माडीमा हात्ती आतङ्क
स्थानीयवासीले आगोको मुस्लो लिएर थाल ठटाउने, शङ्ख बजाउने गरेर हात्ती धपाउँदै आएका छन्। एक रातको रु दुई हजार भाडा तिर्ने गरी लिइएको ट्र्याक्टरमा फिट गरेको साइरन, ट्र्याक्टरको हर्न र ट्र्याक्टरमाथि बसेर मान्छे कराएपछि हात्ती भाग्ने गरेका छन्। झन्डै १५ दिनदेखि हात्तीले सताएपछि ट्र्याक्टरसहित परिचालन भएको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती उपभोक्ता समिति, बघौडाका अध्यक्ष प्रभु महतोका अनुसार साँझ परेपछि हात्ती बस्ती प्रवेश गर्न सुरु गर्छ भने बिहान उज्यालो हुन लाग्दामात्रै निकुञ्ज पस्ने गरेको छ।
निकुञ्जले मुख्य रुपमा चारवटा हात्तीले बस्तीमा सताउने गरेको जनाए पनि महतोले भने छवटा हात्ती पालैपालो विभिन्न क्षेत्रमा प्रवेश गरी क्षति पुर्याबउने गरेको बताए। मानवीय क्षति रोक्नका लागि विभिन्न विधि अपनाएर रातभर जाग्राम बसी हात्ती खेद्न बाध्य भएको महतोको भनाइ छ।
दुई वर्षअघि माडीमा ध्रुवे नामको जङ्गली हात्तीले छजनाको ज्यान लिएको थियो । पछिल्लो समय धान र गहुँ थन्काउने बेला वर्षमा दुईपटक हात्तीले सताउँदै आएको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले रातको समयमा स्थानीयवासीलाई निकुञ्ज कर्मचारी, सेना, प्रहरीले समेत हात्ती धपाउन सहयोग गर्दै आएको बताए।
चितवन राष्ट्रिय निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्बमा जोडिएको हुँदा कुनै बेला ३०-४० वटा हात्तीको हुलसमेत आउने गरेको निकुञ्जले जनाएको छ। नियमित रुपमा चितवन र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रभित्र ८-१० वटा हात्तीमात्रै रहने गरेको पौडेलले जानकारी दिए।
माडीका चार गाविस मिलाएर हालैमात्र माडी नगरपालिका घोषणा गरिएको छ। जहाँ ३७ हजार ६८३ जनसङ्ख्या रहेको छ । जिल्ला सदरमुकाम भरतपुरबाट ४५ किलोमिटर दूरीमा माडी रहेको छ। जहाँ पुग्न चितवन राष्ट्रिय निकुञ्ज पार गर्नुपर्ने हुन्छ । माडी नगरपालिका चारैतिर जङ्गलले घेरिएको छ भने तीनतिर चितवन राष्ट्रिय निकुञ्ज पर्दछ। रासस