महिला कामदारका लागि इजरायल खुल्यो
२२ साउन, काठमाडौ । महिला कामदारका लागि इजरायल जाने बाटो खुला भएको छ । विगत पाँच वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल महिला कामदार लैजान सहमत भएपछि महिलाका लागि यो अवसर जुटेको हो ।नेपाली महिला कामदार अब पुनः कामका लागि इजरायल जान पाउनेसम्बन्धी सम्झौता पत्रमा शुक्रबार सोमवार श्रम तथा रोजगार मन्त्रालयमा हस्ताक्षर हुँदै छ ।
यसका लागि इजरायली पक्ष नेपाल आइसकेको छ । नेपाली कामदारका लागि इजरायल आकर्षक गन्तब्यका रुपमा रहेको छ । आकर्षक गन्तब्य भएर पनि कामका लागि नेपाली इजरायलमा जानबाट बञ्चित हुनुपरेपछि श्रम मन्त्रालयले यस सम्बन्धमा आवश्यक पहल गर्दै आएको थियो । लामो प्रयासपछि अन्ततः इजरायली सरकार नेपाली महिला कामदार लैजान सहमत भएको राजधानी दैनिकमा खबर छ ।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले नेपाली महिला कामदारका लागि इजरायल आकर्षक गन्तब्यका रुपमा रहेकाले मन्त्रालयकै विशेष पहलमा पुनः महिला कामदार लैजाने विषयमा सहमति जुटेको बताए । उनकाअनुसार शुक्रबार यसले अन्तिम रुप प्राप्त गर्नेछ । तत्कालका लागि महिला कामदारमात्रै पठाउने विषयमा सहमति जुटेको बताउँदै उनले पुरुष कामदार पनि पठाउने विषयमा थप छलफल जारी रहने बताए ।
मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काका अनुसार शुरुमा ६० कामदार पठाउने विषयमा सहमति जुटेको छ । त्यसपछि इजरायली पक्षले दिने प्रतिक्रियाका आधारमा थप कामदार पठाउने बाटो खुल्नेछ ।