोभाकान्त

अब उड्ने भनेर हामी तीनै जनालाई बैशाख २४ गते एयरपोर्ट लगियो । साथमा पन्चु लामा पनि थिए । तर, हाम्रो टिकट नै बनेको रहेनछ हामी त्यतिकै फर्कियौं । एयरपोर्ट काउण्टरमा पन्चुले सिरिया जाने टिकट भनेको सुनेकी थिएँ ।

म त सिरिया होइन, दुबईका लागि आएकी, सिररियाको टिकट किन भनेर सोधें, दुबईमा तिमीले काम गर्ने मेडम सिरिया गएको रहेछ, त्यही भएर तिमी पनि सिरिया जानुपर्छ, एक महिनापछि फेरि दुबई आउने हो भने शोभाकान्तले । उनले धेरै सिरियामा बस्नु पर्दैन, सिरिया र अमेरिका उस्तै देश हो, त्यहाँ अमेरिकी डलर चल्छ, राम्रो देश हो भनेर मलाई फकाए ।

त्यसबेलासम्म मैले सिरिया भन्ने देशको नामसम्म सुनेकी थिइँन त्यसपछि मलाई शंका लाग्यो । हाम्रो पासपोर्ट र कागजात सबै शोभाकान्त र पन्चुको कब्जामा थियो ।

हामी बैशाख २५ गते दिल्लीबाट राति ९ बजे उड्यौं । ११ बजे ओमान ओर्लियौं । बिहान ५ वजे दुबईको जहाज चढ्नुथियो । तर, टिकटको पैसा तिरेका रहेनछन् । भएभरको कागजपत्र देखाइसक्यौं, हामीलाई दुबई जाने जहाज चढ्न दिइएन । एयरपोर्टमै रोकियौं ।

सजिना अलिअलि अंग्रेजी पनि बोल्थी । उसैले दिल्लीमा पन्चुलाई फोन गरिन् त्यसपछि पन्चु र शोभाकान्तकै मान्छेहरु त्यहाँ पनि रहेछन् तिनीहरुले टिकट मिलाइदिएपछि त्यसपछि दुबई पुग्यौं । त्यहाँ पनि त्यस्तै हाल भयो । त्यहाँ पनि दुई दिन एयरपोर्टमै अलपत्र भयौं ।

सँगै सिरिया गएकी पूजा र सजिना कहाँ छन्, कस्तो अवस्थामा छन्, मलाई थाहा छैन । सिरिया पुगेको ४ महिना हुँदा सजिनासँग फेसबुकमा सम्पर्क भएको थियो । त्यसपछि सम्पर्कमा छैनन् । उनीहरुको पनि तत्काल उद्धार होस्

यात्रा, भोक, तनाव र थकानले दुबईको सारजहाँ एयरपोर्टमा दुई दिन हामीतीनै जनाले सुतेरै बितायौं । हामीसँग पैसा पनि थिएन । खानेकुरा पनि केही थिएन । हामी आँखा उघार्न सक्ने अवस्थामा पनि थिएनौं ।

त्यहीबेला एकजना आफुलाई डा. बसाम सिरियाको भन्थे, उनले हामीलाई एक सय दिराम पैसा दिए । हाम्रो फोटो खिचेर गए ।

हामी सुतिरहेकै थियौं एकजना आएर हाम्रो पासपोर्ट मागेर लगे । १ बजे हामी जहाज चढ्यौं र अपरान्ह ४ बजे सिरियामा ओर्लियौं ।

हाम्रो पासपोर्ट हेर्नेबित्तिकै हामीलाई बाहिर जान दिएनन् एयरपोर्टका कर्मचारीहरुले । सबै निस्किसके हामी तीनजना मात्र भयौं । सबै पुरुषहरु थिए । अरबीमा कुरा गर्थे । तर, के भन्थे हामीले बुझ्न सकेका थिएनौं । सबैले हामीलाई नै हेर्थे । भोकले हामी तीनै जना हैरान थियौं । रात पर्दै थियो । बल्ल साँझ ७ बजे हामीलाई लिन मान्छे आए ।

त्यसले मलाई र पूजालाई मात्र तान्यो । तर, सजिनालाई त्यहीँ राख्यो हामी तीनैजना रुन थाल्यौं । हामीलाई जवरजस्ती तान्यो र सीसाको ढोका भएको ठाउँबाट बाहिर निकाल्यो । सजिना भित्रबाट, हामी बाहिरबाट चिच्याई चिच्याई रोइरहेका थियौं ।

हामीलाई बाहिर राखेर लिन आउनेले केही हस्ताक्षर गरेको देख्यौं । करिव १५ मिनटपछि सजिनालाई पनि ल्यायो । हामी फेरि रोयौं । एउटा कारमा हालेर हामीलाई बाहिर लगे । हामी तीनै जना एकअर्काको हात समातेर रोइरहेका थियौं । करिव १५ मिनटको यात्रापछि एउटा भवनमा पुर्‍याए । त्यसपछि हामीलाई एउटा फ्ल्याटमा लगियो ।

एकजना इन्डोनेसियन महिला र दुई सिरियन पुरुष थिए । उनीहरुले अरवी भाषामा कुरा गरिरहेका थिए । हामीलाई रातभरि त्यही फ्याटमा राखियो । त्यहाँ अरु पनि युवतीहरु थिए । सजिना अलि चतुर थिइन् । बुझ्दै जाँदा यो फ्याट युवतीहरु सप्लाई गर्ने मुख्य कार्यालय रहेछ । विभिन्न देशबाट ल्याइएका युवतीहरुलाई त्यही फ्याटबाट सिरियाभरि पठाइँदोरहेछ । हामीलाई पनि उनीहरुले पठाएको ठाउँमा काम गर्न भनियो ।

हामी काम गर्दैनौं, देश फर्कन्छौं भन्ने इन्डोनेसियन केटीहरुलाई ट्वाइलेटमा थुनियो । बंगाली केटीलाई तातोपानी खन्याएर यातना दिइयो । यस्तो यातना देखेपछि हामी आत्तियौं र बरु काम गरौं भन्ने सल्लाह गर्‍यौं

हामीले नेपाल फर्कन्छौं भन्यौं । एजेण्टलाई ६ हजार डलर दिएर तिमीहरुलाई हामीले किनेका हौं, नेपाल जान्छौं भने पैसा दिएर जाउ भने । तत्काल हाम्रो मेडिकल परीक्षण गरियो ।

हामी काम गर्दैनौं, देश फर्कन्छौं भन्ने इन्डोनेसियन केटीहरुलाई ट्वाइलेटमा थुनियो । बंगाली केटीलाई तातोपानी खन्याएर यातना दिइयो । यस्तो यातना देखेपछि हामी आत्तियौं र बरु काम गरौं भन्ने सल्लाह गर्‍यौं ।

सुरुमा पूजालाई लग्यो । त्यसपछि मेरो पालो आयो । मलाई हमात अहदे नाम गरेको केटोले मैले काम गर्ने घरमा पुर्‍याइदियो ।

सँगै सिरिया गएकी पूजा र सजिना कहाँ छन्, कस्तो अवस्थामा छन्, मलाई थाहा छैन । सिरिया पुगेको ४ महिना हुँदा सजिनासँग फेसबुकमा सम्पर्क भएको थियो । त्यसपछि सम्पर्कमा छैनन् । उनीहरुको पनि तत्काल उद्धार होस् । पूजा र सजिना मात्र होइन, सिरियामा अरु धेरै यस्ता युवतीहरु मैले देखेकी छु ।

(भीम राईज्वालासँग गेनुले गरेको कुराकानीमा आधारित)onlinekhabar.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण