गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिनयाँ प्रधानमन्त्री र राजनीति

नयाँ प्रधानमन्त्री र राजनीति

October 12, 2015१६० पटक
अधुरो संविधानको घोषणासँगै मुलुकका केही भागमा देखा परेका असन्तोष, त्योसँग आफूलाई जोडेर भारतले लगाएको नाकाबन्दी अनि अमिबा शैलीमा खण्डित हुँदै गएको कथित सहमतिको राजनीति नेपालको नियति बन्न गएको छ ।
नेपालीहरू त्यसबाट अत्यन्त पीडित मात्र हैन, आक्रोशित छन् । यस्तो परिस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री चुनिएका छन् । स्वभावतः उनका चुनौती बढेका छन् ।
मुलुकलाई राहत दिने, आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनेदेखि नेपालको राजनीति सञ्चालन विदेशी शक्तिबाट हैन, सार्वभौम नेपालीको चाहनाअनुसार हुनेछ अब भन्ने पुष्टि उनले गर्नुपर्नेछ ।
बाह्रबुँदेसँगै भित्रिएको बाह्य हस्तक्षेपको सिलसिलाबाट व्यक्तिगत रूपमा एमाओवादी, नेपाली कांग्रेस र एमालेका अधिकांश ठूला नेताहरू विभिन्न चरणमा व्यक्तिगत रूपमा लाभान्वित भएका छन्, सम्भवतः केही सम्मानित अपवादबाहेक । ओली यता आएर नेपाली राष्ट्रियताको पक्षमा र बाह्य, खासगरी भारतको हस्तक्षेपकारी नीतिविरुद्ध खुलेरै उभिएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बाह्य शक्तिले खुलेरै ओलीविरुद्ध पैसाको खोलो बगाई चुनाव नतिजा प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । त्यति हुँदाहुँदै पनि ओलीको विजयले राष्ट्रिय स्वाभिमानको पक्षमा रहेका आम नेपालीको प्रतिनिधिको ठूलो संख्याको सच्चरित्र पनि स्थापित गर्दछ । तर तत्काल नेताहरूमा विश्वास गरिहाल्न सक्ने परिस्थिति आएको छैन । उनीहरूले आगामी दिनमा आफ्नो काम र चरित्रबाटै त्यसको प्रमाण दिनुपर्दछ, नेपाली जनतासमक्ष ।
ओलीको पक्षमा नीति, सिद्धान्त र राजनीतिक चरित्रमा विरोधाभासपूर्ण शक्तिहरू उभिएका छन् । राष्ट्रिय संकटमा त्यसो हुनु आश्चर्यको कुरा हैन, तर त्यो समीकरण राष्ट्रिय संकट समाधानमा दायित्वबोधका साथ त्यस्ता शक्तिहरूसँगै आएका हुन् या सत्ताका लागि ? त्यो महत्वपूर्ण हुन्छ ।
हिन्दु नेपाल र ‘संवैधानिक राजतन्त्र’ लाई प्रमुख मुद्दा बनाएर संसद्मा चौथो हैसियत हसिल गर्न सफल राप्रपा नेपाल र भारतको मध्यस्थतामार्फत नेपालको राजनीतिक केन्द्रमा आई आफ्ना एजेन्डा लाद्न सफल माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले कति सशक्त नेतृत्व क्षमता प्रदर्शन गर्न सक्लान्, त्यो सबैको चासोको विषय बन्नेछ । संविधान आएको छ । त्यसको कार्यान्वयनमा अनेक व्यवधान देखा परेका छन् ।
संविधान बनाउने नाममा राजनीतिक तहमा र खासगरी मन्त्रिपरिषद्भित्र, त्यो पनि एमाले र कांग्रेसका मन्त्रीहरू खुलेरै भ्रष्टाचारमा लिप्त भएका स्पष्ट प्रमाण देखा परेका छन् । ओलीले भ्रष्टाचार शून्य सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, के विश्वनीयता गुमाएका राजनीतिक नेताहरूमा उनी अपवाद बन्लान् र ?
त्योसँगै नेपालको राजनीति र संविधान निर्माणमा समेत भारतसँगै युरोपेली संघ र पश्चिमी धार्मिक संस्थाहरूले प्रभावित गरेको छर्लंग देखेका छन्, अनुभूति गरेका छन् । ओलीले देखेनन् भन्न सकिँदैन । त्यसबाट भावी सामाजिक र धार्मिक सद्भावसँगै राजनीतिमा पर्ने असरबाट कसरी मुक्त गर्ने त्यो चुनौती पनि ? ओलीसमक्ष उपस्थित भएको छ ।
मुलुकको राजनीति र स्थायित्व सुनिश्चित गर्न ‘सहमति’ र मेलमिलापबाट अगाडि बढ्ने प्रतिबद्धता गरेका दलहरू अब खण्डित हुँदै एउटा साँघुरो छाताभित्र एमाले र माओवादी मात्र ओत लाग्न आइपुगेका छन् । कांग्रेस बाहिरिएको छ ।
खण्डित राजनीति नेपाली स्वामिमान, अखण्डता र सार्वभौमसत्ताविरुद्धका बाह्य तथा आन्तरिक शक्तिहरूका लागि चलखेलको अखडा बन्न पाउने छैन भनी सुनिश्चित गर्नु नै ओलीको सबभन्दा ठूलो चुनौती र अवसर बन्नेछ । राष्ट्रिय र राष्ट्रवादी शक्तिहरूलाई सम्मान गर्न नसकेसम्म राष्ट्रहित सुनिश्चित गर्ने प्रतिबद्धताले व्यावहारिकता लिन सक्तैन, यो हेक्का उनले राख्नैपर्छ । सम्पादकिय : अन्नपुर्ण पोष्ट
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण