गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिराष्ट्रपतिमा कांग्रेसको दाबी

राष्ट्रपतिमा कांग्रेसको दाबी

October 15, 2015२८१ पटक
केबी गुरुङलाई अघि सार्ने तयारी
काठमाडौं: कांग्रेसले आफ्नो गठबन्धनबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उम्मेदवारी दिने भएको छ।
कांग्रेसले सभामुख र उपसभामुखमा प्रधानमन्त्री निर्वाचनमा आफ्नो साथमा रहेका दलहरूबाट र राष्ट्रपतिमा कांग्रेसबाट उठाउने निष्कर्ष निकालेको छ । यसबारे कांग्रेसले सबै दलहरूसँग गहन छलफल गर्ने भएको छ।
‘प्रधानमन्त्री पदमा कांग्रेसले प्रतिस्पर्धा गरिसकेको हुनाले अन्य पदमा पनि प्रतिस्पर्धा गर्नु स्वाभाविक छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘उक्त प्रयोजनका लागि कांग्रेसले अहिलेसम्म सहयोग र समर्थन गर्ने दल तथा अन्य राजनीतिक दलहरूसँग समेत सल्लाह र परामर्श गरेर अघि बढ्नेछ।’
प्रधानमन्त्री निर्वाचनमा कांग्रेससँग साथमा रहेका दलहरूको दुई सय ५२ मत सुरक्षित भएकाले केही अन्य दलसँग छलफल गरे एमाले र एमाओवादीले साथ नदिए पनि राष्ट्रपतिमा आफ्ना उम्मेदवारले जित्ने विश्लेषण पार्टीले गरेको छ।
बैठकमा सत्तासीन एमाले, एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसँग पनि राष्ट्रपतिलगायतका पदहरूमा हुने चुनावका विषयमा तालमेल गर्ने जानकारी गराइएको थियो। ‘सबै दलसँग परामर्श गर्ने र निर्वाचन हुने सबै पदमा सल्लाह गरेर प्रतिस्पर्धा गर्ने निर्णय भएको छ,’ प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने।
बैठकमा एमालेले प्रधानमन्त्री हुँदा एमाओवादी र फोरम लोकतान्त्रिकसँग गरेको १५ बुँदे र आठबुँदे सम्झौताको मुख्य विषय नै संविधान संशोधन भएको र त्यसका लागि कांग्रेसको साथ नभई सम्भव नभएको भन्दै यी विषयलाई लिएर सम्झौता गरेका दलसँग पनि वार्ता गर्नेबारे छलफल भएको थियो।
‘ओलीको सरकार संविधान संशोधन गर्ने सर्तमा बनेको हो,’ कांग्रेसका एक नेताले भने, ‘त्यसका लागि कांग्रेसको साथ नभई अरू सबै मिले पनि संविधान संशोधन हुँदैन, त्यसैले राष्ट्रपति कांग्रेसलाई नदिने हो भने ओली सरकारले पहिलो पाइला नै चाल्न सक्दैन।’
कांग्रेसमा राष्ट्रपतिको निर्वाचन गोप्य मतदानबाट गर्नुपर्ने भएकाले एमाले र एमाओवादीबाट समेत गोप्य साँठगाँठ गर्न सकिने सम्भावनाबारे छलफल भएको छ। कांग्रेसले सरकारमा सहभागी दलहरूसँग पनि राष्ट्रपति र प्रधानमन्त्री एउटै दलबाट राख्दा शक्ति सन्तुलन बिग्रने हुँदा विचार पुर्‍याउनुपर्ने भन्दै वार्ता गर्ने भएको हो।
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार दिने अवस्था आएमा अनुभवी र पुराना नेता कुलबहादुर गुरुङको नाम अघि सार्ने अनौपचारिक छलफल थालेको छ। उनी निष्कलंक व्यक्ति भएकाले अन्य दलहरूको पनि साथ हुने र पहिला मधेसी समुदायबाट राष्ट्रपति भएकाले यसपटक जनजातिबाट राष्ट्रपति बनाउनुपर्ने आन्तरिक दबाब पनि छ।
कांग्रेसभित्र कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा कुनै पनि गुटमा नलागेका गुरुङ आमकार्यकर्ताले मन पराउने नेताका रूपमा चिनिन्छन्। कांग्रेसले गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउँदा अन्य दलका पनि जनजाति सभासद्हरूको भोट आउने सक्ने अनुमान गरेको छ।
मधेसीबाट उठाउनुपर्ने अवस्था आए पद्मनारायण चौधरी पनि अघि सार्न सकिने सम्भावना भएको एक अर्को नेताले बताए। annapurnapost
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण