गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिमन्त्री छान्न एमालेलाई महाभारत

मन्त्री छान्न एमालेलाई महाभारत

October 17, 2015२८४ पटक

३० असोज, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएको ६ दिनसम्म पनि एमालेले बाँकी मन्त्रीहरूको टुंगो लगाउन सकेको छैन । पार्टीमा संस्थागत रूपमा छलफल र निर्णय नगरी प्रधानमन्त्री ओलीले एमालेबाट तीनजनालाई मन्त्री नियुक्त गरे पनि अरू मन्त्रीबारे सामान्य छलफलसमेत नहुँदा मन्त्रीका आकांक्षीहरूको पार्टी शीर्ष नेताहरूको निवासमा भीड लाग्न थालेको छ । कांग्रेस नेतृत्वको अघिल्लो सरकारमा संस्थागत निर्णय नगरी मन्त्री पठाउने र फेर्ने गरेका कारण पार्टीभित्रैबाट आलोचित ओलीलाई यसपटक पहिलो गाँसमै ढुंगा लागेको छ ।
अनौपचारिक छलफलमा पार्टीका शीर्ष नेताले विरोध गर्दागर्दै अग्नि खरेललाई मन्त्री बनाएका कारण सुरु भएको ओलीको आलोचना उनी प्रधानमन्त्री भएपछि बिहीबार पहिलोपटक बसेको स्थायी समिति बैठकमा पनि रोकिएन । उपमहासचिव घनश्याम भुसालले मन्त्री चयन विधिप्रति असहमति प्रकट गर्दै मन्त्री नियुक्तिको निर्णय अनुमोदन नगर्न रिजर्भेसन राखे । उक्त निर्णयको अनुमोदन होइन, मन्त्री हुने साथीहरूलाई धन्यवाद दिने निर्णय गरौँ भन्ने भुसालको भनाइ रहेको बैठकमा सहभागी एक सहभागीले बताए । बैठकमा मन्त्री र मन्त्रालयको बाँडफाँडको विषयमा कुरै नउठेको नयाँ पत्रिकामा खबर छ ।

मन्त्री बनाउनुअघि निश्चित मापदण्ड बनाउनुपर्नेमा बैठक केन्द्रित भएको थियो । स्रोतका अनुसार एमालेले नौवटा मन्त्रालय पाउनेछ । कानुन, उद्योग र अहिलेलाई विनाविभागीय गरी तीन मन्त्रीको टुंगो लगाइसकेको छ । बाँकी ६ जनामा एकजना महिला र जनजातिलाई ल्याउनैपर्ने हुन्छ । बाँकी चारजनामा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेल मन्त्री बन्ने पक्का भइसकेको स्रोतको दाबी छ । बाँकी कसलाई छान्ने भन्ने विवादका कारण मन्त्रिमण्डलमा विस्तार हुन ढिलाइ हुन पुगेको एमाले उच्च स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण