गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, समचारराष्ट्रवादको आधार

राष्ट्रवादको आधार

October 12, 2015२२१ पटक

धेरै मानिस विश्वब्रह्माण्डको केन्द्रभागमा आफैँ छु भन्ठान्छन्, त्यो ठूलो भ्रम हो । ब्रिटेनका दार्शनिक आर्नोल्ड टोयन्बीले भनेझैँ पृथ्वी आफ्नै वरिपरि घुमिरहन्छ भनेर सोच्नेहरूका कारण यत्र–तत्र सर्वत्र विश्वासको संकट विकराल बन्दै गएको हो । यसबाट हामी नेपाली पनि पीडित छौँ ।
स्वतन्त्रता बचाउने हो भने जनता अहर्निश सचेत हुनैपर्छ । जनताले नै आधारभूत राष्ट्रिय चरित्र बिर्सिदिएपछि ठूलो संकट आउँछ । इतिहासको चेतना, प्रबल देशभक्ति, राष्ट्र अविभाज्य र स्वाधीन रहिरहोस् भन्ने दृढ भावना, परम्परागत धर्म–संस्कृति सजीव रहोस् भन्ने स्वाभिमानपूर्ण विवेक र राष्ट्र सर्वोच्च हुन्छ भन्ने देदिप्यमान, ज्योतिर्मय र प्राञ्जल प्रेम जब राष्ट्रिय चेतनाका रूपमा स्थापित हुन्छ, त्यो दर्शन नै राष्ट्रवाद हो ।
त्यसैले राष्ट्रवाद अन्य सबै वादहरूभन्दा पनि माथि हुन्छ । जातीय, धार्मिक, साम्प्रदायिक, क्षेत्रीय र अन्य कुनै पनि पहिचानभन्दा प्रबल हुन्छ, राष्ट्रिय पहिचान । राष्ट्रवाद पुष्पित–पल्लवित हुने आधार पनि त्यही हो ।
राष्ट्र सुदृढ, स्वावलम्बी र समुन्नत भएमा सबैको सर्वतोमुखी विकास हुन्छ भन्ने विश्वासको धरातलमा राष्ट्रवाद बलियो बन्छ । त्यसैले राष्ट्रको निर्माण (नेसन बिल्डिङ) र सुदृढीकरणविरुद्ध हिँड्न खोज्नेहरू राष्ट्रवादका आधारहरू भत्काउन चाहन्छन् । राष्ट्रवादको अपव्याख्या गर्छन् । राष्ट्रवादलाई विभिन्न जात, धर्म, सम्प्रदाय र संस्कृतिको प्रगतिको अवरोध भन्छन् । त्यो ठूलो अज्ञानता हो । दुराग्रह हो ।
जीजीविषा, उत्साह, आशा, उमंग र उत्प्रेरणामा मानिस बाँच्न खोज्छ । बाँच्छ । सुख र खुसीका क्षणमा मानिसलाई त्यो कसरी प्राप्त भइरहेको छ भन्ने हेक्का हुँदैन । रात परेको बेला जब झ्याप्प बिजुली बन्द हुन्छ, तब मैनबत्तीको प्रकाश पनि मूल्यवान् लाग्छ ।
राष्ट्रको स्वतन्त्रता स्वाधीनता र अखण्डतालाई हामीले निःशुल्क पाएको सस्तो वस्तु ठान्यौँ भने त्यो महाभूल हुनेछ । पराधीन भएका राष्ट्रका जनतालाई अतीतको स्वतन्त्रता सम्झेर बस्नुपर्ने बाध्यता छ । नेपाल कहिल्यै पनि पराधीन भएन तर स्वतन्त्रताको रक्षा गर्न सकेनौँ भने राष्ट्रखण्डित र पराधीन हुन सक्छ । त्यसबेला हामीले ठूलो मूल्य चुकाउनुपर्नेछ ।
नेपाल मात्र होइन, धेरै राष्ट्रले संकटको सामना गरिरहेका छन् । उनीहरूको तुलनामा हामी धेरै भाग्यमानी छौँ । हाम्रो माटोमा विदेशी विचारको बिगबिगी नै भए पनि विदेशी सेना पसेका छैनन् । कथंकदाचित राष्ट्रिय एकता पूर्णतः ध्वस्त भयो भने राष्ट्र क्षत्विक्षत् बन्न सक्छ । त्यस्तो बेला विदेशी सेना पनि पस्न सक्छ । जब हामी आपसमै कलह गर्न थाल्छौँ, त्यसबेला भाइ फुटे गँवार लुटे भन्ने उखान चरितार्थ हुन्छ । यसका लक्षणहरू देखिँदैछन् ।
राष्ट्र कमजोर, विभाजित र खण्डित रहिरहँदा शत्रुले हेप्छन् भन्ने बुझेरै पृथ्वीनारायण शाहले बाईसे–चौबीसे राज्य एकीकृत गरेका थिए । त्यसैले हामी उनलाई आधुनिक नेपालका एकीकरणकर्ता भनेर सम्मान गर्छौं । अटोफन बिस्मार्कले जर्मनीको एकीकरण गरे । सिमोन बोलिभरले बोलिभिया र राजा घाजीले इराकको एकीकरण गरे । चीनका सम्राट छिन–सी–हवाङ्तीले चीन एकीकरण गरे । त्यसैले ती राष्ट्रमा उनीहरूको सम्मान छ ।
अफ्रिकाको राष्ट्रवादी आन्दोलनले विश्व इतिहासमै परिवर्तन ल्यायो । त्यहाँका धेरै राष्ट्र युरोपियन राष्ट्रका दास र उपनिवेश थिए । सन् १६०० देखि बीसौँ शताब्दीको अन्त्यसम्म उपनिवेश भएर बसेका राष्ट्रमा अमेरिका पनि एक थियो ।
सन् १७७६ मा ब्रिटेनको उपनिवेशबाट अमेरिका स्वतन्त्र भयो । अमेरिका स्वाधीन हुनुभन्दा आठ वर्ष पहिल्यै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिसकेकाले नेपाल अमेरिकाभन्दा जेठो राष्ट्र हो भन्ने स्पष्ट छ । इतिहासकारहरूले संसारका प्राचीन १७ राष्ट्रमध्ये नेपाल पनि एक भएको उल्लेख गरेका छन् । नेपालको लिखित इतिहास पाँच हजार वर्ष पुरानो छ ।
अर्थवेद परिशिष्ट, स्कन्दपुराणको नेपाल–महात्म्य, चौथो शताब्दीमा लेखिएको प्रयागस्थित समुद्रगुप्तको शिलालेख, इलाहावादको अशोक स्तम्भ, कश्मीरबाट नवौँ शताब्दीमा प्रकाशित कल्हणकृत राजतरंगिणी ग्रन्थ आदिमा नेपाल धेरै पुरानो देश भएको पुष्टि गरिएको छ ।
लिच्छवी राजा मानदेवको चाँगुनारायणको शिलालेख (संवत् ३८६) मानदेवभन्दा ३९ पुस्ता पहिलेका सुपुष्पदेवका अभिलेखहरू, गोपाल वंशावली, हुयेन साङ्को यात्रा वृत्तान्त, कौटिल्यको अर्थशास्त्र आदि कृति र अभिलेखमा नेपालको गाथा छ । त्यसैले, नेपालीहरूले लघुताभास, हीनताबोध र संकीर्ण सोच त्यागेर इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्नैपर्छ ।
त्यो भनेको, राष्ट्रधर्म सबैभन्दा ठूलो धर्म हो भन्ने स्वाभिमानको उद्बोधन । आतंकवाद होस् वा रोगको महामारी नियन्त्रण, गुप्तचर–प्रहरीको सूचना आदान–प्रदान होस् वा हवाई मार्गको प्रयोग, धेरै विषयमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्छ ।
चीन र भारतबीच अवस्थित भएका कारणले मात्र होइन, नेपाल सामरिक शंकाको भूमि भएकाले पनि अन्तर्राष्ट्रिय सरोकारको विषय बन्दै गएको छ । त्यसैले, नेपालमा जे हुन्छ, त्यसमा भारत, चीन, अमेरिका र युरोपका शक्तिशाली राष्ट्रहरूको चासो बढ्न थालेको छ । तर हामी सतर्क भएनौँ भने राष्ट्र रणमैदान बन्न सक्छ ।
राजनीति प्रदूषित भयो भने राष्ट्र र जनता दुवैले हन्डर खानुपर्छ । खराब काम गर्ने राजनीतिक अगुवाहरूलाई समयमै छ्याँस्ने साहस गरेर युवा वर्ग मात्र तातेको भए नेपाली राजनीतिमा गुणात्मक परिवर्तन आउने थियो । राष्ट्रको हितमा एक ढिक्का हुने प्रवृत्तिलाई प्रोत्साहन गरेको भए देशका प्रत्येक सहर–बजारमा राष्ट्रघाती, भ्रष्ट र अयोग्य राजनीतिज्ञहरू लुक्न पनि पाउने थिएनन् । अपराधी भनेर जान्दाजान्दै जनताले सम्मान गर्ने थिएनन् । तसर्थ राजनीति फोहोरी हुनुमा जनता पनि दोषी छन् ।
राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने हो भने नेपाली जनताले निर्णायक लडाइँ (अल आउट् वार) नै गर्नुपर्छ । त्यसका लागि हतियार चाहिँदैन । पृथ्वीनारायण शाहको दिव्योपदेशको मर्म बुझे पुग्छ ।
स्वदेशी वस्तुलाई प्रोत्साहन दिने, विलासी जीवनशैली त्याग्ने, घूस खाने र घूस दिनेलाई तत्काल दण्ड दिने, विधिको शासनलाई पालना गर्ने, लोकसम्मतिलाई सम्मान गर्ने, स्वदेशमा प्रशस्त उद्योगहरू खोल्ने, विदेशी गुप्तचरहरूलाई निगरानी गर्ने, न्यायमा मोलाहिजा नगर्ने, राष्ट्र अविभाज्य हुन्छ भन्ने सिद्धान्तमा अडिग रहने र राष्ट्रवादलाई मूलमन्त्र एवं मूलनीति बनाउनुपर्छ भन्ने आशय व्यक्त गरेका छन् पृथ्वीनारायण शाहले । उनको उपदेश (मार्गदर्शन) आत्मसात् गर्न नसक्दा राष्ट्र आज बरालिएको देखिन्छ ।
जातिगत, सम्प्रदायगत वा क्षेत्रको मात्र अधिकारको कुरा गर्नेहरू संकीर्ण हुन् । न्यायको सिद्धान्त, धर्मको चुरो वा राजनीतिको मूल मर्म खासै भिन्न हुँदैन । गौरव र अनुभूति आआफ्ना हुन्छन् तर राष्ट्रवाद भन्नासाथ नेपाली, जापानी वा इजरायलीले एउटै कुरा बुझछन्, राष्ट्रप्रतिको त्याग, संघर्ष, समर्पण र श्रद्धा ।
नेपाली नागरिक भएर बाँच्न पाएकोमा हमीलाई गर्व छ । जुन देशमा पुगे पनि हामी भन्छौँ– म नेपाली । यो हाम्रो राष्ट्रिय पहिचान हो । अब प्रश्न उठ्छ, राष्ट्रिय पहिचानलाई नै ओझेलमा पार्न किन उच्छृंखल, अनुत्तरदायी र संकीर्ण नारा लगाइन्छ ? के यस्तो व्यवहारले राष्ट्र बलियो हुन्छ ?
राष्ट्रिय स्तरमा स्थापित कलाकार, राजनीतिज्ञ, साहित्यकार, खेलाडी आदि सबैलाई हामीले नेपाली भनेर सम्मान गर्छौं । नारायणगोपाल गुरुवाचार्य जातले नेवार हुन् । बीपी कोइराला र मदन भण्डारी पहाडे बाहुन हुन् भने भारतमा गएर ख्याति कमाएका उदितनारायण झा सप्तरीका मधिसे बाहुन । वैकुण्ठ मानन्धर काठमाडौँका नेवार हुन् भने पासाङ ल्हामु सोलुकी शेर्पा । ती सबैलाई नेपाली भनेर सम्मान गर्छौं हामी, जातले होइन ।
ज्ञान र दायित्वले मानिस विनित बन्छ । जोसँग दुवै हुँदैन, ऊ अराजक बन्न सक्छ । तसर्थ राष्ट्रलाई अराजकताबाट बचाउन नागरिक शिक्षा आवश्यक पर्छ । स्कुल–कलेजका पाठ्यक्रमबाट नेपालको इतिहास, धर्म–संस्कृतिको ज्ञान र नागरिक शिक्षा आदि हटाउँदा राष्ट्रवादी विद्वान्–विदुषीले विरोध गरेका थिए ।
उत्तरदायित्वबिना प्राप्त अधिकार निरर्थक र अस्थायी हुन्छ । त्यसैले त्यो टिक्दैन । मानव अधिकारको नारा लगाउनेहरूको हुलमा मानवता र मानव कर्तव्यको शिक्षा दिनेहरू पनि जन्मिएको भए जनतामा सकारात्मक सन्देश प्रवाह हुँदो हो तर त्यसो हुन सकेको छैन । मेजिनी र ग्यारिबाल्डीलाई इटलीका जनताले ठूलो सम्मान गर्ने आधार हो, उनीहरूको राष्ट्रवादी चिन्तन ।
इथियोपियामा मेनेलिक (द्वितीय) लाई आज पनि अत्यन्त आदर गरिन्छ । प्रबल राष्ट्रवादले नै एसिया, अफ्रिका र दक्षिण अमेरिकाका धेरै देश साम्राज्यवाद तथा विस्तारवादबाट औपचारिक रूपमा स्वाधीन भए ।
यसलाई लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक लेह गार्डनरले संस्कृतिको पुनर्जन्म (रिबर्थ अफ कल्चर) भनेका छन् । पहिले दास बेचबिखन, शोषण, कृषि साम्राज्यवाद आदिको रूपमा रहेको साम्राज्यवाद मनोवैज्ञानिक, आर्थिक, सांस्कृतिक, धार्मिक र उपकारको आवरणमा फैलिएको छ । प्राध्यापक नोमचम्स्कीले भूमण्डलीकरण (ग्लोबलाइजेसन) पनि साम्राज्यवादको रूप हो भनेका छन् । खुला बजार र आर्थिक उदारीकरणको आवरणमा साम्राज्यवाद संसारमै फैलिएको उनको तर्क छ ।
चीनका यिजिङ नामक भिक्षुले सन् ६७१ देखि ६ महिनासम्म दक्षिण एसियाका सनातन धर्मावलम्बी र बौद्ध राष्ट्र घुमेको इतिहासमा पाइन्छ । इन्डोनेसियाको सुमात्रा नजिक (आजको प्लेब्बाङ) नजिक श्रीविजय देशसम्म उनी पुगेको कुरा फ्रान्सका इतिहासकार जर्ज कोड्सले लेखेका छन् ।
केही विद्वान्ले श्रीविजय देशका शैलेन्द्रवंशी राजा शैल (पर्वत) पूजक भएको, उनीहरू महायान सम्प्रदायका भएको उल्लेख गर्दै देवनागरी लिपिमा लेखिएका शैलवंशी राजाहरूको अभिलेख नेपालका प्राचीन राजाहरूसँग मिल्दोजुल्दो भएकाले नेपाल र श्रीविजय देशबीच गहिरो नाता हुन सक्छ भनेका छन् ।
इतिहास मर्मज्ञ रामजीप्रसाद अर्यालले महाभारत कालदेखि नै राजाहरूले शासन गरेका प्रमाण र आधारहरू पेस गर्दै एक सय ९२ जना राजाले नेपाल देशको शासन गरेको बताएका छन् । ती राजाहरूले सुयाग्य विद्वान्–विदूषी, ज्योतिषी, प्रसिद्ध तान्त्रिक, वाणिज्य ज्ञाता, कूटनीतिज्ञ, साहित्यकार आदि सबैलाई समेट्ने गर्थे । उनीहरूका सल्लाहकार र राजसभाका सदस्य दूरदर्शी, स्पष्ट वक्ता र निपुण हुने गर्थे । त्यसैले राष्ट्रको स्वतन्त्रता, स्वाभिमान, एकता र अखण्डताको संरक्षण भएको हो ।
सन् १८१६ को सुगौली सन्धिमा आन्तरिक कलहका कारण नेपालले ठूलो भूभाग गुमाउनुपर्‍यो । राष्ट्रको इतिहासमा यो ठूलो कलंक हो । टिस्टादेखि सतलजनदीसम्म विस्तीर्ण नेपाल आज मेची–महाकाली बीचमा खुम्चिएको छ । स्वतन्त्रता स्वाभिमान र राष्ट्रिय एकताको रक्षा गर्न सकिएन भने नेपालीहरू एक दिन आफ्नै माटोमा परास्त, पराधीन र परावलम्बी हुनेछन् । त्यो अवस्था आउन नदिन राष्ट्रले खोजेको छ, सक्षम राष्ट्रवादी शक्ति । अन्नपुर्ण पोष्ट
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण