स्वयम्भुस्थित आनन्दकुटी विद्यापीठ बन्द हुने अवस्थामा
२८ असोज, काठमाडौं । स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठ व्यवस्थापन समिति र शिक्षकको विवादका कारण बन्द हुने अवस्थामा पुगेको छ।
विवादकै कारण ६ दशक लामो इतिहास बोकेको उक्त विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीले गत चैत महिनादेखि तलब पाएका छैनन्। विद्यार्थी संख्या घटेपछि स्कुलमा नियमित पठनपाठन हुन नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।
व्यवस्थापन समितिले आफू अनुकूल काम नगरेको भन्दै प्रधानाध्यापकलाई मनपरी रूपमा हटाउने र गोप्य रूपमा नियुक्त गर्न थालेपछि विवाद उत्कर्षमा पुगेको छ। गत वर्षको साउन २९ गते आफैंले नियुक्त गरेको प्रधानाध्यापक सुरिस्मा शाक्यलाई हटाउने विषयमा विवाद भएपछि अहिले स्कुल समस्यामा परेको छ।
साउनमा प्रधानाध्यापक नियुक्त भएकी शाक्यलाई व्यवस्थापन समितिले जानकारी नै नगराई पुसमा सूचना टाँसेर अर्का प्रधानाध्यापक नियुक्तिका लागि सूचना टाँसेको थियो। आफूलाई जानकारी नगराई प्रअ नियुक्त गर्न लागिएको भन्दै शाक्यले सर्वोच्च अदालतमा रिट हालेकी थिइन्।
उनको रिटको आधारमा सर्वोच्चले नयाँ प्रअ नियुक्ति प्रक्रिया तत्कालका लागि स्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले आदेश दिए पनि व्यवस्थापन समितिले आफूलाई विद्यालय सञ्चालनमा असहयोग गरेको प्रअ शाक्यको गुनासो छ।
व्यवस्थापन समितिले शिक्षकको नयाँ हाजिरी बनाएर प्रअ कक्षमा रहेको पुरानो हाजिरपुस्तिकााई मान्यता नदिएको, प्रअ शाक्य र लेखापालको हस्ताक्षर गर्ने गरी खोलिएको बैंकखाता रद्द गरेर नयाँ खोलेको, आफूलाई प्रअ बनाउने समयमा गरिएको सहमति पालना नगरेको शाक्यको आरोप छ।