गृहपृष्ठ » मुख्य समाचार, समचार‘फास्ट ट्रयाक रोड’ बन्न सक्छ तातोपानी नाका

‘फास्ट ट्रयाक रोड’ बन्न सक्छ तातोपानी नाका

October 26, 2015१६५ पटक

तातोपानी नाका जाेड्ने बाटाे भूकम्पछि क्षतिग्रस्त छ।

तातोपानी नाका जाेड्ने बाटाे भूकम्पछि क्षतिग्रस्त छ। तस्विर: ध्रुवसिन्धुपाल्चोक— नेपाल–चीन व्यापार विस्तार र दीर्गकालीन सहज आपूर्तिको लागि सडकमार्फत उत्तरको मुख्य तातोपानी नाका जोड्ने अरनिको राजमार्गलाई ‘फास्ट ट्रयाक रोड’ (दुत्ततर मार्ग) को रुपमा विकास गर्न अधिकारीहरुले सुझाएका छन्।

एउटा मात्र मुलुकसँगको व्यापार परनिर्भरता हटाउने विकल्प मात्रै नभएर बिशाल अर्थतन्त्र बोकेको चीनबाट आर्थिक लाभ लिन फास्ट ट्रयाक रोड आवश्यक रहेको औंल्याउँदै उनीहरु तिब्बत–राजधानी काठमाडौं सबैभन्दा छोटो सडक दुरीले जोड्ने अरनिको राजमार्ग पहिलो उपयूक्त विकल्प भएको बताउँछन्।

तातोपानी नाकामा लामो समय बसेर द्धिदेशीय व्यापार मामलामा लामो अनुभव हाँसिल गरेका अधिकारीहरुका अनुसार यो नाकालाई नेपाल–चीन व्यापार ‘ट्रान्जिट’ बनाउन त्यहाँ अत्याधुनिक सुख्खा बन्दरगाह बनिरहेको र नजिकै तिब्बतको सिगात्से सहरसम्म रेलमार्ग आइपुगेकाले १ सय १४ किमी दुरीको तातोपानी–काठमाडौं सडकलाई फास्ट ट्रयाक रोडको रुपमा विकास गर्न सकिने बताउँछन् । ‘अरनिको राजमार्ग थप फराकिलो बनाउन सके मात्रै फास्ट ट्रयाक रोड सम्भव देखिन्छ,’ तातोपानी भन्सारमा साढे २ वर्ष बिताएका पूर्व प्रमुख मिमांश अधिकारीले भने । हाल भन्सार विभागका निर्देशक रहेका उनका अनुसार काठमाडौं–बाह्रविसे ८८ किमी सडक अहिले पनि रामै छ । समस्या बाह्रविसे–तातोपानी २६ किमी दुरीमा मात्र हो ।

बाह्रविसे–तातोपानी खण्ड मर्मत तथा सुधार गरे मात्रै आयात÷निर्यात निकै सहज हुने उनको अनुभव छ । ‘पूरै राजमार्गलाई चार लेनमा विस्तार गर्न सके सुनमा सुगन्ध थपिन्छ,’ उनी भन्छन् । भक्तपुरसम्मको सडम आठ लेनमा विस्तार भइसकेको छ भने त्यहाँबाट धुलिखेलसम्मको सडकलाई तत्काल चार लेनमा विस्तार गर्न चीनले नै चासो दिएको छ । त्यतिमात्र होइन तातोपानीसम्मकै सडक सुधार र फराकिलो बनाउन उसैले प्रारम्भिक सर्वे गरिरहेको छ । राजमार्ग दायाँ÷वायाँ २५–२५ मिटर क्षेत्राधिकार कायम गरी तातोपानी–काठमाडौं सडक फराकिलो बनाउने सरकारकै पूरानो योजना हो ।

आधुनिक शैलीमा विकास भइरहेको सिगात्से तिब्बतको क्षेत्रीय कार्यालय रहेको सहर हो । तातोपानी नाकाबाट सबैभन्दा नजिकको सिगात्से खासाबाट ४ सय ९१ किमी दुरीमा पर्छ । दुरी लामो रहेपनि फराकिलो र राम्रो सडक रहेकाले खासाबाट सवारी साधनमा ६–७ घण्टामै पुग्न सकिन्छ । त्यहाँबाट करिव ३ सय किमी दुरीमा तिब्बतको राजधानी ल्हासा पर्छ । केही वर्षअघि रेलमार्गले आइपुगेकाले सबैखाले आपूर्ति सम्भव छ । पेट्रोलियम पदार्थ र चामलबाहेक दक्षिणी नाकाबाट आपूर्ति हुने सबैखाले सामग्री चीनबाट आपूर्ति हुने सरकारी तथ्यांकले देखाउँछ । अधिकारीको अनुभवमा चीनले ठूलो परिमाणमा चामल र पेट्रोलियम पदार्थ तेस्रो मुलुक निर्यात गर्छ ।

खासा–काठमाडौं १ सय २६ किमी दुरी ४–५ घण्टा सवारी बाटो हो । ‘सिगात्सेबाट एकै दिन काठमाठौं आपूर्ति सम्भव देखिन्छ,’ अधिकारी बताउँछन् । सिगात्से–काठमाडौं दुरी ६ सय १७ किमी हुन आउँछ । यो दुरी काठमाडौं–मेची नाका भन्दा कम हो । काठमाडौं–मेची नाका दुरी ६ सय ७१ छ । ६७ प्रतिशत व्यापार हिस्सा बोकेको भारतबाट सबैभन्दा धेरै आपूर्ति हुने नाका बिराटनगर, बीरगञ्ज र मेची नै हुन् । सिगात्से–काठमाडौं दुरी बिराटनगर र मेची नाका भन्दा धेरै छैन ।

तातोपानी भन्सार, अर्थ मन्त्रालय र मातहत निकायमा लामो समय बिताएका पूर्वअधिकारी चुडामणि देवकोटा चीन–राजधानी काठमाडौं जोड्ने तातोपानीको बिकल्प नरहेको बताउँछन् । ‘सडक लगायत पूर्वाधार विकास गरेर फास्ट ट्रयाक रोड सञ्चालनमा ल्याउन सके यो नाका नेपाल–चीन व्यापार ट्रान्जिट बन्नेमा द्धिविधा छैन,’ उनले भने ।

तातोपानी नाकाबाट हाल वार्षिक २० अर्वको आयात र साढे २ अर्वको निर्यात हुँदै आएको छ । यस बापत राज्यले वाषर््िाक ५ अर्व राज्य पाउँछ । पूर्वाधार अभावकै बीच हरेक चार–पाँच वर्षमा आयात, निर्यात र राजस्व असुली दोब्बर भएको भन्सार तथ्यांक छ । परम्परागत तातोपानी नाका हुँदै कृषि उपज र नुन सटहीबाट सुरु चीन–नेपाल व्यापारले छोटो ठूलो फड्को मारेको छ । नेपालले बिगतमा निर्यात गर्ने कृषि उपज अहिले चीनबाटै आयात हुन्छ । स्याउ, लसुन, प्याज, तयारी पोशाक, कपडा, इलेक्ट्रोनिक्स समान, गाडी, तिनका पार्टपूर्जा चीनबाट आयात हुने सरकारी तथ्यांक छ । पछिल्लो सयम चिनियाँ कम्पनीद्धारा नेपालमा निर्माण भइरहेका पूर्वाधारमा छड लगायत फलाम उतैबाट आयात हुन थालेका छन् ।

चिनियाँ सरकारकै सहयोगमा तातोपानीबाट चार किमी तल लार्चामा निर्माणाधीन अत्याधुनिक बन्दरगाह अन्तिम चरणमा छ । गत वर्ष नै निर्माण सकिनु पर्नेमा भोटेकोसी बाढी, जुरे पहिरो र भूकम्पले पछि धकेलिदियो । बन्दरगाहबाट फाइदा लिन पनि नाका जोड्ने राजमार्गलाई दु्रत्ततर मार्ग बनाउनु पर्नेमा अधिकारीहरु जोड दिन्छन् । ‘समयमै फास्ट ट्रयाक रोड बनाउन ध्यान दिएको भए अहिले दक्षिणी नाकामा लगाइएको अघोषित नाकाबन्दीले यति धेरै ब्याकुल बनाउने थिएन,’ उनीहरु बताउँछन् । एउटा छिमेकीले अफ्ठेरो पार्दा पैँचो तिर्ने हिसावले भन्दा पनि द्धिदेशीय व्यापार अभृवृद्धि गर्न उत्तरी नाकाको विकास र विस्तारमा ध्यान दिन उनीहरु सुझाउँछन् ।

विभागका निर्देशक अधिकारी सिगात्सेबाट सिधै पेट्रोलिम पदार्थ आपूर्ति गर्न सक्ने सम्भावना देख्छन् । ‘विद्यमान कानुनी अड्चन फकाउनु र व्यापारिक सम्झौता भने गर्नु पर्छ,’ उनले भने । उनको बिचारमा सरकारले नै पेट्रोलिम आपूर्ति गर्नु पर्छ भन्ने छैन । निजी क्षेत्रलाई दिने हो भने सुलभ र सहज प्रक्रियाद्धारा पेट्रोलिम आपूर्ति हुन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण