गृहपृष्ठ » बिचार/ब्लग, समाचारहरुबलि प्रथाः मानवीय सभ्यताको कलंक

बलि प्रथाः मानवीय सभ्यताको कलंक

October 23, 2015५०३ पटक

सञ्जय खड्का/लोग्शरी कुँवर

नेपालीहरूकोे महान चाड नजिकिँदै गर्दा पशुबलि विरुद्धको आवाज उठ्ने गरेको पाइन्छ । तर पशुबलि विरुद्धको आवाज यदाकदा मौसमी रूपमा मात्र उठ्ने गरेको पाइन्छ । गत वर्षको गढीमाई मेलामा हुने बलिप्रथाविरुद्ध कडा रूपमा आवाज उठेको थियो । देश भित्र र देश बाहिर (भारत)बाट पनि अहिंसा प्रमीहरूले बलि प्रथा रोक्न आवाज उठाए पनि सरोकारवाला पक्षले आवाजलाई नजरअन्दाज गर्दै अबोध पशुपंक्षीहरूको रगतरूपी होली प्रथालाई निरन्तरता दियो । नेपाली समाजमा बलि प्रथा सनातन कालदेखि चल्दै आएको विश्वास गरिन्छ ।

लोग्शरी कुँवर

ऐतिहासिक कालखण्डको पाना पल्टाउँदा मानव स्वार्थका लागि मानव बलि पनि चढाएको पाइन्छ । जसको अवशेष अहिले पनि यदाकदा बालबालिकाको बलि दिइएको बर्बरतापूर्ण घटनाले पनि देखाउँछ । नेपाली समाजमा व्यक्तिगत स्वार्थ (भाकल)देखि लिएर कुल, परिवार र समाजको हित हुने नाममा देवदेवीको मन्दिरमा बलि दिने कार्य चल्दैै आएको छ । देवदवीको नाममा दिनहुँजसो हजारौंको संख्यामा पशुपंक्षीको बलि दिइन्छ । पशुको महामेला भनेर चिनिने गढीमाई मेलामा मुसादेखि लिएर भैंसी, सुँगुर, बोका, कुखुरा र परेवाको बलि दिइन्छ । प्रत्येक पाँच पाँच वर्षमा आयोजना गरिने सो मेलामा लाखौंको बलि दिइन्छ । दशैंमा देवीको मन्दिरमा मात्र नभई घर घरमा पशु बलि दिने गरिन्छ ।

किन दिन्छन् बलि ?

देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । पशुबलि दिए देवदेवीको आर्शीवाद मार्फत पुत्र प्राप्त हुने जनविश्वासले पनि पशुबलि प्रथा समाजमा विद्यमान रहेको पाइन्छ । देवाली वा कुल पूजामा पनि पशुबलि अनिवार्य रूपमा लिइन्छ । दसैंमा सबै जसो समुदायमा पशुबलि दिनु पराम्परागत अनिवार्यता जस्तो देखिन्छ । हिन्दु सँस्कारमा कुभिण्डो, घिरौला, खिरको लड्डु आदि अर्पण गर्नुलाई पनि बलिको रूपमा स्वीकार गरेको पाइन्छ । अतः अहिंसावादीहरूले शक्तिरूपी देवी दुर्गाको उपासना गर्दा फलफूल चढाएको पाइन्छ । तर बलि प्रथावादीहरू भने परम्पराको नाममा निर्दोष पशुको घाँटी रेटेर रगत चढाउने बर्बर कार्य गर्दै आएका छन् ।

पशुबलि चढाउने कुरीति तथा कुप्रथाले हाम्रो संस्कृतिमाथि नै प्रश्न उठ्ने गरको छ । एकातिर हामी सबै प्राणी भगवानको सन्तति हौँ पनि भन्ने अनि अर्कातिर अबोध र निर्दोष प्राणीको हत्या गरि भगवानलाई खुशी पार्ने  नाममा अबोध पशुको बलि चढाउने । के देवीदेवताहरू रगतका प्यासी छन् ? के उनीहरू बलि चाहन्छन् ? रगत माग्छन् ? त्यो पनि आफुले सृजना गरेको सन्तानको घाँटी रेटेर चढाएको रगत ?

आफ्नै सन्तानको बध गरी रगत चढाउँदा भगवान कसरी खुशी हुन सक्छन् ? आफ्ना छोराछोरीको बलि चढाउँदा कुन चाँहि आमा खुशी हुनसक्छिन् र ? अतः निर्दोष पशुपंक्षीकोे बलि चढाउनु देवीदेवातालाई खुशी होइन दुखी बनाउनु हो ! उनीहरूको मुहारमा हर्ष होइन आँसुको वर्षा गराउनु हो, चित्त दुखाउनु हो ।

बलिप्रथा विद्यमान रहनुको कारण

अहिलेको एक्साइसऔं शताब्दीमा पनि बलि प्रथा जस्तो बर्बर र अमानवीय कुसंस्कृति हाम्रो समाजमा विद्यमान रहनुका मुख्यतः तीन कारण रहेको देखिन्छ । पहिलो कारण अन्धविश्वास नै हो । अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्, आफूले इच्छाएको पूरा हुन्छ भन्ने भ्रम जुन जनमानसले आफ्नो मन मस्तिष्कमा पालेका छन्, त्यही नै बलि प्रथा जस्ता कुप्रथाको मूल जड हो ।

अन्धविश्वासको कालो बादल हाम्रो समाजमा यसरी मडारिएको छ कि हामी स्वतन्त्र भएर सोच्न पनि सक्दैनौं । जस कारण हामी गलत र सहि बिचको फरक पनि छुट्टाउन सक्दैनौं र बलि प्रथा, बोक्सी प्रथा, छुवाछूत प्रथा जस्ता अनेकौं कुप्रथा तथा कुसस्ँकृतिलाई अँगालिरहेका छौं ।
दोस्रो कारण, राज्यले अन्धविश्वासलाई प्रश्रय दिनु हो । राज्यको कर्तव्य कुरीति तथा कुप्रथाको अन्त्य गरी सभ्य समाजको सृजना गर्नु हो । तर बिडम्बना भन्नु पर्छ राज्यले आफ्नो कर्तव्य भुलेर कुप्रथाहरूलाई प्रश्रय दिइरहेको छ । राज्यमा अनिष्ठ केहि नहोस, जनकल्याण होस भन्ने नाममा र सोचे जस्तो हुन्छ भन्ने भ्रममा राज्यद्धारा विभिन्न शक्तिपीठहरूमा बलि तथा भेटी चढाउन परम्पराको रूपमा विकसित भएको छ भन्दा अतिश्योक्ति नहोला । परम्पराको नाममा राँगा बलिका लागि सरकारले आर्थिक सहयोग गर्नु जस्ता कार्यले राज्यले चेतन मनद्धारा नै बलि प्रथालाई प्रश्रय दिइरहेको आभास हुन्छ । नेपाल वायुसेवा निगमद्धारा वोयिङ्ग खराबहुँदा पाइलट, एरोनटिकल इन्जिनियर र निगमका उच्च पदाधिकारीद्धारा संयक्त रुपमा बोकाको बलि दिएको सनसनीपूर्ण घटना पनि ताजा नै छ । प्रधानमन्त्री जस्ता राज्यका उच्च पदाधिकारीद्धारा प्रधानमन्त्री निवास प्रवेश गर्नुपूर्व कालो बोको बलि दिनु तथा भैंसी पूजा गर्नु जस्ता लज्जास्प्रद कार्यले नेपाली समाजमा अन्धविश्वासमा आधारित कुरीति तथा कुप्रथाहरूलाई बढावा दिइरहेका छन् । तेस्रो कारण, धार्मिक व्यक्ति तथा संघसंस्थाहरूबिच एकमत नहुनु हो ।

केहि धार्मिक व्यक्ति तथा संस्था बलि प्रथाविरुद्ध उभिएका छन् भने केहि परम्परको जर्गेणा गर्ने नाममा बलि प्रथालाई निरन्तरता दिनु पर्ने पक्षमा उभिएका देखिन्छन् । यसलाई समलोचनात्मक दृष्टिबाट हेर्दा रुढिवादी तथा कर्मकाण्डीय पक्षलाई अँगिकार गर्ने धार्मिक व्यक्ति वा संस्था बलि प्रथाको पक्षमा उभिएका देखिन्छन् भने अर्कातर्फ आध्यात्मिक पक्षलाई अँगिकार गर्ने तथा समयानुकूल सँस्कार/सँस्कृति परिवर्तन वा परिमार्जन हुनुपर्छ भन्ने सोंच राख्ने धार्मिक व्यक्ति वा संस्था चाँहि बलि प्रथाको विरुद्धमा उभिएको देखिन्छ ।

दुई धर्म

धर्मसँग पशुबलि जोड्नु कतिको जायज होला? वास्तवमा धर्मसँग पशुबलि जोड्नुमा न त कुनै तुक छ, न त कुनै तर्क । तर अहिलेको अभ्यस्त परम्परागत प्रवृत्तिलाई नियाल्दा धर्म पनि दुई प्रवृत्तिका देखिन्छन् । एउटा बलि प्रथालाई अनिवार्य रूपमा स्वीकार्ने र अर्को बलि प्रथालाई विशुद्ध रूपमा अस्वीकार गर्ने !  एउटा निर्दोष पशुको घाँटी रेटेर उसकै आमा (देवी)लाई रगत चढाउने र अर्को यस धर्तीमा सबै प्राणीको उत्तिकै अस्तित्व छ भन्ने । एउटा हिंसाको बाटो हिँड्न सिकाएर हिंस्रक बन्न सिकाउने र अर्को अहिंसाको पाठ सिकाउने ?

धर्म भनेको आफूले आफूलाई उजागर गर्ने एउटा बाटो हो । त्यसैले अब हामीले आफूले आफूलाई सोध्ने बेला आएको छ । हामी कुन धर्म वा बाटो रोज्न चाहन्छौं ? के हामी सभ्य समाज निमार्ण गर्ने बाटो अँगाल्ने हो या असभ्य समाज निर्माण गर्ने बाटो अँगाल्ने हो ? अन्धविश्वास मुक्त समाज उन्मुख बाटो अपनाउने हो या अन्धविश्वासलाई प्रश्रय दिने बाटो अपनाउने ? अहिंसाको बाटो हिँड्न सिकाउने बाटो अँगाल्ने या हिंसाको बाटो हिँड्न सिकाई हामीलाई हिंस्रक बनाउने बाटो अपनाउने ? अब हामीले सोच्ने र यात्रारूपी जीवनमा बाटो रोज्ने बेला आएको छ ।

अन्तमा

वास्तवमा हामीले बलि प्रथाको अन्तरनिहित सन्देशमूलक भाव बुझ्न सकेनौं । बलि दिनु भनेको त्याग गर्नु हो र हामी भित्र रहेका काम, त्रोध, लाभ, मोह घृणा जस्ता अमानवीय गुण तथा कुप्रवृत्तिहरू त्याग गर्नु हो ! र यो नै सहि अर्थमा पञ्चबलि दिनु हो । तर बिडम्बना भन्नुपर्छ हाम्रो अबुझता हो या बेबुझता, हामीले आफ्नो कुप्रवृत्तिको बलि दिनु पर्नेमा निर्दोष पशुको बलि दियौं । यस प्रथाले हाम्रो कुप्रवृत्ति बढाउनु बाहेक अरू केहि गरेको छैन । अतः अब हामीले निर्मम पशुबलिलाई रोक्नु पर्छ । मठ मन्दिरलाई बधशाला बन्नुबाट रोक्नुपर्छ । प्रेम र शान्तिको सन्देश बोक्ने धर्मलाई पशुबलिसँग जोड्नु हुँदैन । कुनै पनि धार्मिक मेलालाई पशुबलि महामेला बनाउनु हँदैन, बन्न दिनु हुँदैन ।

पशुबलि अन्त्य गर्नका लागि साँस्कृतिक पुर्नजागरण कार्यक्रमलाई अभियान कै रूपमा लग्नु पर्ने आवश्यकता देखिन्छ । तर पशुबलि प्रथालाई सधैं सधैंका लागि निमिट्यान्न वा उन्मूलन गर्नका लागि हामीले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनसक्नु पर्छ । यसो गर्न सकेमा मात्र शान्तिपूर्ण र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।onlinekhabar.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण