गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारयस वर्षको दसैँमा गरगहनाको बिक्रीमा कमी

यस वर्षको दसैँमा गरगहनाको बिक्रीमा कमी

October 23, 2015२४० पटक

काठमाडौं, कात्तिक ५- नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो ।

महासंघका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक दैनिक १० किलोको समेत कारोवार हुन सकेको छैन । महासंघका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको अहिले किनबेचको राम्रो समय भए पनि नाकाबन्दीका कारण सर्वसाधारणको प्राथमिकतामा परिवर्तन भई विक्रीमा कमी आएको स्वीकार्नुभयो ।

भूकम्पका कारण सुन तथा गरगहनाको कारोवार ह्वात्तै घटेको भए पनि विस्तारै विवाह, ब्रतबन्ध तथा तिज लगायतका पर्वले कारोवारमा क्रमिक सुधार आउन थालेको थियो । तर विभिन्न वाणिज्य बैंक मार्फत आउने दैनिक १५ किलो सुनसमेत उठ्न सकेको छैन ।

नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनका अनुसार अहिले विशेषगरी नयाँ सुन किन्ने तथा गहना प्रयोग गर्ने भन्दा पनि पुराना गरगहनालाई मर्मत गरी लगाउने प्रचलन बढेको छ । महर्जनले सुनले नगदकारुपमा मान्यता पाउने हुँदा सर्वसाधारण मानिसले समेत दसैँमा धेरै थोरै गरगहना जोहो गर्ने परम्परा रहेको बताउँदै सुनको मूल्य उच्च हुनु, पैसाको क्रय शक्ति घट्नु, सुन लगाउँदा असुरक्षा हुने जस्ता कारणले मानिसको यसप्रति आकर्षण घट्दै जान थालेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय मुद्रा तथा डलरमा सुनको कारोवार र खरिद बिक्री हुने गर्दछ । आवश्यक पर्दा सञ्चय गरेको सुन तथा गहना विक्री गरी विभिन्न काम चलाउनेसमेत गरिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण