आन्दोलन रोकेर वार्तामा जादैंनौं : उपेन्द्र यादव
प्रधानमन्त्रीले अशिष्ट शैलीको पत्र पठाएको अारोप
जनकपुरधाम : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता उपेन्द्र यादवले तराई मधेसमा जारी आन्दोलनलाई रोकेर सरकारसँग वार्तामा नजाने बताएका छन् ।

आइतबार जनकपुरमा पत्रकारसँगको भेटघाटमा संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान सरकारले आन्दोलन रोकेर वार्तामा आउन पत्राचार गरेपनि त्यो गैरराजनीतिक कुरा रहेको बताएका हुन् ।
मोर्चाले राखेको माग सरकारले पुरा गर्न बित्तिकै आन्दोलन आफैं स्थगित हुने बताउँदै यादवले प्रधानमन्त्री केपी ओलील अति अशिष्ट, अभद्र र गैरराजनीतिक शब्दावली प्रयोग गरेर पत्र लेखेको हुनाले वर्तमान सरकार अहिलेको समस्याको समाधान वार्ताको माध्यमबाट गर्न इच्छुक नरहेको कुरा प्रष्ट भएको बताएका छन् ।
संविधानमा परिवर्तन गरि मधेसको माग सम्बोधन नगरिएसम्म आन्दोलन जारी रह्ने र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार राज्य हुने नेता यादवको भनाइ थियो ।
विगतमा भएको २२ बँुदे र ८ बुँदे सहमति कार्यान्वयन तथा सीमांकनको विषयमा ठोस निर्णय नभएसम्म सार्थक वार्ता हुन नसक्ने अध्यक्ष यादवको भनाई रहेको छ ।
सरकारसँग दुई चरणको वार्ता भईसकेको अवस्थामा प्रधानमन्त्रीले वार्ताको लागि फेरि पत्र पठाएका हुन् । यसअघि सुशील कोइराला नेतृत्वको सरकारले गठन गरेको तीन सदस्यीय सरकारी वार्ता टोलीसँग मोर्चाले दुई चरणको वार्ता गरेको थियो ।
तेस्रो चरणको वार्ताको तिथि निर्धारण गरिएपनि सरकारी वार्ता टोली निस्क्रिय भएपछि वार्ता अघि बढ्न सकेको थिएन । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि शुक्रबार मोर्चालाई वार्ताको लागि फेरी पत्र पठाईएको हो ।
हिन्दुहरुको महान पर्व दशैंको कारण अहिले आन्दोलन केही खुकुलो बनाईएपनि पर्व त्योहार सकिन लगत्तै अझ कडा र सशक्त रुपमा आन्दोलनलाई अघि बढाईने यादवको भनाई रहेको थियो ।
वर्तमान सरकारलाई राष्ट्रघाती सरकारको संज्ञा दिदैं नेता यादवले भने, ‘छिमेकी देशको विरोध गर्ने र अहिले आएर तामझामको साथ सरकारका परराष्ट्रमन्त्री भारत गई सहयोगको लागि हात फैलाउने कार्य राष्ट्रविरोधी नभई अरु के हो त?’
आफ्नो देशको आन्तरिक समस्यालाई देशभित्रै सल्टाउनुको साटो त्यसमा विदेशीलाई मुछेर सरकारले राष्ट्रिय एकता कमजोर पार्ने काम गरिराखेको यादवको भनाइ थियो ।