गृहपृष्ठ » मुख्य समाचार, समचारसालकको खपटा र छाला तस्करी

सालकको खपटा र छाला तस्करी

August 7, 2015३५६ पटक

बनेपा, २२ साउन, विश्वमा दुर्लभ मानिएको स्तनधारी जनावर सालकको खपटा र छाला काभ्रेपलाञ्चोकको ग्रामीण भेगबाट तस्करी हुने गरेको छ । दुर्लभ सालकको विषयमा अनुसन्धान गरिरहेकी नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद् काठमाडौँकी अनुसन्धानकर्ता प्रतिभा कसपालले अनुसन्धानका क्रममा ग्रामीण क्षेत्रमा कृषकको घरमा सालकको खपटा र छाला भेटेपछि त्यसको तस्करी हुने गरेको कुरा खुल्न आएको हो । उहाँले जिल्लाको ज्याम्दी गाविसमा सालकको खपटा र छाला भेटिएको जानकारी दिँदै ग्रामीण भेगमा आम्दानी नभएका कृषकलाई ढाल बनाएर तस्करले सालकको खपटा र छालाको तस्करी गरेका छन् भन्नुभयो । भूकम्पका कारण उहाँहरुका सबै परिवारको मृत्यु भयो, त्यसैले मलाई यो कुरा भन्न अप्ठ्यारो छैन, अनुसन्धानकर्ता कसपालले भन्नुभयो । भूकम्पअघि नै यो कुरा किन भन्नुभएन त रु भन्ने राससको जिज्ञासामा उहाँले अनुसन्धानका क्रममा आफू पनि गोप्यता भङ्ग नगर्ने शर्तमा त्यहाँ पुगेको थिए भन्नुभयो । खासगरी चीनबाहेक कम्बोडिया, भियतनाम र कङ्गोमा पनि यसको तस्करी हुने गरेको छ । उहाँले सालकको सुरक्षित वासस्थान काभ्रेपलाञ्चोकका अधिकांश सामुदायिक वनमा भएकाले अन्य गाविसमा पनि त्यस्तो तस्करी हुनसक्ने आशङ्का गर्दै सालक कृषिमा उपयोगिता र जैविक विविधताका दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले यसको संरक्षण आवश्यक छ भन्नुभयो । जिल्ला वन कार्यालय जस्ता निकायको सक्रियतामा सामुदायिक वनबाट हुने सालकको चोरी, सिकारी नियन्त्रणमा सामुदायिक वनका उपभोक्ता नै सक्रिय हुनुपर्नेमा जोड दिँदै कसपालले जिल्लाका केही सामुदायिक वनलाई सामुदायिक सालक संरक्षण केन्द्रको रुपमा घोषणा गरेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सालकको सम्बन्धमा अनुसन्धान गरिरहेकी उहाँले चरिचरन, वन विनास, आगलागी लगायतका कारण काभ्रेपलाञ्चोकको सामुदायिक वनमा पाइने कालो सालक झन्डै १५ वर्षको अवधिमा लोप हुनसक्ने खतरा औँल्याउँदै विभिन्न वन उपभोक्ता समूहलाई संरक्षणका लागि आग्रह गर्नुभयो । अनुसन्धानकर्ता कसपालले सालक संरक्षणपछि सामुदायिक वनको पहिचान बढ्ने, सालकका विषयमा हुने अनुसन्धान अझ बढ्ने र त्यसबाट स्वरोजगारको विकास हुने, वातावरणमैत्री पर्यावरणको विकास हुने जिकिर गर्दै काभ्रेपलाञ्चोकबाहेक सिन्धुली, रामेछाप र दोलखाका वनमा पनि सालकको सुरक्षित वासस्थान भएको बताउनुभयो । शरीरभर जिब्रो हुने सालक लजालु स्वभावको हुने र यसले वर्षमा रु सात करोड कमिला खाने गरेको आँैल्याउँदै उहाँले प्रविधिको अभावमा नेपालमा कति सालक छन् भन्ने तथ्याङ्क लिन नसकेको बताउनुभयो । जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख वन संरक्षण अधिकृत गणेश रायले केही वर्षअघि सालकको खपटासहित दुई जनालाई पक्राउ गरिएको र उनीहरुले स्रोत नखुलाएका कारण थप अनुसन्धानमा कठिनाइ आएको बताउनुभयो । चारवटा सालक मार्दा एक किलोग्राम खपटा निस्कन्छ र यसलाई नेपालमा एक किलोको रु १०० भए पनि अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य लाखौँ रुपैयाँ हुनसक्छ उहाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले सालकको खपटा र मासु बेचबिखनलाई वातावरणीय अपराधको रुपमा लिएको जानकारी दिँदै अरनिको राजमार्ग सिन्धुपाल्चोक हँुदै चीनसँग जोडिएको छ, चीनको नयाँ वर्षमा यसको माग बढी हुने भएकाले त्यतिबेला बढी तस्करी हुनसक्छ भन्नुभयो । उहाँले २०७२ सालमा नै वनबाट आएका दुई वटा सालकको उद्धार गरेर वनमा फर्काइएको जानकारी दिनुभयो । विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातिका सालक एसियामा मात्रै पाइन्छन् । एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक पाइन्छ । नेपालको संरक्षित जनावर भएकाले गैरकानुनी तरिकाले सालकलाई मार्ने, घाइते बनाउने, बेचबिखन गर्ने वा राख्ने, खरिदबिक्री गर्ने व्यक्तिलाई रु ४० हजारदेखि रु ७० हजारसम्म जरिवाना वा पाँच वर्षदेखि १० वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजाय हुने सक्ने कानुनी व्यवस्था छ । रासस

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण