गृहपृष्ठ » खेलकुद, मुख्य समाचारकसरी मनाउँदै छन् खेलाडीले दशैं ?

कसरी मनाउँदै छन् खेलाडीले दशैं ?

October 19, 2015२३५ पटक

चंगा उडाउनेदेखि सुँगुरको मासु खाएर चीन घुम्नेसम्मका योजना

Nepali-kheladi
काठमाडौं– हिन्दूहरुको महान् पर्व दशैं–तिहार नजिकिँदै छ । नेपालीलाई दशैंको चटारोले छोपिसकेको छ । भूकम्पको पीडा र नाकाबन्दीको असरलाई केही दिन भए पनि भुल्दै मनाउन लागिएको दशैं विगतका वर्षहरूको जस्तो हर्षोल्लासपूर्ण पक्कै हुनेछैन । तर पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका घर–आँगन दशैंको स्वागतका लागि सिँगारिँदै छन् । सर्वसाधारणदेखि भिआइपीसम्मलाई पुकलित बनाउने दशैंको रौनकबाट नेपाली खेलकुदका हस्तीहरू पनि अछुतो रहनेछैनन् । यस्तोमा खेलाडीले पनि फरक–फरक ढंगले दशैं मनाउने योजना बुनिरहेका छन् । कोही चंगा उडाउने योजनामा छन् भने कोही स्वदेश र विदेशका नयाँ ठाउँहरूमा घुम्ने योजनामा छन् । संगिना वैद्यदेखि पारस खड्कासम्मको दशैं योजना यस्तो छ :

त्रिपुरेश्वरमा परिवारसँग रमाउँछु
विराज महर्जन, फुटबल खेलाडी, मनाङ मस्र्याङ्दी क्लब
अघिल्ला वर्ष जस्तै परिवारसँग पूजा गरेर रमाइलो गरिन्छ । पुख्र्यौली घर उपत्यका नै भएकाले दशैं मनाउन उपत्यका बाहिरिने गाडीको टिकट खोज्नै हैरानीबाट जोगिएको छु । देशको परिस्थितिले गर्दा कतै घुम्न जाने खास प्लान बनेको छैन, त्यसैले त्रिपुरेश्वरमा रहेका परिवारसँग बसेर मनाउँछु ।
हामी बुबाआमा, ठुल्बुवा, ठूलीआमा, काकाकाकी सबै एकै ठाउँमा जम्मा भएर टीका लगाउँछौं, त्यो पहिल्यैदेखिको संस्कार पनि हो ।
हाम्रो नेवारी संस्कृतिमा चिल्लो पिरो सामान्य भए पनि चिल्लो खाने मेरो बानी नभएकाले म त्यस्ता खानेकुरा कम खान्छु ।

छुट्टी मिले गाउँ जान्छु
भरत खवास, फुटबल खेलाडी त्रिभुवन आर्मी क्लब
अहिले राष्ट्रिय लिग चलिरहेको छ । लिग सकिएपछि कात्तिक १ गतेबाट राष्ट्रिय टिमकोे ट्रेनिङ सुरु हुन्छ । यसपालिको दशैंमा छुट्टी पाए गाउँ जाने प्लानमा छु । मोरङमा बुवाआमालगायत परिवार छ । गाउँ जाने अनुकूलता नजुरे काठमाडौंमै बस्छु । यहाँ रहँदा साथीहरूको घरमा गएर दशैं मनाउने योजना छ ।
म टीका लगाउन भनेर कहिल्यै मामाघर गइनँ, सधैँ ड्याडीको हातबाट मात्र टीका लगाउँथेँ । यसपटक पनि गाउँ जाने अवसर जुरेमा ड्याडीकोे हातबाट टीका लगाउने छु । दशैंमा मासुलगायत खानेकुरा खाँदा केही मोटाउने सम्भावना रहन्छ, त्यसैले ट्रेनिङलाई पनि निरन्तरता दिन्छु । जसले गर्दा शरीरको स्वरुप नबिग्रियोस् । यसपटक नयाँ ठाउँमा घुम्न जाने खास प्लान छैन ।

पोखरा घुम्ने योजना क्यान्सिल
दीपक श्रेष्ठ, कराते खेलाडी
हामीलाई हरेक प्रतियोगिता नै दशैंजस्तो लाग्छ । सातौं राष्ट्रिय खेलकुद हुँदैन कि भन्ने चिन्ताले अझै पनि छाडेको छैन । यता साफमा कराते सहभागी नगराइएकामा दुःख लागेको छ ।
मेरो मूलघर चापागाउँ हो । दशैंमा चापागाउँ जान्छु, आमनेपालीले मनाएजस्तै गरी दशैं मनाउँछु । १ गतेसम्म राष्ट्रिय टिमको ट्रेनिङ छ, त्यसपछि घर जान्छु । घरमा ९० वर्षको हजुरआमा हुनुहुन्छ, उहाँको हातबाट टीका लगाउँछु, आशीर्वाद लिन्छु ।
दशैंमा पोखरा घुम्न जाने योजना थियो, तर पेट्रोलियम पदार्थको अभावले गर्दा क्यान्सिल गर्न बाध्य भएँ । यसपालिको दशैंमा खेलकुदबारे पुस्तक या सन्दर्भ सामग्री केही पाएमा पढ्ने योजनामा छु ।

दशैंका लागि चंगा किनिसकेको छु
संगिना वैद्य, तेक्वान्दो खेलाडी
म अहिले राष्ट्रिय टिमको प्रशिक्षक पनि भएकाले त्यति लामो छुट्टी छैन । छुट्टी भएपछि जन्मघर त्रिशूली जान्छु, त्यहाँ ठूलीआमाहरू हुनुहुन्छ । दशैंमा चंगा उडाउन विशेष मनपर्छ, त्यसैले चंगा किनेर ल्याएको छु । दशैंपछि लगत्तै ट्रेनिङ छ, साफ गेमको तयारीमा लाग्नुपर्ने हुनाले बाहिर कतै जान्नँ ।
त्रिशूली गएर ठूलीआमाहरूको हातबाट टीका लगाउँछु । इन्धन अभावले घुम्ने योजनालाई क्यान्सिल गरेको छु ।
मासु खान्छु, तर एकदमै थोरै मात्रामा खान्छु । पहिले रसुवाबाट च्यांग्रा ल्याउने गरेका थियौं, यसपाला ल्याउन नपाइने भयो । अब काठमाडौंमा जे पाइन्छ, खसी वा अन्य केही ल्याएर काट्ने प्लानमा छौं ।

यसपालि ससुराली जान्छु
पारस खड्का, कप्तान राष्ट्रिय क्रिकेट टिम
यसपटकको मेरो दशैं सामान्य हुनेछ । पुरानो घर बुढानिलकण्ठ भए पनि आजभोलि नयाँ बानेश्वर बस्दै आएका छौं । मान्यजनको हातबाट टीका लगाउँछु । यसपालि टीका थाप्न ससुराली पनि जान्छु ।
भ्याली बाहिर कतै जाने प्लान छैन । साथीभाइ परिवारसँग बसेर रमाइलो गर्छु, भेटघाट गर्छु । दशैं सकिनासाथ ट्रेनिङ सुरु हुन्छ ।
वर्षमा एकपटक आउने चाड भएकाले खानपानमा ध्यान दिन्छु । एकैपटक धेरै खाने भन्दा पनि हामीले रेसियो मिलाएर खानुपर्छ । बोसोपन बढ्नेमा मैले विशेष ध्यान दिनेगरेको छु । मन्दिर जान्छु, आफ्नो क्षमताअनुसार खर्च गर्छु ।

धनगढी लगेर छोरालाई पिङ खेलाउँछु
दीपक विष्ट, तेक्वान्दो खेलाडी

टीका थालेर आशीर्वाद लिने दशैंको विशेषता भएकाले बुवा–आमाको हातबाट टीका लगाउँछु । पहिलेजस्तै यसपटक पनि गाउँ जाने विचारमा छु, त्यसका लागि परिस्थिति हेर्दै छु । पेट्रोलियम पदार्थको अभावले गर्दा दैनिकी समेत असहज बन्दै गएकाले दशैं पनि पक्कै सहज हुनेछैन । परिवार धनगढीमा छन्, महेन्द्रनगरको रैगुवार बिजुवामा हजुरआमा हुनुहुन्छ, एकपटक त्यहाँ पनि पुग्नेछु ।
दशैंमा नयाँ ठाउँमा घुम्ने खास योजना छैन । गाउँमा विदेशतिरका साथीहरू पनि आउने हुनाले भेटघाट गर्छु । खेलकुदकै सम्बन्धमा अन्तक्र्रिया गर्ने योजना बनाएको छु ।
अन्य महिनाको तुलनामा दशैंमा केही खर्च बढ्छ । आफन्त र परिवारका लागि केही सामान किन्दा नियमितबाहेक दोब्बर–तेब्बर खर्च हुन्छ । धनगढी जाँदा पिङ खेल्छु, छोरालाई पनि पिङ खेलाउँछु दशैं मनाउँछु ।

बंगुर खाने, चीन जाने
मीरा राई, अल्ट्रा धावक
दशैं सामान्य ढंगले मनाउने सोचमा छु । भोजपुर गएर आमाबाबालाई भेट्छु । भोजपुरमा एक साता बसेपछि टीकाको भोलिपल्ट काठमाडौं फर्कन्छु ।
गाउँमा आफन्तसँग भेटघाट हुन्छ । बाबाममीको हातबाट टीका लगाउँछु । प्रायः दशैंमा हामी बंगुर काट्छौं । यसपालि पनि बंगुरको मासु खान्छौं ।
गाउँमा टीका लगाइसकेपछि चाइना जाँदै छु । त्यहाँ घुमघामबाहेक अर्को वर्ष चाइनामा अल्ट्रा रेस गेम हुँदै छ, त्यसको प्रोमोटका लागि काम गर्नेछु । त्यहाँ युरोपियन अल्ट्रा धावकहरू पनि आउनुहुन्छ, उहाँहरूसँग भेट हुन्छ ।
यो दशैंमा ऐतिहासिक पुस्तकहरू पढ्ने योजनामा छु । नेपालको इतिहास र आत्मवृत्तान्त मलाई विशेष मन पर्छ । कसैको संघर्षपूर्ण जीवनमाथि लेखिएको पुस्तक निकै रोचक लाग्छ । यसपटकको दशैंमा करिब ५० हजार खर्च गर्ने योजना बनाएको छु ।

जुठो परेको छ
शक्ति गौचन, क्रिकेट खेलाडी
यसपालि जुठो परेको छ । गएको माघमा बाबा बित्नुभयो । तैपनि भैरहवा घर जान्छु । घरमा ममी, श्रीमती र दुई छोरी छन् ।
दशैं अवधिमा करिब पाँच दिन भैरहवामा बिताउँछु । घर जाने बस्नेबाहेक अरु योजना छैनन् ।
पहिले आफन्त नातेदार सबै आउँथे, यसपालि आउने कुरा भएन । जुठो परे पनि मासु खाँदै आएको छु । तर यो दशैंमा घरमै काटेर खान्नँ, बाहिरबाट ल्याएर मासु खान्छु । नयाँ ठाउँ घुम्न जाने पनि खासै प्लान छैन ।

यो दशैंमा ड्युटी पर्ने भो
भरत शाह, पूर्वकप्तान भलिबल
देशको परिस्थति जटिल बन्दै छ । हरेक चिजको अभाव भएका बेला पहिलाको दशैंमा जस्तो रमाउने वातावरण छैन । हामी नेपाल प्रहरीको जागिरे भएकाले बिदा पनि हुँदैन । जनताको जिउधनको सुरक्षा गर्नुपर्ने जिम्मेवारी भएकाले अझै सिरियस भएर लाग्नुपर्ने अवस्था छ । त्यसैका बाबजुद पनि रमाउनुपर्छ ।
दशैंमा पनि ड्युटी गर्नुपर्ने भएकाले पुख्र्यौली घर अछाम जान नपाउने भएको छु । कसैगरी बिदा मिल्यो भने पनि जाने सम्भावना भएन, त्यसैले भाइलाई घर पठाएर आफू काठमाडौं नै बस्ने विचारमा छु । काठमाडौंमा काकाहरू हुनुहुन्छ, उहाँहरूको हातबाट टीका लगाउँछु । नेपाल प्रहरीको खेलकुद शाखा सम्हाल्नुपर्ने भएकाले धेरै समय त्यसैमा व्यस्त भएर दशैं मनाउने योजनामा छु । घुम्ने पढ्ने खास योजना छैन ।
(प्रस्तुति : राजेश भण्डारी)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण