गृहपृष्ठ » खेलकुद, मुख्य समाचार, स्वास्थ्यम्याच फिक्सिङमा फसेका एक विश्वविख्यात फुटबलरको कथा

म्याच फिक्सिङमा फसेका एक विश्वविख्यात फुटबलरको कथा

October 19, 2015३२९ पटक

Palolo-rossi
इटलीमा सन् १९८० मा एउटा ठूलै काण्ड मच्चियो । चर्चित क्लब मिलान र लाजियोसहित सात क्लब खेल मिलेमतोमा संलग्न रहेको प्रमाण भेटिएपछि सारा इटलीबासी स्तब्ध बनेका थिए । खेल मिलेमतोका लागि पैसा खुवाए पनि नतिजा फरक आएपछि रोमका दुई व्यापारीले मूर्खतावश मिडियासामु खेलाडी बिकेको घोषणा गरेका थिए । उनीहरूलाई लागेको थियो, पैसा खाएर खेलाडीले हामीलाई धोका दिए । व्यापारीहरू अल्भारो ट्रिन्का र मासिमो क्रुसियानीले सानदारसँग खेलाडी किनेको घोषणा गरे । तर, यो काण्डमा आफूहरू पनि मुछिनुपर्छ भन्ने उनीहरूले सोच्नसम्म सकेनन् । प्रहरीले अल्भारोलाई पक्राउ गरेको पाँच दिनपछि क्रुसियानीले आफैँ आत्मसमर्पण गरे । त्यसपछि उनीहरूसँग रहेको कागजात र प्रमाणका आधारमा अनुसन्धान गर्दै जाँदा सिरिएका २० खेलाडीसहित सात क्लब तथा ती क्लबका पदाधिकारी समेत खेल मिलेमतोमा सहभागी रहेको पुष्टि भयो । यस मिलेमतो प्रकरणमा मिलान र बोलोग्ना क्लबका अध्यक्षको समेत सहभागिता थियो । त्यसमध्ये सबैभन्दा बढी चर्चा २३ वर्षका विश्वचर्चित स्टार पाब्लो रोसीलाई लिएर भयो । उनी तत्कालीन समय विश्वकै महँगा फुटबलर थिए ।
को हुन् पाब्लो रोसी ?
रोसीको जन्म इटालीको सान्ता लुसियास्थित प्राटो सहरमा भएको हो, २३ सेप्टेम्र १९५६ मा । उनले युभेन्टस् क्लबबाट व्यावसायिक फुटबल करिअर सुरु गरेका थिए । तर रोसीले युभेन्टस्मा छँदा सुरुआती समय राम्रो खेल्न सकेनन् । युवावस्थामा चोटका कारण उनले कमै मात्र समय मैदानमा उत्रन पाए । सन् १९७२ देखि ७५ को बीचमा उनले युभेन्टस्बाट केवल तीन खेल खेले । यसबीच युभेन्टस्ले सन् १९७३ मा इन्टरकन्टिनेन्टल कप जित्दा उनी टोलीका सदस्य थिए । तर, रोसीले कुनै गोल गर्न सकेनन् । उनको घुँडाको तीनपटक शल्यक्रिया गरियो । त्यसपछि पर्याप्त समय खेल्न पाऊन् भन्ने उद्देश्य राखेर तत्कालीन पावरहाउस युभेन्टस्ले उनलाई ऋणमा अर्को क्लब कोमो पठायो । यस क्लबबाट उनले सन् १९७५/७६ को सिजन इटालियन सिरिएमा डेब्यु गर्दै ६ खेल खेले । यसपटक पनि उनले कुनै गोल गरेनन् ।

बी डिभिजनको यात्रा र सफलताको सुरुआत
रोसी सन् १९७६/७७ को सिजन ऋणमा बी डिभिजनको टोली भिसान्जा पुगे । तत्कालीन प्रशिक्षकले उनलाई विंगरको सट्टा सेन्टर एट्याकमा प्रयोग गरे । त्यतिबेला भिसान्जाका प्रमुख स्टाइकर घाइते थिए । रोसीले त्यसपछि बी डिभिजनमा २१ गोल गर्दै क्लबलाई उपाधि जिताएर ए डिभिजनमा बढुवा गराए । सन् को त्यही सिजनपछि रोसी चर्चामा तानिए । उनले अर्को सिजन भिसान्जालाई सिरिएमा दोस्रो स्थान दिलाए । त्यस क्रममा उनले २४ गोल गर्दै सिरिएमा सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।

paolo-rossi.79042207राष्ट्रिय टोलीमा प्रवेश र ख्याति
एकपछि अर्को उत्कृष्ट प्रदर्शन देखाइरहेका रोसीलाई तत्कालीन इटालीका प्रशिक्षक इन्जो बियरजोटले राष्ट्रिय टोलीमा मौका दिए । उनले २१ डिसेम्बर १९७७ मा बेल्जियमविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । सन् १९७८ को विश्वकपमा २१ वर्षका रोसीले सबैको ध्यान खिचे । उनले फ्रान्स विरुद्धको समूह चरणको खेलमा इटालीका तर्फबाट बराबरी गोल फर्काएका थिए । उक्त खेल इटालीले २–१ ले जित्यो । त्यसपछि हंगेरीविरुद्ध खेलमा उनले गोलको खाता खोले । हंगेरीविरुद्ध पनि इटाली ३–१ ले विजयी रह्यो । आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्दै इटालीले दोस्रो चरणको यात्रा गर्दा आयोजक अर्जेन्टिनाविरुद्धको खेलमा निर्णायक गोलका लागि रोसीले पास उपलब्ध गराइदिए । दोस्रो चरणमा अस्ट्रियाविरुद्ध इटालीले १–० को जित हासिल गर्दा रोसीले नै निर्णायक गोल गरेका थिए । सेमिफाइनलमा नेदरल्यान्डस्विरुद्ध २–१ ले पराजित भएपछि इटाली प्रतियोगिताबाट बाहिरियो । तर, रोसीको प्रदर्शनको सबैतिरबाट प्रशंसा भयो ।

विश्वकै महँगो फुटबलर र प्रतिबन्ध
विश्वकपपछि रोसी भिसान्जाबाट खेल्ने वा युभेन्टस्बाट खेल्ने भन्नेमा ठूलो विवाद देखियो । किनकि यति बेलासम्म रोसी युभेन्टस्का खेलाडी थिए र भिसान्जामा उनी ऋणमा थिए । विवादकै बीच भिसान्जाले रोसीका लागि विश्व कीर्तिमानी रकम खर्चियो । उनका लागि भिसान्जाले १७ लाख ५० हजार पाउन्ड खर्चिएको थियो । तर रोसीको उत्कृष्ट प्रदर्शनका बाबजुद सन् १९७८÷७९ को सिजन उनको क्लब भिसान्जा रेलिगेसनमा पर्यो । त्यसपछि उनी ऋणमा पेरुगियामा आबद्ध भए । सन् १९८० मा पेरुगिया म्यान फिक्सिङ प्रकरणमा मुछियो । इटालीकै सबैभन्दा ठूलो म्याच फिक्सिङ प्रकरणमा ए डिभिजनका मिलान र लाजियोसहित सात क्लब फसे । यस प्रकरणमा २० फुटबलरहरूमाथि कारबाही भयो । त्यसमध्ये रोसी सर्वाधिक चर्चामा रहेको नाम हो । उनीमाथि सुरुआतमा तीन वर्षको प्रतिबन्ध लगाइयो । यसले उनी १९८२ को विश्वकपमा सहभागी हुन नपाउने पक्का थियो । तर, उनको कारबाहीमा एक वर्ष छुट भयो, विश्वकप खेल्ने ढोका खुल्यो । प्रतिबन्धकै कारण रोसी सन् १९८० को युरोपेली च्याम्पियनसिप भने खेल्न पाएनन् । कारबाही भोगे पनि रोसीले खेल मिलेमतो गरेको कहिल्यै स्वीकार गरेनन् ।

सन् १९८२ र विश्वविजेता
सन् १९८१ मा प्रतिबन्धित अवस्थाका रोसीलाई पुरानो क्लब युभेन्टस्ले फेरि आबद्ध गर्यो । उनले सन् १९८२ मा प्रतिबन्धबाट फुकुवा भएपछि युभेन्टस्बाट तीन खेल खेल्दै एक गोल गरे । यस सिजनमा युभेन्टस्ले सिरिए उपाधि जित्यो । इटालियन पत्रकारको नकारात्मक टिप्पणी तथा फुटबल फ्यानहरूको आक्रोशका बाबजुद रोसीलाई प्रशिक्षक इन्जो बियरजोटले सन् १९८२ को विश्वकपका लागि मौका दिए । विश्वकपअघि थुप्रै पत्रपत्रिकाले एकपटक प्रतिबन्धमा परिसकेको फुटबलरले फेरि लय समाउन नसक्ने टिप्पणी गरेका थिए । विश्वकपको सुरुआती चरणमा इटाली निकै कमजोर समेत देखियो । रोसीले कुनै गोल गर्न सकेनन् र इटालीले सुरुआती चरणमा कुनै खेल जितेन । तर, तीनवटै खेल बराबरी खेलेर इटाली जेनतेन दोस्रो चरणका लागि छनोट भयो । त्यसपछि प्रशिक्षक इन्जोमाथि रोसीलाई मैदान नछिराउन धम्की समेत आएको बताइन्छ । रोसीलाई इटालीका समर्थकहरूले मैदानभित्र छिरेको पिचासको संज्ञा Paolo Rossi holds the World Cup after Italy's 3-1 win over West Germany in the 1982 final in Madrid.दिएका थिए । तर प्रशिक्षक इन्जोले दोस्रो चरणमा पनि रोसीमाथि नै विश्वास गरे । ब्राजिल र अर्जेन्टिना सम्मिलित समूहमा परेको इटालीका लागि दोस्रो चरण निकै कठिन मानिएको थियो । ब्राजिलसँग तत्कालीन विश्वकै उत्कृष्ट फुटबलर जिको, सोक्रेट्स र फाल्काओ थिए भने युवा म्याराडोनाको साथ रहेको अर्जेन्टिना त साबिक विजेता नै थियो । तर क्लाउडियो जेन्टिल र जेइटानो स्किरियाले रक्षात्मक खेल्दै म्याराडोनालाई रोकेको खेलमा इटालीले अर्जेन्टिनामाथि २–१ को विजय हासिल गर्यो । अर्को खेलमा ब्राजिलविरुद्ध रोसीले गोलको खाता मात्रै खोलेनन्, ह्याटिक नै गरे । खेल इटालीले ३–२ ले जित्यो र उपाधिको दाबेदार मानिएका ब्राजिल र अर्जेन्टिनालाई पछि पार्दै सेमिफाइनलमा यात्रा गर्यो । सेमिफाइनलमा पोल्यान्डविरुद्ध इटालीले २–० को जित हासिल गर्दा दुवै निर्णायक गोल रोसीले नै गरे । फाइनलमा पश्चिम जर्मनीविरुद्ध इटालीले ३–१ को जित हासिल गर्दा रोसीले नै गोलको खाता खोले । उनले पूरै प्रतियोगितामा ६ गोल गरे । अन्तिम तीन खेलमा ६ गोल गर्दै इटालीलाई विश्वकप जिताएका रोसी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेनबुट तथा उत्कृष्ट फुटबलर घोषित हुँदै गोल्डेन बल जित्न सफल रहे । सन् १९६२ मा ब्राजिलका गारिन्चा र सन् १९७८ मा अर्जेन्टिनाका मारियो केम्पसले मात्रै विश्वकप इतिहासमा रोसीले झैँ एकैपटक गोल्डेन बल तथा गोल्डेन बुट जितेका छन् । प्रतिबन्धपछि फर्किएर इटालीलाई विश्वकप जिताउने रोसी सन् १९८२ मा युरोपियन वर्ष खेलाडी तथा विश्व वर्ष खेलाडी समेत घोषित भए । रोसीले विश्वकपपछि पनि राष्ट्रिय टोलीबाट थप पाँच गोल गरे । उनले इटालीबाट समग्रमा ४८ खेल खेल्दै २० गोल गरेका छन् । सन् १९८६ को विश्वकपका लागि इटालीको टोलीमा छानिए पनि उनले चोटका कारण खेल्न पाएनन् । रोसीले सन् १९८६ मै चीन विरुद्धको मैत्रीपूर्ण खेललाई आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल बनाए । उनले सन् १९८७ मा व्यावसायिक फुटबलबाट समेत संन्यास लिए ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण